कलंकी-महाराजगञ्ज सडकको काम सुरु हुने

फाईल तस्बिर

Read Time = 2 mins

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गर्दै छिट्टै काम सुरु हुने बताउनुभएको छ । बिहीबार मन्त्री श्रेष्ठसहित नेपालस्थित चिनियाँ राजदूत छङ सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले उक्त सडकखण्डको निरीक्षण गरेको हो । सोहीक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार चाँडै सुरु हुने सहमति भएको बताउनुभयो ।

कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडक पनि अब चाँडै काम सुरु गर्ने सहमति चीन सरकारसँग भएको उहाँको भनाइ थियो । उक्त सडकखण्डमा भएका समस्या समाधान भइसकेकाले अब निर्वाधरूपमा काम सुरु हुने मन्त्री श्रेष्ठले बताउनुभयो ।

विद्युत् पोल र सडकछेउका मन्दिर अन्यत्र सार्ने काम सुरु भएको तर स्वयम्भूनाथका संरचना भने नभत्काई सो क्षेत्रको सडक डिजाइन परिवर्तन गर्ने सहमति भएको उहाँले जानकारी गराउनुभयो । महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक विस्तारमा पनि सहयोग गर्न मन्त्री श्रेष्ठले चीन सरकारलाई आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?