आयोजकलाई झनै अप्ठ्यारो

Read Time = 5 mins

दोहा । उद्घाटन खेलमा पराजित हुने आयोजकको कीर्तिमान बनाएपछि कतारलाई आफ्नो समूहका बाँकी खेलमा झनै अप्ठ्यारो पर्ने देखिएको छ । सन् २०१९ को एसियन च्याम्पियन कतारले फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा आइतबार राती इक्वेडरलाई दुई-शून्यले नतिजा सुम्पिएको थियो ।

जसले उसलाई विश्वकपको उद्घाटन खेलमा हार बेहोर्ने पहिलो आयोजक राष्ट्रमात्रै बनाएन, सन् १९७० मा मेक्सिकोपछि उद्घाटन खेलमा गोल गर्न नसक्ने टोली पनि बनायो । समूह ‘ए’मा कतारले अब अफ्रिका कप अफ नेसन्सको विजेता सेनेगल र तीनपटकको विश्वकप फाइनलमा पुगेको टोली नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ । तुलनात्मकरूपमा दुवै टोली कतारभन्दा निकै माथिल्लास्तरका हुन् । त्यसैले बाँकी खेलमा आयोजकलाई झनै अप्ठ्यारो पर्ने निश्चित छ ।

कतारविरुद्ध इक्वेडरले उद्घाटन खेलको तेस्रो मिनेटमा अग्रता लिएको थियो । एनर भ्यालेन्सियाले क्लोज रेन्जबाट हेडरमार्फत् गोल गर्नुभएको थियो । तर, भिडियो एसिसेन्ट रेफ्री (भार)ले अफसाइड भन्दै उक्त गोललाई मान्यता दिएन ।

कतारविरुद्ध दबाब जारी राखेको इक्वेडरलाई भ्यालेन्सियाले अग्रता दिलाउनुभयो । उहाँले १७औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो । कतारका गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि पाएको पेनाल्टीमा उहाँले गोल गर्नुभएको थियो ।

खेलको ३१औँ मिनेटमा भ्यालेन्सियाले अग्रता दोब्बर पार्नुभयो । एन्जेलो प्रेसियाडोको क्रसमा उहाँले गर्नुभएको प्रहारमा गोलरक्षक अलसिबको केही चलेन । इन्जुरी समयमा कतारले पाएको मौका खेर फाल्यो । कप्तान अल हेडोसको क्रसमा अल्मोएज अलीले फ्रि हेडरबाट गोल गर्नुभएको थियो ।

इक्वेडरले भने जितसँगै अन्तिम १६ को सम्भावनालाई बलियो बनाएको छ । पछिल्ला १६ खेलहरूमा इक्वेडरको लय पनि गज्जब छ । १६ मध्ये जम्मा उसले एक खेलमा मात्रै हार बेहोरेको छ । अझै पछिल्ला सात खेलमा इक्वेडरले एउटा पनि गोल खाएको छैन ।
सन् २०१० मा दक्षिण अफ्रिका आयोजकका रूपमा समूह चरणबाट बाहिरिने पहिलो देश बनेको थियो । बाँकी खेलहरूको नतिजा आफ्नो पक्षमा नपार्ने हो भने कतार आयोजकका रूपमा समूह चरणबाटै बाहिरिने दोस्रो देश बन्नेछ ।

खेलपछि कतारका प्रशिक्षक फेलिक्स सान्चेजले आफूहरूले राम्रो खेल्न नसकेको बताउनुभयो । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सान्चेजले इक्वेडर जितको हकदार रहेको उहाँले बताउनुभयो ।

‘म इक्वेडरलाई बधाई दिन चाहन्छु, उनीहरू जितको हकदार थिए । हामीले अझै सुधार गर्नुपर्नेछ । हामीले राम्रो फुटबल खेल्न सकेनौँ । जिम्मेवारीका कारण हो वा यो अवसरमा खेल्दा, सुरुवात नै राम्रो हुन सकेन,’ उहाँले भन्नुभयो, ‘यो नतिजासँगै अब अघि बढ्न हामीले यो नतिजा बिर्सनुपर्छ । अब हामीले आफैंलाई अझ प्रतिस्पर्धात्मक बनाउनुपर्छ । हामीसँग त्यो क्षमता पनि छ ।’

यता, इक्वेडरका प्रशिक्षक गुस्ताभो अल्फारोले उद्घाटन खेलमा जित हात पारेसँगै आत्मविश्वास बढेको र महत्वपूर्ण जित भएको बताउनुभयो । ‘विश्वकपको उद्घाटन खेलमा सबैको नजर हुन्छ । हामीले अन्तर्राष्ट्रिय ब्रेकपछि कतारका लागि तयारी गर्न पर्याप्त समय पनि पाएका थिएनौँ । अझ कतारबाट के अपेक्षा गर्ने पनि थाहा थिएन । आजको नतिजाले हामी निकै राम्रो अवस्थामा छौँ,’ उहाँले भन्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?