जीवनमा कहिले सहानुभूतिको पात्र भइन्छ, कहिले प्रशंसाको पात्र पनि भइन्छ । गति छोड्नु हुँदैन जोड घटाउ जीवनको चलि नै रहन्छ । नाफा घाटाको सङ्गम यो जीवनका धेरै उज्याला–अँध्यारा पाटाहरू छन् । जहाँ कहिले कोही साथी बन्छन् कहिले एक्लै नापिन्छन् ती बाटाहरू । जीवन हरियो राम्रो हो कि रातो ? नीलो राम्रो हो कि पहेंलो ? अहिलेसम्म किटान भएको छैन । यिनै रङ्गहरूमा पनि विभेद छ सत्तालाई कालो रङ्ग मन पर्दैन । जीवन त सप्तरङ्गी वा बहुरङ्गी राम्रो हुनुपर्ने हो । आखिर जीवन यी रङ्गहरूभन्दा भिन्न त अवश्य छैन । बुझाइ र हेराइ सापेक्ष रहेछन् ।
जीवन आफैँ एउटा रङ्ग हो जसको स्वरूप समयले निर्धारण गर्छ भन्नेहरू पनि छन् । जीवनलाई रङ्गमा हेर्न खोज्नु पनि एउटा सङ्गतिको खोजी हो । जीवनको रङ्ग गाढा किसिमले चढ्यो भने सायद जीवन सार्थक मानिन्छ । त्यसैले जीवनमा गाढा रङ्ग चढाउन प्रयत्नशील रहनु पनि राम्रो हो । विगतका वर्ष हामीले केही अनपेक्षित घटना र परिस्थितिमा गुजार्यौँ । धेरै प्रकारका शारीरिक, मानसिक पीडा व्यहो¥यौँ । कतिपयले आफन्त गुमायौँ । कतिपय हामी मृत्युको मुखमा पुगेर फर्कियौँ ।
धेरै कुरा सिकायो यस समयले । साझा समस्याबाट गुज्रिएका हामीले केही साझा अनुभूति पनि गर्यौँ । जीवनको मोहले पिरोलियौँ । आफन्तको विछोडले दुःखी भयौँ । जीवन मोहसँगै हाम्रो अकिञ्चनता पनि अनुभव गर्यौँ । हामीले चाहेर पनि गर्न नसकेका हाम्रो सामथ्र्यभन्दा बाहिरका विषय र परिस्थितिले धेरै तत्वज्ञान गरायो । धेरैलाई दार्शनिक बनायो समयले । अनेक दृष्टिबाट जीवन र जगत्लाई माया गर्नेदेखि जीवन र जगत्देखि वितराग उत्पन्न हुनेसम्मका अवस्था आए । हामीले बनाएका मान्यताहरू संशोधन गर्न हामी आफैँ लाग्यौँ । जीवन र जगत्को परिभाषामा नयाँ व्याख्या थपियो ।
अनगिन्ती त्यस्ता दृष्टान्तमध्ये एउटा घटना-मेरा एकजना मित्रको परिवारलाई कोरोनाले समात्यो । वृद्ध आमा, नाबालक सन्तान र आफूहरू पतिपत्नी सबैजना कोरोनाले ग्रस्त भएपछि परिवारमा ठूलो विचल्ली पर्यो । पानी तताएर दिने मानिससम्म कोही भएन । समय नै त्यस्तो थियो सबै आफन्त र इष्टमित्रबाट टाढा रहन बाध्य थियो मानिस । वरपर सबै नातासम्बन्धी छन् । संगीसाथी छन् इष्टमित्र छन्, सबै छन् । टेलिफोनमा वा अन्य सञ्चारमाध्यमबाट आस्वस्त पार्नेहरू त्यत्तिकै छन् तर त्यो आपत्का समयमा घरमा आउने कोही छैन । सघाउने कोही छैन ।
बिरामी आमालाई अस्पताल लैजाने, बिरामी बच्चालाई जाउलो दिने, पत्नीलाई औषधि दिने वा स्वयम्लाई पानी दिनेसम्म मानिस कोही नभएको अवस्थामा उनले जीवनको तीतो यथार्थलाई अनुभव गरे । आखिर सबै जना आफन्त छन्, सजिलो अवस्थामा छन्, सम्पन्नतामा छन्, वैभवमा छन्, पूर्णतामा छन् तर विपत्को अवस्थामा कोही पनि छैन । अनि त्यो भयावह अवस्थाबाट गुज्रिएपछि उनले अनुभव गरे यी धेरै आफन्त र इष्टमित्रको कुरा गरेर आफूले कति घमण्ड गरियो ।
