नेपाल-चीन अनलाइन साहित्य सम्मेलन : ‘रेसम मार्गमा साहित्यिक कल्पना’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र चिनियाँ लेखक संघको संयुक्त आयोजनामा नेपाल-चीन अनलाइन साहित्य सम्मेलन मंगलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवं साहित्यकारहरूको अनलाइनका माध्यमबाट सहभागिता थियोे ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रेसम मार्गको अवधारणा सांकेतिक भए पनि यसले आर्थिक, सामाजिक एवं राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । चिनियाँ लेखक संघ र नेपाल प्रज्ञा-प्रतिष्ठान विश्वसनीय समकक्षी संस्था भएको भन्दै उहाँले यी दुई संस्थाबीच सन् २०१३ मा समझदारी पत्रमा हस्ताक्षर भएयता साहित्यिक भ्रमण आदानप्रदान, अन्तक्र्रिया एवं अनुवादका कामले गति लिएको भन्दै खुशी व्यक्त गर्नुभयो । सन् २०१७ मा चीनमा सम्पन्न प्रथम चीन-दक्षिण एसिया साहित्य सम्मेलनको दोस्रो संस्करण नेपाल प्रज्ञा-प्रतिष्ठानले सन् २०१९ मा गर्न पाएको स्मरण गर्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ लेखक संघका अध्यक्ष थाइ निङले नेपाल प्रज्ञा-प्रतिष्ठान र चिनियाँ लेखक संघबीचको संयुक्त पहलबाट दुई देशबीच साहित्यिक आदानप्रदानमा टेवा पुगेको बताउनुभयो । कोरोना महामारीका कारण केही समय स्थगित जस्तै रहेको द्विपक्षीय साहित्यिक आदानप्रदानले अब गति लिने उहाँको विश्वास थियो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा.हेमनाथ पौडेल र प्राज्ञसभा सदस्य शशी लुमुम्बूसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालका तर्फबाट प्रा.डा.अभि सुवेदी, प्रा.डा.योगेन्द्रप्रसाद यादव, प्रा.डा.रुद्र पौडेल, प्रा.डा.कृष्णचन्द्र शर्मा र उपप्राध्यापक महेश पौड्यालले गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । चीनका तर्फबाट निङ खन, चाङ छिङहृवा, लिउ चियान, पेई था, वाङ लिउछीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा एक सयभन्दा बढी नेपाली कविता समेटिएको कविता संग्रहको चिनियाँ संस्करण सार्वजनिक गरिएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानले अंग्रेजी भाषामा अनुवाद गरेको ‘दि भ्वाइस अफ नेपाल’ नामक उक्त कृतिलाई चिनियाँ लेखक संघले चिनियाँ भाषामा अनुवाद एवं प्रकाशन गरेको हो ।

पुस्तक सार्वजनिकपछि बोल्दै कुलपतिले नेपाल प्रज्ञा-प्रतिष्ठानले अनुवाद गरेको ‘समकालीन चिनियाँ कविताहरू’ शीर्षकको ग्रन्थ प्रकाशनको अन्तिम चरणमा रहेको चिनियाँ पक्षलाई जानकारी दिनुभयो । जम्मा १३ चिनियाँ कविका ६५ वटा रचना समेटिएको उक्त कृतिका अनुवादक डा.प्रदीप केसी पनि उक्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?