प्रोष्टेट शल्यक्रिया किन र कहिले ?

A A- A+

✍️ प्रा.डा. अर्जुनदेव भट्ट

विषय प्रारम्भ
मूत्ररोग विशेषज्ञहरूले सबैभन्दा बढी शल्यक्रिया संसारभरि नै प्रोष्टेट ग्रन्थिको गर्दछन् । प्रायः ४० वर्षपछिको उमेरमा प्रोष्टेट ग्रन्थिका कोषिकाहरूको अति वृद्धि हाइपरप्लेजिआ प्रक्रिया देखापर्ने भएकाले धेरै पुरुष आफ्नो जीवन मूत्र निष्कासनको समस्या भोगिरहेका हुन्छन् ।

प्रोष्टेट ग्रन्थि मूत्राशयको फेदमा रहेको करिब २० ग्राम जतिको झण्डै ओखरजत्रो र त्यस्तै आकारको पुरुष प्रजनन् प्रणालीको एउटा अति महत्वपूर्ण अंग हो । यसले मूत्रनलीको सुरुको भागलाई चारैतिरबाट घेरेर राखेको हुन्छ । ओखरको बाहिरको कडा बोक्राजस्तै यसको पनि नतन्कने खोल हुन्छ । त्यसैले यो अंगको कोषिकाहरूको अति वृद्धि सुरु भएपछि यसले मूत्रनलीबीचको प्वाललाई साँघुरो पार्दै जान्छ । मूत्रनलीको तलतिर रहेका ग्रन्थिहरूको वृद्धि हुँदाखेरी छेउतिर फैलन नसक्ने भएकाले मूत्रनलीकै प्वाललाई ढाक्दै ल्याउने हुन्छ । यद्यपि सधैं प्रोष्टेट ग्रन्थिको तौल र मूत्र अवरोधको सोझो सम्बन्ध हुँदैन तर पनि ठूलो ग्रन्थिले पिसाबमा बाधा पार्ने सम्भावना प्रशस्त हुन्छ ।

मूत्रनलीको तलतिर रहेका ग्रन्थिहरूको वृद्धि हुँदाखेरी छेउतिर फैलन नसक्ने भएकाले मूत्रनलीकै प्वाललाई ढाक्दै ल्याउने हुन्छ । यद्यपि सधैं प्रोष्टेट ग्रन्थिको तौल र मूत्र अवरोधको सोझो सम्बन्ध हुँदैन तर पनि ठूलो ग्रन्थिले पिसाबमा बाधा पार्ने सम्भावना प्रशस्त हुन्छ ।

पिसाब सञ्चालनमा परेको बाधाले मूत्रको वेगमा कमी ल्याउने, पिसाबको धारा मसिनो पार्ने, पूरा पिसाब एकैपल्टमा निख्रन नदिने, छिटो–छिटो पिसाब फेरिराख्नुपर्ने, सुतेपछि पिसाब फेर्न उठ्नुपर्नेजस्ता लक्षणहरू हुने गर्दछन् । यस्ता लक्षण देखापर्ने सिलसिलामा मूत्राशय तथा मूत्रनलीका नशाहरूमा असर भई पिसाब लागेपछि रोक्नै नसकिने, कहिलेकाहीँ पिसाब चुहिने, छिटो-छिटो पिसाब हुने, पिसाबनली पोलेको अनुभूति हुने इत्यादि उत्तेजनात्मक लक्षण पनि देखापर्दछन् । पिसाबमा देखापरेका यस्ता लक्षणबाट मुक्ति पाउन अपनाइएका उपाय तथा औषधि उपचारबाट आशा गरेअनुरूप परिणाम नआए पुरुषलाई प्रोष्टेट ग्रन्थिको शल्यक्रिया गराउनुपर्ने हुन्छ ।

शल्य उपचार गराउनुपर्ने अवस्था

  • निम्नानुसारका अवस्था आएमा शल्य उपचार गराउनुपर्ने हुन्छ-
  • पूर्ण पिसाब रोकिए,
  • पिसाब भएका बेलामा पनि थैलीमा थ्रुपै बाँकी रहेर सुतेको बेलामा चुहिने भए,
  •  मूत्राशय, मूत्रवाहिनी नली र मिर्गाैला फुलेर पिसाबबाट विषालु पदार्थ पूरा निस्कन नसके,
  •  बार-बार मूत्र संक्रमण भइरहे,
  • मूत्र रक्तस्राव भए,
  • मूत्राशयमा पत्थरी जमे,
  • औषधि उपचारबाट सन्तोष हुनेगरी मूत्र सञ्चारमा फाइदा नभए ।

शल्यक्रियाको तयारी
शल्यक्रिया सुरक्षित राख्न चाहिने सबै परीक्षण गर्नु अनिवार्य हुन्छ । यस रोगमा मुख्यतया फोक्सो, मुटु, मिर्गाैला, स्नायु तथा पाचन प्रणालीको परीक्षण गरिन्छ । पिसाब र रगत जाँच, छातीको एक्स-रे, इसिजी, युएसजीजस्ता परीक्षण प्रायः अनिवार्य हुन्छन् । साथै बिरामीका अरू रोगहरू के-के छन् र कुन उपचारका लागि के औषधि खाइरहेको छ ? त्यसको निरन्तर सोधपुछ गरिन्छ । पछिल्ला वर्षहरूमा रगत पातलो पार्ने औषधिहरूको प्रयोग थ्रुपै बिरामीबाट हुने भएकाले त्यसको विवरण लिनुपर्दछ । मुटु विशेषज्ञको निगरानीमा यस्ता औषधि केही समय बन्द गर्नुपर्ने हुन सक्छ ।