कति धाक लगाइयो । कति रिसराग गरियो । कति विषयमा गौरव गरियो तर आज असजिलोमा साथ दिने कोही भएन । कसैले चाहेर पनि केही गर्न नसक्ने यो विषम परिस्थितिको दोष त कसैलाई छैन । अनि उनलाई लाग्यो जीवनमा भरोसा गर्ने विषय के छ त ? खासमा केही पनि त रहेनछ । यी देखिने तत्वबाट कुनै सहयोग नभएको अवस्थामा कहीँ न कहीँ त आस्थालाई अड्याउन पर्छ । अनि मानिस ईश्वर वा अदृश्य नामको शक्तिको नजिक पुगेर अडिन खोज्छ । त्यसैले उनले पनि त्यो असजिलोमा सम्झेको अर्को विषय थियो ईश्वर ।
उनले ईश्वरलाई आफ्नो सहयोगी हो कि भन्ने कल्पना गरे । मानिसले चाहेर नचाहेर, जानेर नजानेर असजिलो पर्दा संस्कारात् ईश्वरलाई सम्झिन पुग्छ । त्यो बेलामा निसलाई आस्तिक नास्तिक शब्दको पनि त्यति हेक्का रहँदैन । महान् नास्तिकहरू पनि असजिलो पर्दा हे ! ईश्वर वा हे ! भगवान् भन्दा हुन् । के ईश्वरले असजिलोमा उसलाई साथ दिएकै हो त ? ईश्वर छ भनौँ त्यो पनि देखिँदैन । कुनै देखालो सहयोग पनि गर्दैन । चाहिएको बेला साथ दिन आउँदैन । मात्र एउटा विश्वास स्वरूप अडिने ठाउँमात्र बनेको छ त्यो ईश्वर पनि । ईश्वरले पनि साथ सहयोग त खास केही गरेको छैन ।
तर, भरोसा टिकाउने अरू केही नभएकाहरूको भरोसाको केन्द्र ईश्वर बनेका धेरै दृष्टान्त छन् र त्यसरी आस्था गर्ने धेरै आस्तिकहरूले आफ्नो अनुकूल परिणाम पाएको स्वीकारोक्ति पनि गरेका छन् । त्यही कारणले उनले ईश्वरलाई सहारा मान्न थाले र एउटा दर्शन बनाए । आफ्नो परिवार र ईश्वरबाहेक अरू कोही पनि छैन । त्यसबेला उनले टिकाएको विश्वास र भोगेको भोगाइ सत्य हो र त्यसभन्दा झरिलो सत्य हो आफूबाहेक अरू केही र कोही छैन । परिवार पनि आ-आफ्नै समयको निम्ति मात्र हो ।
यस्तो बेला कुनै पनि मानिसले आफूलाई एक्लो ठान्नु जति स्वाभाविक हो त्यसभन्दा धेरै गहिरो सत्य मानिस एक्लै नै छ भन्ने हो । अनि सम्झना हुन्छ पारिजातको ईश्वर अर्थात् ढुंगामा कुँदिएको, मानिसले बनाएको निर्जीव आकृति । जो चाहिएको बेला, बोलिदेओस् भनेको बेला बोल्दैन र अर्को सुन्दर पक्ष छ त्यस्तो ईश्वरको जो नबोल्देओस् भनेको बेला पनि बोलिदिँदैन । सायद यसैले पनि मानिसले ईश्वरमा भर गर्छ । धेरै यस्ता कामहरू मानिसले गर्छ जुन कामहरू उसको नैतिक मानवीय धर्मले गर्ने अनुमति दिँदैन तर उसले लुकी लुकी गरिरहेको हुन्छ । यदि ईश्वर नामको शक्ति हुँदो हो र त्यसले त्यो कुरा देख्दो हो र भनिदिँदो हो त मानिसको कुन हविगत हुँदो हो ?
