कानुनसँगै साङ्गीतिक यात्रामा राजेन्द्र

Read Time = 7 mins

काठमाडौं । दिनभर कानुनका विभिन्न धारा उपधारामा घोत्लिइरहने कानुनविद् राजेन्द्र शर्माको अर्को पाटो भनेको गीत-सङ्गीत हो । उहाँ गीत-सङ्गीतको क्षेत्रमा पनि उत्तिकै अब्बल हुनुहुन्छ जति कानुनमा हुनुहुन्छ । उहाँले विगत २८ वर्षदेखि निरन्तर आफ्नो कानुन व्यवसाय गर्नेक्रममा अधिवक्ताका रूपमा आर्थिक अवस्था कमजोर रहेका थुप्रै हिंसापीडितहरूका पक्षमा पनि निःशुल्क वकालत गर्दै आउनुभएको छ भने गीत-सङ्गीतको क्षेत्रमा पनि आफ्ना प्रस्तुतिमार्फत् धेरैको मन जित्न सफल हुनुहुन्छ ।

काठमाडौं स्कुल अफ ल कलेजबाट लैङ्गिक न्याय र मानवअधिकार विषयमा कानुनमा स्नातकोत्तर (एलएलएम) र अन्तर्राष्ट्रिय सम्बन्ध र आन्तरिक मामिला विषयमा राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) को योग्यता हासिल गर्नुभएका शर्मा कानुनमा पिएचडी गर्ने तयारीमा रहेको बताउनुहुन्छ । पछिल्ला दिनमा काठमाडौंमा रहेर महिला तथा बालबालिका सेवा केन्द्रलगायत एक दर्जन बढी संस्थामा आबद्ध रही पीडितका लागि न्याय अभियान नै सञ्चालन गर्दै आउनुभएका उहाँले हेटौंडाको चर्चित सुस्मिता हत्याकाण्डलगायत थुप्रै मुद्दाहरूमा सर्वोच्च अदालतमा निःशुल्क बहस गरेर कानुन व्यवसायीप्रतिको आमजनसमुदायको आस्था र विश्वास अभिवृद्धि गर्न सफल हुनुभएको छ ।

दुबई, थाइल्यान्ड र भारतलगायत विभिन्न देशमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सामाजिक सेवा, योगदान पुरस्कारबाट पुरस्कृत र सम्मानित उहाँलाई पीडित महिला बालबालिकाको पक्षमा वकालत गर्ने प्रेरणा आमा पार्वती शर्मा र गुरुआमा गीता पाठक सङ्ग्रौलाबाट मिलेको शर्मा बताउनुहुन्छ ।

पछिल्ला दिनमा थारु, भोजपुरी, मगर र नेपाली भाषालगायत विभिन्न राष्ट्र भाषा र राष्ट्रिय भाषाका गीतमार्फत् देशको लोकसंस्कृति जोगाउने र चिनाउने अभियानका क्रममा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि शर्मा सम्मानित हुनुभएको छ । शर्मा गीतलेखनमा मात्र नभएर गाउन र सङ्गीत भर्न पनि उत्तिकै निपूर्ण हुनुहुन्छ । उहाँको शब्द, सङ्गीत स्वर रहेका र अनु चौधरी र शान्तीश्री परियारको साथमा गाएका ‘शखिय हो’, ‘रापती तरेर’ र ‘आँसु झारेर’ गीत पछिल्ला दिनमा लोकप्रिय बन्दै गइरहेका छन् । २०७८ र २०७९ सालका दुईवटा थारु गीतमा गायनतर्फ लगातार सर्वोत्कृष्टको अवार्ड प्राप्त गरेसँगै शर्मासँग सहकार्य गर्न चाहनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

विद्यार्थी जीवनकालमा प्रत्यक्ष लोक तथा दोहोरी गीतका माध्यमबाट चेतनामूलक, सामाजिक सद्भाव बढाउने र राष्ट्रिय गीत रचना गर्ने र गायनमा पनि सहभागी हुने गर्नुभएका शर्मा कानुन व्यवसायमा असर नपरोस् भनेर पर्दापछाडि बढी सक्रिय रहनुभयो र थुप्रै नवोदित कलाकारलाई साथसहयोग प्रदान गर्नुभयो । उहाँ यतिबेला भने थारु भाषाको गीतको भिडियो ‘मै हुँ थारु नेपाली...’, ‘शखिए हो...’ र ‘बोकी सधैँ दुनियाँमा चेतनाको भारी...‘ नामक महिलाप्रधान नेपाली भाषाको चेतनामूलक भिडियोमा पर्दामा देखिनु पनि भएको छ । मानवअधिकार विषयमा कानुनमा स्नातकोत्तर गर्नेक्रममा सांस्कृतिक अधिकारको संरक्षण र उपभोगको सुनिश्चितताबाट मात्र नेपालको सांस्कृतिक सम्पन्नता र विविधता कायम राख्न सकिन्छ भन्ने सोच विकास भएपछि र बर्दियाली कलाकार समाज, लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाडौं विशेष समिति र थारु कलाकार प्रतिष्ठानमा कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नेक्रममा कलाकारसँग शर्माको घनिष्ठता बढेको हो ।

विभिन्न मातृभाषामा सांस्कृतिक तथा सामाजिक सद्भाव कायम गर्ने खालको गीत-सङ्गीत निर्माणमा पनि सक्रिय शर्मा देशभित्र बोलिने विभिन्न मातृभाषामा र खासगरी थारु गीत-सङ्गीतमा लाग्न थारु भाषा गायक एकराज आचार्य र रेशम चौधरीबाट प्रेरणा प्राप्त भएको बताउनुहुन्छ । शर्माको हालै थारु भाषाको गीत तेस्रो नेपाल म्युजिक तथा फेसन अवार्डका लागि मनोनयनमा पनि परेको छ । नेपाल सांस्कृतिकरूपमा धनी रहे पनि हाम्रो कला संस्कृतिको अन्तर्राष्ट्रियमा प्रचारप्रसार गरेर थुप्रै पर्यटक भित्र्याउन र निकुञ्ज भ्रमणमा आउने स्वदेशी–विदेशी पाहुनालाई मनोरञ्जन दिन सके आर्थिकरूपमा पनि देशलाई केही फाइदा पुग्ने शर्माको भनाइ छ ।

पञ्चायतकालदेखि हालसम्मका सबैजसो जनपक्षीय आन्दोलनमा सक्रियरूपमा सहभागी भएको र २०४६ साल र ०६२/०६३ को जनआन्दोलनमा सहभागी हुनुभएका शर्मा वकिलहरूको साझा सङ्गठन नेपाल बार एसोसिएसनको मुखपत्र ‘न्यायदूत’ मा सम्पादक रहेर कार्यसम्पादन गर्नुभएको छ । यस्तै, उहाँले कानुनका विभिन्न किताब तथा शोधपत्रको काम गर्नुभएको छ । कानुन व्यवसायीसँगसँगै गीत-सङ्गीतमार्फत् भाषा, साहित्य, कला, संस्कृतिको जगेर्नामा लाग्नुभएका शर्मा हाम्रो आफ्नो पहिचान भनेको नै हाम्रो भाषा, साहित्य, कला, संस्कृति र रीतिरिवाज भएको बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?