हिमसन्तानहरूको दुःखको गाथा सल्लीपिर उपन्यास-२

डा. नारायण चालिसे
Read Time = 13 mins

कुरा ज्यादै ठुलो केही पनि होइन । काम गरेर पेटभरि खान, चिसो तातोबाट सुरक्षा लिन लाउन र बस्नको निम्तिमात्र आवश्यक वातावरण निर्माण भएहुन्थ्यो । शिक्षा र ज्ञान लिनु भनेको अँध्यारो जगत्बाट उज्यालोतिर प्रस्थान गर्ने बाटोमात्र हो । रोगव्याधिलागे उचित उपचार पाउनु नागरिकको अधिकार हो । हामीले चाहेको हिँड्ने अनुमति मात्र हो । यति कुराहरू त यसै पनि पाउनुपर्नेमा जीवन नै यसैको निम्ति लगाउँदा पनि त्यही कुरा त्यो पनि नपाएरै मर्न पर्नु भनेको ज्यादै नै लज्जाजनक कुरा हो तर हाम्रो देशमा त्यही भएको छ । र, यो उपन्यासले एउटा खास जातिको अवस्थालाई दृष्टान्त दिएर त्यही कुरा भन्न चाहेको छ ।

अनौठो त के कुरामा भएको छ भने यो उपन्यासले छनोट गरेका पात्र, परिवेश र घटनाहरू यति धेरै पुराना छन् जहाँ आजको समयको हावाको स्पर्शसम्म पनि ती जाति र व्यक्तिहरूमा भएको छैन । यस्तो डरलाग्दो परिस्थिति अहिले पनि देशका विभिन्न ठाउँमा विद्यमान छ । र, त्यतातर्फ कुनै पनि आधिकारिक निकायको ध्यानपुग्न सकेको छैन वा ध्यान पुगेर पनि त्यसलाई कुनै महत्वको कुरा हो भन्ने नै ठानिएको छैन । उपन्यासमा दैनिक जीवन बिताउने सन्दर्भमा कसैले कसैलाई अन्याय गरेको, दुःख दिएको वा त्यस्तो प्रकारको कुनै अनर्थ गरेको छैन । अर्थात् कोही खास व्यक्ति, सम्प्रदाय, समाज वा त्यस्तो देखालो गरी कुनै शत्रु वा समस्याको कारण देखापरेको छ ।

केही नयाँ घटनाहरू जस्तै माओवादी समस्याले सुरक्षामा पारेको असर र निर्दोषलाई पनि अनावश्यक झमेला व्यहोर्नु परेको जस्ता केही पछिल्लो समयमा कारण बनेको बाहेक उपन्यासको प्रारम्भदेखि अन्त्यसम्मका घटनामा बाहिरी शत्रु छैनन् । जे जति छ आफ्नो गरिबी, अशिक्षा र पछौटेपनमा आफू र आफ्नो समाजमा शदियौंदेखि धार्मिक विश्वाससँग जरा गाडेर बसेको केही अन्धविश्वास र आफ्नै अपूर्णता नै कारण भएको देखिएको छ । त्यो समाजले पढ्नुपर्छ भन्ने कुरालाई घोर अनर्थ ठानेको र पढेकै कारण अनिष्ट भएको छ भन्नेसम्मको भ्रान्तिलाई पालनपोषण गरेको पाइनु र वर्षाैंसम्म पनि पढ्ने पढाउने चेतनाले ठाउँ नपाउनु यो उपन्यासको ज्यादै मार्मिक पक्ष हो ।

चेतनाको ढोका बन्द भएपछि सबैतिरका सम्भावनाका ढोका बन्द हुन्छन् भन्ने नबुझ्नु र त्यतातर्फ कसैको पनि चासो नपुग्नु खुम्बु क्षेत्रको यो उपन्यासले समेटेको कथाको मूल समस्या हो । गरिबी छ, पछौटेपन छ, विकासका पूर्वाधार छैनन्, जातिगत उत्थानको कुनै योजना छैन । खुम्बु क्षेत्र संसारको दृष्टि परेको क्षेत्र पनि हो । संसारमा हामी नेपालीलाई चिनाउने हाम्रो शिर सगरमाथा त्यहीँ छ । सयौं आरोहीहरू, हजारौं अन्यपर्यटकहरूले दिनहुँ यात्रा गर्ने यो ठाउँको काखैमा बसेको सेछिन गाउँसम्म चेतनाको सानोतिनो झिल्को पनि पुग्न नसकेको तितो यथार्थले यो उपन्यासमा यति मौलिक किसिमले दुःखको कथा भन्न मद्दत गरेको छ ।

