तेस्रोपल्ट सर्‍यो नवौँ खेलकुद

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नवौँ संस्करणको खेलकुद तेस्रोपल्ट सरेर असोज अन्तिमदेखि पोखरामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभयो ।

मन्त्रालले मंगलबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त नयाँ मितिबारे जानकारी दिएको हो । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले जेठ २२ देखि २८ गतेसम्म नवौँ खेलकुद आयोजना गर्ने मिति तय गरेको थियो । तर, आवश्यक पूर्वतयारी नभएको भन्दै नवौँ खेलकुद सारिएको हो ।

‘कतिपय भौतिक पूर्वाधार निर्माणका काम बाँकी छन् । बजेट कार्यान्वयनका लागि पनि समय पुगेको छैन,’ गहतराजले भन्नुभयो, ‘प्रदेश खेलकुद परिषद्ले खेलाडी छनोटका लागि थप समय माग गरेको र माध्यमिक शिक्षाअन्तर्गत कक्षा ११ र १२ को परीक्षा समय परेका कारण खेलकुद सार्नुपरेको हो ।’

प्रतियोगिता आउन दुई साताभन्दा कम समय बाँकी रहँदा कार्यविधि नआउनु र फास्ट ट्र्याकमा बजेट कार्यान्वयन गर्न सरकारबाट स्वीकृति नपाएपछि प्रतियोगिता सारिएको मन्त्री गहतराजले जानकारी दिनुभयो ।

यो प्रतियोगिता सारिएको तेस्रोपटक हो । सुरुमा गण्डकी प्रदेशमा २०७७ फागुन २१ देखि २७ गतेसम्म प्रतियोगिताको मिति तय गरिएको थियो । त्यसपछि जेठमा मिति निर्धारण गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा वैशाखमा नै सार्वजनिक गरिसकेको छ ।
राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित पाँचसदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो ।

छनोट भएको लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पार्नुभएको हो । समितिका सदस्यमा प्राज्ञिक कलाकार रमेशनाथ खनाल, नोबेल एकेडेमी कला विभागका प्रमुख विपिनराज श्रेष्ठ र सिर्जना कलेज अफ फाइन आर्ट्सका प्रमुख प्रा. राधेश्याम मुल्मी तथा सदस्य-सचिवमा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा हुनुहुन्थ्यो ।

लोगोमा माछापुच्छ्रे हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिबिम्बित गरेको छ भने रातो रंगको चार धर्साले परेवाको पखेटा र ट्र्याकलाई दर्शाएको छ । चार धर्साले साबिकको प्रदेश ४ लाई पनि दर्शाएको पौड्यालले जानकारी गराउनुभयो । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।

मस्कटका रूपमा गण्डकी प्रदेशमा मात्र पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ । सुयोग्यराज काफ्लेले तयार पारेको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको थियो ।

नवौँ खेलकुदमा विभिन्न ३६ खेलका ११ टिम सहभागी हुनेछन् । नवौँ खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको टोलीले भाग लिनेछन् । नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ ।

नवौँ राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो । यसमा केही बजेट गण्डकी प्रदेशले पनि थप्नेछ । अपुग रकमका लागि सरकारसँग माग गरिने सदस्य-सचिव टंकलाल घिसिङले बताउनुभयो ।

नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, हृयान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?