‘गरिखाने अभियान’ पाँच प्रदेशका नीति कार्यक्रममा

Read Time = 5 mins

काठमाडौं । उद्यमशील सोचलाई सीप, प्रविधि, पुँजी र बजारसँग सम्बन्ध स्थापित गराई देशव्यापीरूपमा उद्यमशीलता विकासको अभियानका रूपमा परिचय बनाएको ‘गरिखाने अभियान’ लाई मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका छन् । स्वदेशमै केही गरौँ भन्ने आकांक्षा राख्ने युवा तथा वैदेशिक रोजगारबाट फर्केकालाई उद्यमशीलता र रोजगारीका अवसरसँग जोड्न प्रदेश सरकारले पनि ‘गरिखाने अभियान’ सञ्चालन गर्ने भएका हुन् ।

नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले यसअघिदेखि नै आफ्नै पहलमा गरिखाने अभियानलाई देशव्यापी बनाएको छ । उद्यमशीलता र रोजगारका अवसरसँग युवालाई आबद्ध गर्ने अभियानले उद्यमशीलताको महत्वबारे जागरण सिर्जना गरेको समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको यो सोचले व्यापकता प्राप्त गर्नु उत्साहजनक छ, देशमै उद्यम र रोजगारीका अवसरले मुलुकमा रोजगारीका अवसर प्राप्त हुनुका साथै उत्पादकत्वसमेत वृद्धि हुन्छ । यसले अर्थतन्त्रको दिगो, समावेशी र फराकिलो आर्थिक विस्तारलाई स्थायित्व प्रदान गर्छ ।’

समितिका अनुसार अभियानले छोटो समयमै देशभर उपस्थिति जनाएको छ भने अभियानमा आबद्ध भई उद्यमशील बन्न चाहनेको संख्या उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा अभियानमा आबद्ध एक सय २९ उद्यम परियोजनालाई बैंक तथा वित्तीय संस्थाको सहुलियतपूर्ण कर्जा उपलब्ध भएर उद्यम÷व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उद्यमशील बन्ने आकांक्षा राखेर अभियानमा जोडिएका सबैलाई स्थानीय सम्भावनाअनुसारका उद्यम सञ्चालन गर्न सम्भावना पहिचान, व्यवसाय दर्ता, व्यावसायिक योजना विकास, सीप तथा प्रविधि र पुँजी उपलब्ध गराउने संस्थासँग समन्वय, सम्भावित जोखिमबारे अभिमुखीकरण र बजार पहुँचलगायत उद्यमशीलताको सम्पूर्ण ‘इकोसिस्टम’ मा आधारित सेवा गरिखाने अभियानका साझेदार संस्थामार्फत् सेवा उपलब्ध हुँदै आएको बताइएको छ ।

प्रदेश सरकारहरूले समेत स्वामित्व लिएपछि आगामी दिनमा यो अभियानले अझै तीव्रता पाउने र लाखौँ युवाको उद्यमशील बन्ने आकांक्षा पूरा गर्न यो अभियान कोशेढुंगा बन्ने चौधरीले विश्वास व्यक्त गर्नुभएको छ ।

चौधरीले भन्नुभयो, ‘यो विशुद्ध उद्यमशीलता विकासको अभियान हो । मुलुकमा रोजगारीको अवसर नभेटेर विदेसिएका युवालाई मुलुकमै उद्यम गर्न आकर्षित गर्नुका साथै रोजगारी र उत्पादनका थप आधार विस्तार गर्न देशव्यापी अभियान सञ्चालन गरेका हौँ, यस दिशातर्फको अभियानले सार्थकता प्राप्त गर्नेमा हामी विश्वस्त छौँ ।’

चौधरीले उद्यमशीलता विकासमा काम गर्ने संघसंस्था, यसका हिमायतीहरू, सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र सबैको साझा अभियान भएको बताउँदै मुलुकभित्रै उत्पादन विकासले आयात प्रतिस्थापन, रोजगारी, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पु¥याउने दाबी गर्नुभएको छ । साथै उहाँले महामारीले सिर्जना गरेका चुनौतीका बाबजुद अभियानलाई देशव्यापी बनाउँदै आकांक्षी उद्यमीबाट प्रस्ताव लिएर प्रारम्भिक चरणमा एक सय २९ परियोजनामा सहुलियत कर्जा लगानी भएको अवसरलाई ‘सेलिब्रेट’ गर्नुपर्ने बताउनुभएको छ ।

अभियानमा देशभरबाट उद्यमशील बन्न चाहनेले सहजै सम्पर्क गर्न सक्ने र अभियानमा आबद्ध भई निःशुल्क उल्लेखित सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको अभियानका प्रमुख कार्यकारी अधिकृत योगराज शर्मा कँडेलले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?