विश्वका तेस्रो धनी व्यक्तिमा गौतम

Read Time = 3 mins

नयाँदिल्ली । भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्नुभएको छ । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उहाँ विश्वको तेस्रो धनी व्यक्तिमा दर्ज हुनुभएको हो ।

विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ ।

ब्लुमवर्गको अति धनाढ्यको सूचीको ११औं नम्बरमा भारतका मुकेश अम्बानी हुनुहुन्छ उहाँको खुद् सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ । ब्लुमवर्गको धनाढ्यको सूचीमा तीनजना एशियाली उद्योगपतिलाई समावेश गरिएको यो पहिलोपटक हो । अडानीभन्दा अगाडि एलन मस्क र जेफ बजोस हुनुहुन्छ । एलन मस्कसँग दुई खर्ब ५१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ भने जेफ बजोस एक खर्ब ५३ अर्ब अमेरिकी डलर बराबरको कुल सम्पत्ति रहेको छ ।

गौतम अडानीले गत महिना माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई उछिन्दै चौथो स्थानमा पुग्नुभएको थियो । गेट्सले गत महिना आफ्नो सम्पत्तिको ठूलो हिस्सा सामाजिक सेवाका लागि दान गर्नुभएको थियो, जसका कारण उहाँको सम्पत्ति घटन गएको बताइन्छ । अर्कोतर्फ, अडानीका कम्पनीहरूले लगातार राम्रो प्रदर्शन गरेका छन्, शेयर बजारलाई पछि पार्दै उनीहरूको नेटवर्थ बढेको छ । अब गेट्सको कुल सम्पत्ति ११७ बिलियन डलरमा झरेको छ ।

सन् २०२२ अडानीका लागि उत्कृष्ट सावित भएको छ । जुन गतिमा अडानीको सम्पत्ति यस वर्ष बढेको छ, अरू कुनै अर्बपति उहाँको नजिक पनि उभिन सक्दैनन् । यो वर्ष उहाँको कुल सम्पत्ति ६० अर्ब डलरले बढेको छ, जुन बाँकीको भन्दा कम्तीमा पाँच गुणा बढी हो । यस वर्षको फेब्रुवरीमा, अडानीले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै भारत र एशियाको सबैभन्दा धनी व्यक्ति बन्नुभएको थियो । अडानीको कुल सम्पत्ति यस वर्ष अप्रिलमा पहिलो पटक १०० अर्ब डलर नाघेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?