निर्वाचन प्रणाली र शासकीय स्वरूप बदल्ने लडाइँ लड्नु छ : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 5 mins

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरूप बदल्ने आन्दोलन ढिलोचाँडो सुरु हुने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पोखरामा शनिबार गण्डकी प्रदेशका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताको अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचन प्रणाली र शासकीय स्वरूप देश र जनताको हितमा नरहेको बताउनुभयो । अहिले माओवादी केन्द्रबाहेक कांग्रेस, एमालेभित्रका नेताले पनि निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएको, भ्रष्टाचार नै त्यहीँबाट सुरु हुन्छ भन्ने बहस थालेको उहाँले बताउनुभयो । ‘यो विषयमा संविधान बनाउने बेलामा नै रिजर्भेसन राखेर निर्वाचन प्रणाली, शासकीय स्वरूप र पहिचानको मुद्दा ठिक ढंगले सम्बोधन भएको छैन, आउने दिनमा यसको निम्ति फेरि हामीले संविधान संशोधन, परिमार्जन गर्न जरुरी छ भनेर संविधानसभामा लिखित नोट अफ डिसेन्ट लेख्ने पार्टी हामी नै हो,’ उहाँले कार्यकर्तालाई भन्नुभयो, ‘हामीलाई नैतिक, राजनीतिक अधिकार छ लडाइँ लड्ने । विकृत पुँजीवादी निर्वाचन प्रणाली बदल्ने र जनताको पक्षमा निर्वाचन प्रणाली बनाउने र शासकीय स्वरूप पनि जनताले फैसला गर्ने बनाउने लडाइँ हामीले ढिलोचाँडो लड्नु छ । दिमागमा राखिराख्नुहोला ।’

माओवादी केन्द्रको नेतृत्वमा यही टिम रहे लडाइँ छिट्टै सुरु हुने र त्यो लडाइँ आफ्नो पार्टीले जित्ने उहाँको दाबी थियो । ‘हामी माओवादी सिधासिधा कुरा गर्न र आन्दोलन गर्न सिपालु छौँ । आन्दोलन, क्रान्ति गर्ने भनेपछि तपाईं÷हामी सबैका आङ जिरिंग हुन्छ, जोस आउँछ । हिँडिहालौँ, मरिहालौँ जस्तो गर्नेका सन्तान प¥यौँ हामी,’ उहाँले भन्नुभयो, ‘हामी जित्छौँ । जित्ने मैले पक्का देखेको छु । जितियो भने हामी अर्को हाइटमा पुग्छौँ ।’

उहाँले आगामी संसदीय निर्वाचनमा माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउने गरी तयारी थालेको बताउनुभयो । प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अहंकार बढ्न नदिने गरी ठिक्क ठाउँमा राख्न गठबन्धनका दलबीच छलफल भइरहेको बताउँदै उहाँले त्यसो गर्दा माओवादी केन्द्र दोस्रो पार्टी हुने सम्भावना रहेको उल्लेख गर्नुभयो । ‘माओवादी केन्द्र दोस्रो हुने भनेको कम्युनिष्ट आन्दोलनको पहिलो हुने हो । माओवादी केन्द्र पहिलो हुनेबित्तिकै हाम्रो नेतृत्वमा कम्युनिष्ट आन्दोलन पुनर्गठन हुन्छ,’ उहाँले भन्नुभयो, ‘एमालेका सबै यहीँ हुन्छन् ।

त्यसपछि खुरुखुरु समाजवादको यात्रामा लिएर जान सकिन्छ ।’ स्थानीय तहको निर्वाचन परिणाम सोचेजस्तो नभए पनि माओवादी आन्दोलनको मुख्य शक्ति माओवादी केन्द्र नै भएको तथ्य स्थापित गरेको उहाँको भनाइ थियो । उहाँले माओवादी केन्द्रले जितेका १२२ पालिकामा फागुन १ मा बिदा दिएर विशेष पर्वका रूपमा मनाउन सके जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रूपमा स्थापित गरेर देशैभरि बिदा दिन सरकारलाई दबाब दिन सकिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?