मंसिर चारपछि प्रधानमन्त्री को ?

Read Time = 13 mins

✍️ सञ्जय पौड्याल

ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च ।
ग्रहैव्र्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम् ।।
ज्योतिष आफैँमा विज्ञान सम्मत दृष्टि हो । ज्योतिषीय मतका आधारमा रहेर गरिएका विश्लेषण र विवेचनाले मानवमात्र नभई राष्ट्रसमेत सहिमार्गमा निर्देशित हुनसक्छ । भारतवर्षमा अझै पनि ज्योतिषीय साधना, तन्त्र र मन्त्रका आश्चर्यलाग्दा तथ्यपरक कुराहरू सुन्न सकिन्छ । नेपालका सन्दर्भमा बाहृयरूपमा मानिस नास्तिक धर्मनिरपेक्षी जे भए तापनि अन्तर्मनमा मानिस आस्तिक नै हुन्छ । यसको कारण नेपालको धार्मिक सांस्कृतिक प्रभाव नै हो ।

नेपालको राजनीतिक इतिहासमा आफ्नो बेग्लै पहिचान बनाउन सफल प्रचण्डको अबको राजनीतिक यात्रा कस्तो रहला ? भनेर चौतारी क्याफेहरूमा चर्चा चलिरहेका बेला यो पंक्तिकारले केही ज्योतिषीय अध्ययन गरेको छ । त्रि-महापुरुष बुधादित्य योगवान् प्रचण्डको अबको राजनीतिक यात्राको विषयमा विहंगम चर्चा प्रारम्भ गरिएको छ ।

शनिश्चर चौथो घरमा केन्द्रवर्ती भएर उच्च राशिमा स्थापित भएर बनेको शश महापुरुष योग प्रचण्डलाई क्रान्तिप्रति निरन्तर लाग्ने बनाएको योग हो । यो योगका कारणले गर्दा पनि उनी आफ्नो लक्ष्यबाट कहिल्यै विचलित भएका छैनन् ।

नेपाली राजनीतिका सशक्त खेलाडी प्रचण्डको न्वारनको नाम छविलाल हो । विसं २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरीमा जन्मेका पुष्पकमल दाहाल आमा भवानी र बुबा मुक्तिरामका जेठा सन्तान हुन् । कम्युनिष्ट आन्दोलनमा विभिन्न हण्डरठक्कर खाएका प्रचण्ड २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ-१० र रोल्पा-२ बाट निर्वाचित भएका थिए । २०६५ साल श्रावण ३१ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रथमपटक नेपालको प्रधानमन्त्री बनेका हुन् । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं–५ बाट निर्वाचित भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विसं २०७३ श्रावण १९ गते दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । २०५२ सालबाट सुरु भएको सशस्त्र युद्धको सर्वोच्च कमाण्डर बनेका प्रचण्ड हालसम्म पनि नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहेका छन् ।

शनिश्चर चौथो घरमा केन्द्रवर्ती भएर उच्च राशिमा स्थापित भएर बनेको शश महापुरुष योग प्रचण्डलाई क्रान्तिप्रति निरन्तर लाग्ने बनाएको योग हो । यो योगको कारणले गर्दा पनि उनी आफ्नो लक्ष्यबाट कहिल्यै विचलित भएका छैनन् । आफ्ना सहयोद्धाहरूको विछोड र वियोग, पारिवारिक विचलनलगायत अनेकौं घेराहरूले पनि प्रचण्डलाई प्रभाव पार्न नसक्नु पनि शश योगकै कारण हो । शुक्र केन्द्रवर्ती अनि स्वगृही भएर बनेको मालव्य महापुरूष योग पनि प्रचण्डको राजनीतिक सफलताको प्रमुख कारक हो । शुक्रले भौतिक तथा राज्य सुख सुविधा प्रदान गर्दछ ।

