प्राणी परिचय : घोडा

विनोद दाहाल वत्स
Read Time = 4 mins

म घोडा हुँ । मलाई अङ्ग्रेजीमा हर्स (Horse) भनिन्छ । म घरपालुवा प्राणी हुँ । मानिसले मलाई हजारौं वर्ष पहिलेदेखि पाल्दै आएका छन् । उनीहरूले मलाई अन्य प्रयोजनका लागि भन्दा सवारीसाधनका रूपमा प्रयोग गर्न पालेका हुन् । मोटर गाडीको आविष्कार हुनुभन्दा अगाडि विश्वभरि नै मलाई सवारीसाधनका रूपमा प्रयोग गर्ने गरिन्थ्यो । उच्च वर्गका मानिसका लागि म इज्जत र गौरवको साधन थिएँ ।

पौराणिक कालमा पनि देवताहरूले आफ्नो रथ चलाउन मलाई प्रयोग गर्ने गरेको इतिहास पाइन्छ । आजकाल टाँगा, एक्का तान्न प्रयोग गरेर मेरो माध्यमबाट कतिपय व्यक्तिले आफ्नो जीविका गरेका छन् । सैनिक तथा प्रहरीहरूले मलाई प्रयोग गरेर सवारी व्यवस्थित गर्ने, कला र मनोरञ्जन प्रदर्शन गर्ने जस्ता काम गर्दै आएका छन् ।

म चारखुट्टे जनावर हुँ । मेरो शरीर गाईको भन्दा अग्लो सलक्क परेको लामो हुन्छ । म छ फिटजति अग्लो हुन्छु । मेरो लम्बाइ आठ फिट जतिको हुन्छ । म विश्वका सम्पूर्ण ठाउँमा पाइँन्छु । म घरपालुवा भए पनि मेरै जातको जेब्रा प्रजाति अझै अफ्रिकाका वनमा जङ्गली अवस्थामै छ । मेरो लामो सलक्क परेको थुतुनो हुन्छ । मेरा सिङ हुँदैनन् । म निकै छिटो दौडन सक्छु । मेरा खुट्टाका टेक्ने ठाउँमा गाईका खुर जस्तै टाप हुन्छन् । ती गाईभैंसीका जस्ता दुई भागमा विभाजित हुँदैनन्, एउटै गोलो आकारमा बनेका हुन्छन् । मेरो घाँटीको माथिपट्टिको भागमा लामा लामा जगरजस्ता रौं हुन्छन् । तिनलाई ‘याल’ भनिन्छ । म कालो, सेतो, रातो झालेमाले लगायत विभिन्न रङको हुन्छु ।

म शुद्ध शाकाहारी प्राणी हुँ । बाँस, घाँस, मकैका दाना, चना आदि मेरा प्रिय खानेकुरा हुन् । म स्तनपायी प्राणी हुँ । गर्भाधारणको एक वर्षपछि मेरो पोथीले एउटा बच्चा जन्माउँछ । त्यसलाई बछेडो भनिन्छ । स्तनधारी ठूलो प्राणी भए तापनि मानिसले मलाई दूधका लागि उपयोग गरेनन् । मानिसले मलाई तालिम दिएर अनेक काममा प्रयोग गर्ने गरेका छन् । सर्कसमा पनि मलाई प्रयोग गरेर मानिसले फाइदा लिने गरेका छन् । तालिम पाएर म दौडिने, उफ्रिने र अनेक प्रकारका मनोरञ्जन दिने कुरामा निकै अगाडि छु । मेरो अरबी मूलको जाति निकै स्तरीय मानिन्छ ।

म आफ्नो मालिकप्रति बफादार हुन्छु तर नचिनेको मानिसले मलाई सवारी बनाएमा म त्यस्ता नचिनेका मानिसको आज्ञा पालन गर्दिनँ, तिनलाई लडाइदिन पनि पछि पर्दिनँ । म शत्रु पक्षलाई लात प्रहार गर्न पनि सिपालु छु । यसरी म मानिसका अभिन्न मित्रका रूपमा हजारौं वर्षदेखि उनीहरूलाई सहयोग गर्दै आएको छु । मेरो आयु बीस–पच्चीस वर्षको हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?