टाइगर कपमा आर्मीको पहिलो जित

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । तेस्रो टाइगर कप भलिबलको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । साबिक विजेतासमेत रहेको आर्मीले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लबलाई सोमबार तीन-शून्यले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । पोखरा रंगशालाको हाताभित्र रहेको भलिबल कोर्टमा आर्मीले सेन्ट जोसेफलाई २५-२०, २५-१७, २५-१० को सोझो सेटमा हराएको हो ।

महिलातर्फ सोमबार भएको खेलमा घरेलु टोली गण्डकी प्रदेशमाथि तीन-शून्यको सोझो सेटमा जित निकाल्दै एपिएफले उपाधि रक्षाको यात्रा सुरु गरेको थियो । एकपक्षीय खेलमा एपिएफले गण्डकीमाथि २५-११, २५-१९ र २५-१६ को जित हासिल गरेको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता छ ।

प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरीको एपिएफ क्लब र होंगवान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र आयोजक गण्डकी प्रदेशको टिमको सहभागिता रहनेछ ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएकोे छ । महिला-पुरुष दुवैतर्फ च्याम्पियन टोलीलाई पाँच-पाँच लाख र उपविजेता टिमले समान नगद दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

तृतीय हुने टोलीलाई एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक देवेन्द्र केसीले जानकारी दिनुभयो । महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद २५-२५ हजार प्राप्त गर्नेछन् । हरेक विधाका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई दश-दश हजार रुपैयाँ र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली बनेको हो । आइतबार पुरुषतर्फ आर्मी र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?