प्रचण्डका जीवनका दुईवटा महत्वपूर्ण तिथिहरूको अध्ययनले पनि उनको आगामी राजनीतिक जीवनका विषयमा केही चर्चा गर्ने आधार मिल्दछ । कुनै पनि व्यक्तिको विगतको कालखण्डमा व्यतीत भएका प्रभाव पारेका ग्रह योगिनीहरूको अध्ययनले वर्तमानमा चलेका ग्रहको विषयमा पक्कै नै धेरै कुरा भन्न सकिन्छ ।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री विसं २०६५ साउन ३१ गते भएका हुन् । उल्काको मूलदशाको समयमा प्रत्यान्तरमा धान्यको समय आएको र स्वयं उल्काको स्वामी शनिले कुण्डलीमा शश नाम गरेको राजयोग बनाएको र त्यसको समय चलेको अवस्था थियो । साथै प्रत्यान्तरमा धान्य योगिनी प्रभाव रहँदा हंस महापुरूष योगकारक ग्रहको समयमा प्रथमपटक प्रचण्ड प्रधानमन्त्री भएका थिए । यता विंशोत्तरी महादशामा बुधको अन्तर्दशामा बृहस्पति र बृहस्पतिको प्रत्यान्तरमा मंगल (जुन स्वयं सेनापति ग्रह हो ।) को समय चलेको हुँदा राज्यस्थानका मालिक मंगलको समयमा पनि मतिभ्रम गराउँदा सेनापति प्रकरणमा प्रधानमन्त्री पद छोड्न बाध्य भएका थिए ।

बुध स्वयं विद्याबुद्धिस्थानमा रहेको छ । ग्रहको फल ग्रहस्थान तथा अवस्था अनुसार हुने हुँदा बुद्धि त्यसै अनुसार रहने भयो । बुधको अन्तर बृहस्पतिको समयमा देवालयप्रति मतिभ्रम गराएर पशुपतिनाथको सञ्चालन प्रक्रियाप्रति किञ्चित हस्तक्षेप हुनु पनि ग्रहकै प्रभाव हो । फेरि बृहस्पति ग्रहकै प्रत्यान्तरमा मंगलको समयमा राज्यसञ्चालन अत्यन्त कठिन बन्यो । मंगल स्वयं सेनास्वभावयुक्त ग्रह हो । प्रचण्डको कुण्डलीको राज्यस्थानको मालिक मंगल भए तापनि मृत्युस्थानमा रहेका कारणले तत् समयमा सत्तात्याग गर्नुपर्ने अवस्था सिर्जित भयो ।

प्रचण्ड दोस्रोपटक २०७३ श्रावण १९ गते प्रधानमन्त्री बनेका हुन् । १२औं स्थानका केतुले समझदारी र सम्झौताका आधारमा प्रधानमन्त्री बन्ने योग निर्माण गर्‍यो । केतु ग्रहको दशाको अन्तरमा शनिश्चर आउँदा शश योगकारक ग्रहको प्रभावले गर्दा राज्य नेतृत्वका लागि सहज बनायो । केतुको अन्तरदशामा शनिश्चर फेरि प्रत्यान्तरमा पनि शनिश्चरको समय रहँदा सम्झौताको प्रथम चरण नै प्रचण्डका लागि सहज बन्यो । यही समय योगिनी दशा सिद्धा र अन्तदर्शामा भद्रिकाको अन्तर्दशाले पनि उनको मनोकांक्षा पूर्ण बनाउन सहज गरायो । योगिनी सिद्धा, अन्तर्दशामा भद्रिका र प्रत्यान्तरदशामा धान्य भएकाले पनि प्रचण्डलाई किञ्चित् इमानदार बनायो । धान्य स्वयं बृहस्पतिसँग सम्बन्धित योगिनीदशा भएकाले नै सहजताका साथ सत्ता हस्तान्तरण गरे । नेपालको राजनीतिमा यति सहजै पूर्वसम्झौता अनुरूप सत्ता हस्तान्तरण भएको सायदै पहिलो परिघटना हो ।

नेपालमा संघीय निर्वाचनको लागि मिति पनि तोकिएको छ । नेपाल सरकारले २०७९ मंसिर ४ गते संघीय एवं प्रदेशसभाको निर्वाचन गर्ने भनेर दिन यकिन गरेसँगै नेपाली राजनीतिक वृत्तमा अबको प्रधानमन्त्री को बन्ला ? भनेर बहस छेडिएको छ । हुन त राजनीति हल्लाको भरमा चल्ने कुरो पनि होइन तर पनि हल्लाले धेरै कुरो बोलेको हुन्छ । नेपाली कांग्रेस, एनेकपा माओवादी केन्द्र र नेकपा समाजवादी सहितका अन्य साना दलहरूको गठबन्धनले गर्दा पनि गठबन्धनका लागि विजय प्राप्ति असहज भने देखिँदैन । कात्तिकको समयमा सूर्य र केतुको युतिले गर्दा गठबन्धनभित्रका नेताहरूबीचको खिचातानीले गर्दा अन्तरपार्टी वा इतरपार्टीहरूका बीचमा कलह, अविश्वास, धोका जस्ता विषय सिर्जित भई अहिले गरिएका भनिएका सम्झौताको कार्यान्वयन हुन नसक्ने उत्तिकै सम्भावना रहेका छन् ।

