‘जीवन काँडा कि फूल’ भारतमा प्रदर्शन हुने

Read Time = 3 mins

काठमाडौं । नेपालमा सार्वजनिक प्रदर्शनमा आइसकेको चलचित्र ‘जीवन काँडा कि फूल’ले नेपाल रिलिजको दुई वर्षपछि भारत प्रदर्शन सुरु गर्ने भएको छ । सार्वजनिक प्रदर्शन पश्चात् विभिन्न संघसंस्था तथा विद्यालयमा हालसम्म निरन्तर च्यारेटी प्रदर्शनीलाई निरन्तरता दिइएको ऐतिहासिक कथामा आधारित चलचित्र अब भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन हुनेभएको हो ।

चलचित्रकी कार्यकारी निर्मात्री जुनु गौतमले आगामी सेप्टेम्बर २ तारिखबाट भारतका विभिन्न स्थानमा चलचित्र एकसाथ प्रदर्शन कन्फर्म भएको बताउनुभएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृतिमाथि बनेको फिल्म सेप्टेम्बर २ तारिखबाट सिक्किम, दार्जिलिङ, कालिंगपोङ, कस्र्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको जानकारी दिनुभयो ।

झमकको कृति पढिसकेका र ट्रेलर रिलिजसँगै नेपाल प्रदर्शनको समयबाट प्रतिक्षा गरिरहेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ चलचित्रको माग भएनुसार प्रदर्शनी तय भएको चलचित्रका निर्देशक विनोद विष्टले बताउनुभयो ।

चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गर्नुभएको छ । त्यस्तै सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधानलगायत कलाकारको अभिनय समावेश छ । झमक घिमिरेको कथा कृति बोलेको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तिको संवादमा सहकार्य रहँदा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन छ । चलचित्रका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी हुनुहुन्छ ।

चलचित्रमा समावेश गीतहरूमा शब्द संगीत प्रकाश शिवाकोटीको छ भने एक गीतमा झमक स्वयमंले शब्द लेख्नुभएको छ । समावेश गीतहरूमा स्वर जुनु गौतम, सरिता गजमेर र मीना निरौलाले दिनुभएको छ । गीतका भिडियोहरूमा कोरियोग्राफी कमल राईको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?