थर परिवर्तन गर्नेको संख्या बढ्दै

हिमालय टाइम्स
Read Time = 3 mins

विवेक खड्का/हिटा
दाङ । दाङमा दलितहरूले थर परिवर्तन गर्नेक्रम बढ्न थालेको छ । गृह मन्त्रालय, राष्ट्रिय दलित आयोग र स्थानीय पालिकाको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले दलित थर नागरिकताबाट हटाउन सुरु गरेपछि नागरिकता बनाउनेहरू बढेका हुन् । जिल्ला प्रशासन कार्यालयमार्फत् दलितलाई अपमानित गर्ने शब्द भाड, ढाड, चोर, ठग, चमार, सार्की, गायन, बादी, दमाई, ढोलीजस्ता नागरिकतामा लेखिने थर संशोधन गरी अधिकारी, नेपाल, गौतम, शर्मा लेखेर नागरिकता लैजाने गरेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म जिल्ला प्रशासन कार्यालय दाङले १५० जना दलितको थर परिवर्तन गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । थर परिवर्तनले दलित समुदायमाथि जातका आधारमा हुने विभेद कम हुने प्रजिअ रेग्मीले बताउनुभयो । ‘नयाँ नागरिकता बनाउँदा जुनकुनै थर लेख्दा समस्या छैन तर पुरानो नागरिकता थर परिवर्तन गरेर प्रतिलिपि दिँदा भने थर परिवर्तन गर्नुको कारणसहित आउनुपर्छ,’ प्रजिअ रेग्मीले भन्नुभयो ।

राष्ट्रिय दलित आयोगले थर परिवर्तन गर्नेलाई सो बमोजिम दिन देशका ७५३ पालिकालाई निर्देशन गरेको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै दलित अपहेलित र अपमानित हुने थर छन् भने यस्ता थर हटाउनु हाम्रो कर्तव्य हो ।’ उहाँले राष्ट्रिय दलित आयोगले दलितलाई कुनै पनि थर लेख्ने स्वतन्त्रता दिएको बताउनुभयो । ‘दलितले नागरिकतामा आफ्नो अस्तित्व नमेटिने गरी थर लेख्छ भने राज्यबाट पाउने सेवा सुविधा र आरक्षण दिनुपर्छ नत्र दलितको पहिचान मेटिने गरी थर लेख्दा कुनै सुविधा पाउँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसतर्फ सबै सचेत बन्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?