बिरामीले शल्यक्रियाको ६ घण्टाअगाडिदेखि खाना र पानी पिउन पनि बन्द गर्नुपर्दछ । उच्च रक्तचाप तथा थाइरोइडको औषधि भने एक चम्चा पानीसँग निल्न मिल्छ ।

प्रोष्टेट शल्यक्रिया मूत्र सञ्चालन सुचारु राख्ने एउटा उत्तम विधि हो । तर, शल्यक्रिया सुरक्षित राख्न चाहिने सबै परीक्षण गर्नु अनिवार्य हुन्छ । यद्यपि शल्यक्रियाका बेफाइदाभन्दा फाइदा अत्यधिक छन् ।

शल्य उपचार
यो उपचारविधि परम्परागत तरिकाले चिरेर वा आधुनिक औजारहरूको सहयोगले बिनाकुनै बाहिरी घाउ गर्न मिल्छ । जुनसुकै तरिका अपनाए पनि मुख्य उद्देश्य मूत्रनलीको अवरोध हटाउनु हो । हाल परम्परागत तरिकाबाट शल्यक्रिया प्रायः गरिँदैन । आधुनिक औजार मूत्रनलीबाट मूत्राशयमा पठाएर विभिन्न ऊर्जाको सहयोगले प्रोष्टेट ग्रन्थिको बढेको भागलाई सानो-सानो टुक्रा गरेर बाहिर निकालिन्छ । यसरी निकालिएका तन्तुको सूक्ष्म जाँच गरेर प्रोष्टेट क्यान्सर भए, नभएको टुंगो लगाइन्छ ।

शल्यक्रिया समाप्त भएपछि मूत्राशयमा प्रायः ४८ घण्टाका निम्ति क्याथेटर (रबरको नली) लगाइन्छ । पिसाब सफा भएपछि नली निकालेर बिरामीलाई घर पठाइन्छ । दिसा कडा नराख्न, गह्रुंगो कुरा नउठाउन, तरल पदार्थको सेवन उचितमात्रामा गर्न र ६ हप्तासम्म यौन सम्बन्ध नराख्न सल्लाह दिइन्छ ।

शल्यक्रियाबाट हुनसक्ने जटिलता
१५ प्रतिशत बिरामी अप्रेसनको केही महिनासम्म पिसाब रोक्न गाह्रो अनुभव गर्ने र छिन-छिनमा पिसाब फेर्ने गर्दछन् । ६ प्रतिशत बिरामीमा मूत्र रक्तस्राव हुने गर्दछ । त्यस्तो भए आराम गर्ने र तरल पदार्थको मात्रा बढाउनुपर्छ । त्यति गर्दा पनि रातो पिसाब भइरहे चिकित्सकको सल्लाह लिनुपर्दछ । करिब ७ प्रतिशत बिरामीको मूत्रनली वा मूत्राशयको घाँटी साँघुरिएर त्यसको उपचार गराउनुपर्ने हुन्छ भने ६५ प्रतिशत बिरामीमा यौन सम्बन्धपछि वीर्य स्खलन उल्टो हुन्छ अर्थात् बाहिर नभएर मूत्राशयभित्र हुन्छ ।

धेरै बिरामीहरूको चिन्ता प्रोष्टेट ग्रन्थिको शल्य उपचार फेरि-फेरि गरिराख्नुपर्ने हुन्छ कि भन्ने हुन्छ । ८५ प्रतिशत बिरामीलाई जीवनभर यो शल्यक्रिया दोहोर्‍याउनुपर्दैन भने १० प्रतिशत बिरामीमा १५ वर्षभित्र फेरि अप्रेसन गर्नुपर्ने हुनसक्छ र पाँच प्रतिशत बिरामीमा पाँच वर्षभित्रै पुनः शल्य उपचार गर्नुपर्दछ ।

प्रोष्टेट शल्य उपचारको एउटा अर्को फाइदा यदि कुनै बिरामीमा प्रोष्टेट क्यान्सर लुकेर रहेको अवस्थामा थियो भने त्यो समयमै थाहा हुन्छ । प्रोष्टेट शल्यक्रियाले ग्रन्थिको क्यान्सर गराउने वा त्यसबाट कसैलाई विमुक्ति प्रदान गर्न भने सक्दैन ।

निचोड
प्रोष्टेट शल्यक्रिया मूत्र सञ्चालन सुचारु राख्ने एउटा उत्तम विधि हो । तर, शल्यक्रिया सुरक्षित राख्न चाहिने सबै परीक्षण गर्नु अनिवार्य हुन्छ । यद्यपि शल्यक्रियाका बेफाइदाभन्दा फाइदा अत्यधिक छन् । (वरिष्ठ युरोलोजिस्ट भट्टको बहुउपयोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?