यसै सन्दर्भसँग मेरा अनगिन्ती एकलकाटे अनुभूतिहरू छन् र आफ्नै बलबुताले जीवनका ती असजिलाहरू पार गर्दै आइएको छ । कहिले स्वभाव र अवस्थालाई टिप्पणी गरेर केही मनिसहरूले परिवर्तन हुने सल्लाह दिन्छन् । सबै परिस्थितिमा सल्लाहकार उपस्थित भइरहेकै छन् । अरू नभए पनि सल्लाकारहरू निःशुल्क पाइँदै छन् । कहिले यसो गरेको राम्रो कहिले उसो गरेको राम्रो भन्दै पनि छन् । परेको बेला हामी छौँ किन एक्लो ठान्नुहुन्छ भन्नेहरू पनि त्यत्तिकै छन् । अरूलाई उपदेश दिएजस्तो सजिलो आफूलाई परिवर्तन गर्न छैन ।
मानिस जस्तो छ र जे पाइरहेको छ त्यसभन्दा फरक हुन खोज्ने चेष्टा पनि प्राकृतिक नियमभन्दा विपरीत कुरा रहेछ । जीवनमा धेरै थरि कुरा सम्झना हुन्छन् । हामी छौँ नि असजिलो पर्दा सहयोग गर्ने भन्ने आफन्तका अनुहारहरू अनि आफूले गर्नु परेको सङ्घर्ष । अनि उत्तर आउँछ म मेरै अहङ्कारले पूर्ण छु किन कि मलाई जे जति सिकाएको छ र सहयोग गरेको छ आफ्नै अहङ्कारले नै गरेको छ । त्यो मेरो अहङ्कार नै मेरो ईश्वर पनि हो । मेरो आराधना र पूजा हो । अहङ्कारको रूढार्थ यद्यपि सकारात्मक छैन । तर, तात्पर्यार्थमा अहम् भनेको गर्वबोध पनि हो । स्वत्व चेतना हो, स्वभाव वा अस्तित्वबोध पनि हो ।
अहङ्कारी हुनु यसर्थ स्वभावी हुनु वा पृथक् हुनु पनि हो । अहङ्कार स्वाभिमान बनेर रहुन्जेल वा अभिमान नबनुन्जेल मलाई ग्राहृय छ । र, अहङ्कार आफूभित्रको झरिलो कोइला पनि हो । ईश्वरले पनि रोजेको अहङ्कार मेरो बाध्यता नै मेरो पन हो र म हुँ । अनि मलाई लाग्छ मेरो अहङ्कार नै म हो, मेरो अस्तित्व हो, मेरो स्वाभिमान हो । मेरो सहारा हो । मेरो भरोसा हो । मेरो शिल्प हो । मेरो सौन्दर्य हो । मेरो कला हो । मेरो चेतना हो । मेरो स्वतन्त्रता हो । मेरो साथी सहयोगी हो इष्टमित्र वा आफन्त हो ।
जे जति उपाधिहरूका पछाडि मेरो भरोसा अडेको छ त्यो सबै संशोधनीय छ । मलाई सहयोगको सान्त्वना दिनेहरू, मेरो अपूर्णतामा पूर्णताको आभास गराउन अघि सर्नेहरू, मेरा सजातीय वा विजातीय शुभेच्छुकहरू र तिनका भरोसाहरू सबैसँग अहिले मलाई खास अभिरुचि छैन । अभिरुचि किन छैन भने कसैले पनि चाहेर कसैको साथ सहयोग सधैँ गरिरहन सक्दैन । हो जीवनको कुनै असजिलो गौँडोमा कसैको सहयोगी हात आइपुग्यो भने त्यो जीवनको सुन्दर संयोग हो र यस्ता संयोगहरू सधैँ मान्य छन् जीवनमा ।
यदि कसैलाई सर्वथा अरूकै साथ सहयोगमा जीवन चल्छ भन्ने लागिरहेको छ भने त्यो भ्रम हो । बाँच्ने त फेरि पनि आफ्नै अनुशासन र कर्ममा जीवन सुन्दर लाग्नुपर्छ । प्रिय सञ्चेतना ! समयका चोटहरूको उपचार हुँदैन भन्ने थाहा भएर पनि उपचारको खोजीमा बाँच्नु जीवनको अर्को बाध्यता रहेछ ।
समयका चोटहरूको उपचार हुँदैन भन्ने थाहा भएर पनि उपचारको खोजीमा बाँच्नु जीवनको अर्को बाध्यता रहेछ ।
अन्तिम वाक्यले विषयवस्तुलाई कति जीवन्त प्रस्तुत गरेको ? धन्यवाद र बधाईका पात्र हुनुहुन्छ लेखक !
सुन्दर र भावनात्मक छ लेखन !