बलात्कारीका लागि कडा कानुन आवश्यक

सांकेतिक तस्बिर

Read Time = 3 mins

✍️ निरञ्जन मैनाली
पत्रपत्रिकाहरूमा प्रकाशित बलत्कार कसुरमा जन्मकैदसम्बन्धी समाचार पढ्दा मलगायत सम्पूर्ण नारीहरू हर्षित भएका छौं । परापूर्व कालदेखि नै सामन्ती शासकहरूले महिलामाथि हिंसा गर्दै आइरहेका छन् । गत २०७७ साल मंसिर ११ गते पर्सा जिल्ला सखुवापर्सौनी–२ का देवशमशेर चौधरीले चार वर्षीया नाबालिकालाई आफ्नै घरमा बलात्कार गरेका थिए । पीडितले उनीविरुद्ध जिल्ला अदालतमा जाहेरी दिएपछि कसुर गरेको आधारमा अदालतले बलात्कारीलाई जन्मकैदको सजाय सुनाउनु स्वागतयोग्य छ ।

हिजोआज दैनिक पत्रपत्रिका अनलाइन समाचारहरूमा दुई वर्षका बालिकादेखि हजुरआमा उमेरका महिलासम्म बलात्कृत भएका समाचार आइरहेका छन् । त्यसैगरी दरबार मार्गको एक क्लबमा भेटिएकी महिलालाई सामूहिक बलात्कारलगायत देशका विभिन्न स्थानमा भएका यस्ता समाचार सुनिरहेका छौं । यस्ता समाचार पढ्दा–सुन्दा हाम्रो समाजमा हाम्रा छोरीबेटी, दिदीबहिनी र आमाहरूले ढुक्कसँग हिँडडुल गर्न सक्ने अवस्था अझै आइसकेको छैन भन्ने थाहा हुन्छ । हाम्रो समाजमा शक्तिको आडमा बलात्कारी छाती फुलाएर हिँडिरहेका हुन्छन् तर समाजमा बलात्कृतहरू अपराधी झैं मुख लुकाएर बाँच्न बाध्य पारिएका छन् ।

जिल्ला अदालत पर्साले गरेको फैसला सराहनीय छ तर जन्मकैदको सजाय गर्दा संविधान दिवस र गणतन्त्र दिवसको नाममा सजाय कम हुने हुँदा अपराधी छुट्ने सम्भावना हुन्छ । त्यस कारण अब संविधान नै संशोधन गरेर भए पनि यस्ता बलात्कारीलाई फाँसी दिने कानुन बनाउनुपर्छ । अनिमात्र अपराधीले बलात्कार गर्नुअघि एकपटक भए पनि फाँसीको डोरी सम्झनेछ ।

कोल्हवी, बारा
हाल : काठमाडौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?