लहरो तान्दा पहरो गर्जिने भयो

हिमालय टाइम्स
Read Time = 7 mins

पेचिलो राजनीति त सबैतिर नै भइरहेकै छ । राजनीति आफैँमा मूल प्रवाह भई नै गयो । यो क्षेत्र सबैभन्दा बढी धमिलिएकै छ तर हाल राजनीतिको सेपिलो छायाँमा राष्ट्रका सबै क्षेत्र लपेटिएका छन् । कर्मचारीतन्त्र होस् वा अर्धसरकारी निकायहरू पक्ष-विपक्ष बनेर एक-एक समूहको पक्षमा झुण्डिएकै हुन्छन् । न्यायपालिका सरकारकै समानान्तर एउटा अंग हो । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको मर्यादाक्रम पनि प्रधानमन्त्रीपछिको उच्च रहन्छ । न्यायपालिका स्वतन्त्र रहन्छ/रहनुपर्दछ भनिन्छ तर केही पहिले नेपालको न्यायपालिका लाजमर्दो गरी संसारसामु नै विवादको घेरामा तानिन पुग्यो । यसबाट आफ्नो नासो जोरीको हाँसो भनेजस्तो भयो ।

दोष कसको र दोषी को-को हुन् भन्नेतिर नजाऊँ त्यो सम्बन्धित निकायले क्रमिक रूपमा प्रमाणित गर्दै जाला तर जो दोषी होस् र जसको दोष होस् त्यसबाट हाम्रो सक्कली रूप उदांगिन भने पुगेकै छ । सेटिङमा जसले काम गरे र जहिल्यै पनि सेटिङमै काम भयो तर यसको चरम अभ्यास भने तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा भएको रहेछ भन्ने कुरा पछिल्लो समयका गतिविधिबाट पुष्टि भइरहेको छ । यसको परिणाम थुरिन गयो चोलेन्द्रशमशेरको महाभियोगमा । यहाँसम्म पुगेपछि यो प्रकरण मत्थर हुनुपर्ने थियो तर मत्थर हुनुको सट्टा झन्-झन् संग्रालिएर गएको छ । चोलेन्द्रशमशेर हाल बयान दिने क्रममा हुनुहुन्छ । उहाँबाट दिनदिनै फरक-फरक मानिसहरू लाञ्छित हुँदै गइरहेका छन् ।

उहाँको यो लाञ्छना वास्तविक होस् वा काल्पनिक तर यसबाट कोही अछुतो छैन र आफूलाई प्रतिशोध साँध्नमात्रै महाभियोग लगाइएको हो भन्ने किसिमले उहाँ अगाडि बढिरहनु भएको छ । यसबाट विभिन्न व्यक्ति विवादमा तानिँदै आएका छन् । विभिन्न क्षेत्रका मानिसमाथि उहाँले दोषारोपण गर्दै जानुभएपछि अहिले केही मानिस आफ्नो फेस सेभिङको अवस्थामा पुगेका छन् । चोलेन्द्रशमशेरलाई महाभियोग लगाएर तानिएको लहरो हाल पहराको गर्जनमा पुगेको छ । यसबाट प्रभावित हुनेहरूमा राजनीतिज्ञ, कानुन व्यवसायीहरू र उहाँका समकर्मी न्यायमूर्तिहरू समेत रहनुभएको छ ।

कानुन व्यवसायीहरूले बहस गरिरहेका मुद्दा सेटिङमा नपरेका र आफ्नो पक्षलाई जिताउन नपाउने अवस्था सिर्जना भएका कारण त्यसबेला आफ्नो विरोध गरेको हो भन्ने लक्ष्यार्थ हालको जबराको बयानले देखाइरहेको छ । अर्कातिर आफ्नै सहकर्मी न्यायमूर्तिहरूको बहिष्कारमा समेत यस्तै अन्तर्निहित स्वार्थ रहेको थियो भन्ने उहाँको तर्क छ । केही दिन बेञ्च बहिष्कार गरेर पुनः न्याय सम्पादनमा फर्किएका न्यायाधीशहरूमा पनि यस्तै, आपूm प्रधानन्यायाधीश वा वरिष्ठतम् न्यायाधीश बन्न पाइने अभिलासा लुकेको थियो भन्ने महाभियोगको सामना गरिरहनु भएको पूर्वप्रधानन्यायाधीश जबराले बताइरहनु भएको छ । जबराको बयान अवधिमा कोही बोल्न चाहिरहेका छैनन् ।

जतिसुकै राम्रा मानिसको विरोधी हुन्छन् र जतिसुकै खराब मानिसका समर्थक हुन्छन् । यो जहिलेसुकै देखिएकै कुरा हो । चोलेन्द्रशमशेर दोषी हुनुहुन्छ वा निर्दोष त्यसको पुष्टि यहाँ गर्न खोजिएको होइन तर उहाँको पक्षमा बेल्नेहरू पनि देखिएका छन् र विपषमा बोल्ने देखिएका छन् । बोलिरहेका पनि छन् । हिजो केही कानुन व्यवसायीहरूले उहाँलाई रुचाएका थिएनन्, उहाँको इजलासमा बहस गरेनन् । गोला प्रथाबाट पेसी तोक्न उहाँले स्वीकार गर्नुभयो भने तोकिएको न्यायाधीशका इजलासमा निश्चित मुद्दा बहसपैरवीका रूपमा तोकियो भन्ने संगीन आरोप उहाँले खेप्नुपरेको थियो । तर, केही कानुन व्यवसायीले आपूmले बहस गर्ने मुद्दा फलानो न्यायाधीशको इजलासमा पारिदिनु भनेर दबाब दिने गरेको कुरासमेत बाहिरिएको थियो । यही कारणले बार र बेञ्चबीच टकराव पैदा भएको थियो र बार आन्दोलित भएको थियो ।

हुन त यसका यस्ता यस्ता कारण थिए भन्ने तर्क जबराले गर्नुभएको छ । कसैलाई न्यायाधीश नबनाएको वा कसैले भनेको मान्छे न्यायाधीश नबनेका कारण बारले आफूविरुद्ध आन्दोलन गरेको हो भन्ने उहाँको तर्क छ । अहिलेको समितिले लिएको उहाँको बयान यस्तै कुरालाई खोतल्न र त्यसबाट निष्कर्ष निकाल्नकै लागि हो । तर, एउटा के कुरा निश्चित छ भने यसरी लहरो तान्ने काम जुन भएको छ त्यसबाट पहरो गर्जिने भने भएको छ र भइरहेको छ । यो प्रतिशोधपूर्ण नबनोस् र सुधारात्मक वा रचनात्मक दिशातर्फ उन्मुख हुनुपर्दछ । दण्डित हुनुपर्ने मानिस दण्डित हुनैपर्छ, पुरस्कृत हुनुपर्ने पुरस्कृत हुनैपर्छ । दण्डित हुनुपर्ने पुरस्कृत र पुरस्कृत हुनुपर्ने दण्डित हुनुहुँदैन । यसतर्फ सबैको ध्यान पुग्नैपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?