बत्तीको तल अँध्यारो छ, बत्तीलाई आपूmमुनि अँध्यारै छ भन्नेसम्मको हेक्का नहुनाले बत्तीको प्रकाशलाई पनि अँध्यारोले व्यङ्ग्य गरिरहेको छ । त्यति अबोध र त्यति निर्दोष किसिमले मानवजीवनमा व्यथाले राज्य गरेको छ । उनीहरूलाई लाग्छ हामीमै कहीँकतै खोट छ । हाम्रै विश्वास अपुरो छ, हाम्रै आस्था पर्याप्त हुन सकिरहेको छैन । हामी बुद्धमार्गीहरूमा अझै बढी त्यागको खाँचो छ, अभैm समर्पणको खाँचो छ भन्ने शेर्पाहरूको धार्मिक आस्था साँच्ची नै अनुकरणीय छ । तर, अनौठो के छ भने सबै अशिक्षित भइकन पनि बुद्धमार्गका कठिनतम साधनाका सूत्रका विषयमा, मन्त्रका विषयमा र परम्पराका विषयमा यी शेर्पाहरू ज्यादै नै जानकार छन् ।

पढाइ, लेखाइ वा ज्ञानको अभावमा पनि बुद्ध धर्मको आस्था र विश्वासका प्रक्रियामा यिनीहरू सचेत देखिएका छन् । समस्या सनातन छन् । समस्याको बयान गर्ने कला अनितत्कालिक समस्याले पारेको असर नै त लेखकले आफ्नो कृतिहरूमा लेख्ने गर्दछन् । मूलतः यस उपन्यासमा छिरिङ, उसकी छोरी पेमा, उसको लोग्ने दावा अनि छोरो फुर्वालाई मुख्य पात्र बनाएर समस्याको उद्घाटन गरिएको छ । यी प्रतिनिधि पात्रहरूले खुम्बु र त्यस वरपर बसोबास गर्ने अत्यधिक शेर्पाहरूको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको पनि प्रतिनिधित्व गरेका छन् ।

बाल्यकालमै बाबु र आमाको सम्बन्ध राम्रो नभएपछि एक्लो बन्न पुगेकी पेमालाई मावलीका हजुरबाबु र आमाले बिहे गर्ने उमेरसम्म पालेका छन् । पेमाको बाबु छिरिङ पुस्तक पढ्ने काम गथ्र्यो त्यसैले त्यहाँका अन्य शेर्पाहरूभन्दा भिन्न सोच्थ्यो र भिन्न व्यवहार गथ्र्यो । उसको त्यो भिन्न व्यवहार गाउँलेहरू र विशेषतः उसकी स्वास्नी ग्याल्बोलाई हो न हो किताबहरूको अध्ययनले उसको मस्तिष्क बिग्रिएर मति बिग्रिएर पागल जस्तो भएको हो भन्ने लाग्दथ्यो । त्यसै कारण एक दिन लोग्नेलाई निको पार्ने उद्देश्यले ग्याल्बोले छिरिङ सुतेको बेलामा उसले पढ्ने सबै एघार सय थान किताब जलाइदिई ।

त्यस दिन निकै दुःखी भएको छिरिङले सदाको निम्ति ग्याल्बो र पेमालाई छोडेर घरबाट हिँड्यो र त्यसपछि कहिल्यै घर फर्केन । छिरिङको अनुपस्थितिमा ग्याल्बो पनि विदेशी नागरिक पिटरसँग अमेरिका हिँडी । मावली हजुरबाबु र आमाले उमेर पुगेपछि नातिनी पेमालाई सेछिन गाउँको दावालाई बिहे गरेर दिए । दावासँग विकट गाउँ सेछिनमा पुगेर पेमा र दावाले प्रेमपूर्वक सुख दुःखमा दिन बिताए । चौरी पाल्ने मुख्य पेशाले उनीहरूलाई घर खर्च चलाउन धौ धौ भयो । उनीहरूको छोरो फुर्वा पनि ठूलो हुँदै थियो । घरखर्च र अन्य आयस्रोत जुटाउने प्रयत्न गर्दा गर्दै दावा हिमाली भरिया बन्नपुग्यो ।