निर्वाचनको दिन २०७९ मंसिर ४ गतेको ग्रहगोचर हेर्दा देवगुरु बृहस्पति र न्यायद्रष्टा शनिश्चर आफ्नै घरमा बसेको कारणले गर्दा मतदातामा पूर्ववत् निर्वाचन झैँ मतदानको मनशाय रहने अवस्था देखिँदैन । परन्तु यिनै ग्रहका कारणले स्वतन्त्रहरू वा सुषुप्त पार्टीहरू जागरूक बन्ने उत्तिकै सम्भावना देखिन्छ । हुन त आजसम्म गरिएका निर्वाचनहरूमा पराजित उम्मेदवारहरूले धाँधली भयो निष्पक्षता भएन भनेर भनिरहेका हुन्छन् । कतिपय त अझै पुनःगणना र पुनःमतदानको मागसमेत राखिरहेका हुन्छन् । तर, यो मंसिर महिनाको ग्रहगोचर अनुसार सूर्य र मंगलको परस्पर दृष्टिले गर्दा निर्वाचनका प्रक्रियालाई लिएर निष्पक्षता भएन भन्ने धेरै आवाज आउनसक्ने प्रबल सम्भावना देखिन्छ ।

निर्वाचनको दिन २०७९ मंसिर ४ गतेको ग्रहगोचर हेर्दा देवगुरु बृहस्पति र न्यायद्रष्टा शनिश्चर आफ्नै घरमा बसेका कारणले गर्दा मतदातामा पूर्ववत् निर्वाचन झैँ मतदानको मनशाय रहने अवस्था देखिँदैन । परन्तु यिनै ग्रहको कारणले स्वतन्त्रहरू वा सुषुप्त पार्टीहरू जागरूक बन्ने उत्तिकै सम्भावना देखिन्छ ।

राजनीतिक दृष्टिले सम्भावना देखिए पनि ग्रहगोचर राम्रो भएन भने मानिसले हातमा पाएको पनि गुमाउँछ । प्रचण्डलगायत नेपाली नेताको जीवनमा समेत यस्ता अनेकौं संयोग देखापरेका छन् । प्रचण्डको कुण्डलीमा विसं २०७९ कात्तिक–मंसिरमा राज्यस्थानमा शुक्र र शनिश्चरको लाभदृष्टि परेको देखिन्छ । शुक्र र शनिश्चर दुवै राज्यलाभ गराउने ग्रह भएका कारण, दुवै ग्रहको शुभदृष्टि देखिनु र उनै ग्रहको दशाअन्तरमा आउनुले प्रचण्डमा राज्यनेतृत्वको प्रबल सम्भावना देखिन्छ । विचारणीय पक्ष के छ ? भने लग्नको मालिक चन्द्रमाको १२औं घरमा केतुसँगको युतिले गर्दा ग्रहण योग परेको हुँदा प्रचण्डको मानसिकतामा चञ्चलता र छिट्टै विश्वस्त हुने ग्रहप्रभावका कारणले गर्दा राज्यसञ्चालनमा अत्यन्त चनाखो हुन आवश्यक छ ।

प्रधानमन्त्रीमा चर्चा चलेका अन्य व्यक्तित्वहरूको विषयमा अधिक ज्योतिषीय अनुसन्धान गरे तापनि यहाँ कुनै चर्चा गर्न मनासिब लागेन । ज्योतिषीय विहंगम दृष्टिअनुसार वर्तमान समयमा नेपाली राजनीतिक पार्टीहरूले प्रधानमन्त्रीहरूमा चर्चा चलाएका चर्चित अनुहारहरूमध्ये प्रचण्डको कुण्डली सर्वाधिक प्रभावशाली देखिएको छ । नेपालको मंसिर महिनाको समय र प्रचण्डको कुण्डलीको ग्रहगोचर अध्ययनले निजमा आध्यात्मिक चिन्तन किञ्चित् बढेको खण्डमा प्रचण्डलाई अबको सफल प्रधानमन्त्रीको रूपमा नेपालले प्राप्त गर्नेछ । अन्यथा भएमा नेपालको अबको प्रधानमन्त्री नयाँ अनुहार आउनेछ । (ज्यो.पौडेल वास्तुविद् हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?