चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ काठमाडौंमा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग भेटघाटमा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ । आइतबार बिहान चारदिने भ्रमणका लागि नेपाल आउनुभएका लिउले दिउँसो प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री देउवालाई भेट्न लिउ बालुवाटार पुग्नुभएको थियो ।

लिउले आइतबार नै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग लिउले भेटवार्ता गर्नुभएको हो । लिउको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार होटल मेरियटमा रात्रिभोजको आयोजना पनि गर्नुभएको थियो ।

लिउ आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान साढे ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उहाँको स्वागत गरेका थिए । लिउ काठमाडौंको होटल द्वारिकामा रहनुभएको छ ।

नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग भेटवार्ता गर्ने कार्यक्रम तय छ । लिउले आज बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उहाँले ओलीलाई बालकोटमा गएर भेट्नुहुने छ । दाहाल, नेपाल र खनाललाई भने लिउले होटलमा भेट्ने कार्यक्रम छ । तर, कुन होटलमा भेट्ने भन्नेबारे सार्वजनिक गरिएको छैन । केही दिनअघि लिउले परराष्ट्रमन्त्री डा. खड्का, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग भिडियोमार्फत कुराकानी गर्नुभएको थियो ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट यो दोस्रो उच्च तहको भ्रमण भएको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गर्नुभएको थियो । नेपालले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मा हस्ताक्षर गरिसकेको छ भने थप प्रक्रिया अघि बढेको छैन । नेपाली नेताहरूसँगको कुराकानीमा ‘पोलिटिकल पार्टीज प्लस’ सहकार्यबारे चर्चा गर्दै आउनुभएका लिउ राजनीतिक भेटवार्ताका लागि काठमाडौं आउनुभएको हो ।

चीनमा भ्रष्टाचारविरोधी नेताको छवि बनाउनुभएका लिउ त्यहाँका मन्त्रीस्तरका नेता हुनुहुन्छ । प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउको नेपाल भ्रमणलाई रुचिपूर्वक हेरिएको छ । जिम्मेवारी सम्हालेलगत्तै लिउले नेपाल भ्रमण गर्नु र यहाँको शीर्ष राजनीतिक नेतृत्वसँग संवाद गर्नुलाई चीनले नेपाललाई प्राथमिकता दिइएको रूपमा विश्लेषण गरिएको छ । गत जुनमा सिपिसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि लिउले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुभएको हो । उहाँ बुधबार स्वदेश फर्किनुहुने कार्य तालिका रहेको छ ।

चीनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता, नेपालमा हुनसक्ने चीनविरोधी गतिविधिबारे चासो राख्ने गरेको छ । चिनियाँ पक्षले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतका परियोजनाहरूमा नेपालसँग काम गर्न चाहेको लिउले उल्लेख गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सि जिन्पिङले सन् २०१३ मा घोषणा गरेको यो अभियानमा नेपालले २०१७ मा सामेल हुने सैद्धान्तिक सहमति जनाएको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत चीन हुँदै दक्षिण तथा मध्य एसिया र युरोपसम्म सडक तथा रेल सञ्चालनमा जोड दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?