सगरमाथा चढ्ने पर्यटकहरूको भरिया बनेर एकपटक सगरमाथा चढिसकेको दावा दोस्रो पटक हिमपहिरोमा पुरिएर मर्‍यो । त्यसपछि पेमा र फुर्वा अनाथ भए, निकै दुःखी भए । लोग्नेको मृत्युले विहृवल बनेकी पेमाले छोरो फुर्वामा पढ्ने लेख्ने प्रतिभाको सम्भावना देखेर उसलाई पढाउने र ठूलो लामा गुरु बनाउने सपना देखी । लोग्नेको मृत्युको क्षतिपूर्ति राहतको पैसा लिएर छोरालाई धेरै किताब किनेर लगिदिने र छोरालाई धेरै पढाउने सपना बोकेर पेमा काठमाडौं आई । अनेक हन्डर व्यहोरेर बल्लबल्ल क्षतिपूर्ति रकम लिई छोरो फुर्वाको निम्ति बोराभरि किताब किनेर घर फर्किने बेलामा बाटामा माओवादीको सुरक्षा नियन्त्रणमा परेर घाइते भई ।

सेनाको निगरानीमा छ महिनासम्म बेहोस भएकी पेमाको उपचार भयो । उपचारपछि सेनाको छानबिनले ऊ निर्दोष भएको ठहर भएर छ महिनापछि निको भएर आफूले किनेका किताबहरू चौंरीमा बोकाएर घर फर्किने बेला बाटो बिराएर सगरमाथा क्षेत्रको हिउँ मैदानमा परी सदाको निम्ति बिदा भई । उता आमालाई पर्खेर बसेको फुर्वा आमाको आगमन नभएपछि पढेर लामा गुरु/रिङ्पोछे बन्ने धोका हुँदाहुँदै पनि परिस्थितिअनुकूल नभएपछि उही बाबु बाजेले अँगाल्दै आएको शेर्पा भरिया बन्ने बाटोमा लाग्यो । यस प्रकार एउटा क्रान्तिको सस्यानो प्रयत्न त भयो तर त्यो पूरा हुन नसकी बीचैमा समाप्त भयो । शेर्पाको नियतिको कथा पहिला जस्तै निरन्तर रहृयो । यही विशादपूर्ण अवस्थामा उपन्यासको कथावस्तु समाप्त भएको छ ।

प्रायः कथाहरू यसरी नै विशादपूर्ण भएर टुङ्गिन्छन् तर कथा र घटनाले भने कहिल्यै छोड्दैनन् । मन बिथोलिरहन्छन् । यो कथा पनि त्यस्तै मनमा विशाद जन्माउने कारण बनेर बसेको छ । मुख्य कुरा यस उपन्यासमा एकातिर शेर्पाहरूको संस्कृति र परम्परालाई ज्यादै मसिनो किसिमले अध्ययन गरेर त्यसको स्वाभाविक प्रयोग गरिएको छ जुन अत्यन्त सशक्त रहेको छ । साथै उपन्यासमा शेर्पा भाषाका खास पारिभाषिक शब्दहरू जसले उनीहरूको रहनसहन, चालचलन, भेषभूषा, धर्म, संस्कृति, संस्कार र सभ्यतालाई बुझाउने गरेका छन् तिनको प्रयोग अत्यन्त स्वाभाविक किसिमले गरिएको छ ।

अनि बुद्ध धर्मका विभिन्न चरण र अवस्थालाई संकेत गर्ने प्रक्रियाहरूका बारेमा र बुद्ध धर्मको मार्गको अभियन्ताहरूको अवस्था, आचरण र मर्यादालाई ज्यादै मिहिन किसिमले आस्थापूर्वक व्यक्त गरिएको छ । साथ साथै सर्वसाधारणसम्ममा बुद्ध धर्मले पारेको गहिरो प्रभावका विषयमा र धर्मको आस्थासँग जोडिएर आउने अन्धविश्वास र सोहीअनुसारको परम्परालाई पनि शेर्पाहरूको संस्कृतिसँग जोडेर कलात्मक किसिमले कटाक्ष गर्ने काम पनि उपन्यासमा भएको छ । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?