बलिउड अभिनेत्री तबस्सुमको निधन

Read Time = 3 mins

मुम्बई । बलिउडकी प्रख्यात अभिनेत्री तबस्सुम गोविलको शुक्रबार राती ७८ वर्षको उमेरमा निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको जानकारी छोरा होशांग गोविलले दिनुभएको हो । शुक्रवार राती पौने ९ बजे आसपास उहाँलाई दुईपटक हृदयघात भएको थियो । तर, उहाँले अन्तिम संस्कारपछि मात्रै आफ्नो निधनको खबर सार्वजनिक गर्न भन्नुभएको थियो । अन्तिम संस्कारपछि शनिबार उहाँको निधनको जानकारी परिवारले सार्वजनिक गरेका हुन् ।

उहाँले सन् १९४७ मा बालकलाकारका रूपमा आफ्नो करिअर थाल्नुभएको थियो । तीन वर्षको उमेरमा पहिलोपटक स्क्रिनमा देखिनुभएकी उहाँले चलचित्र ‘दिदार’ मा नरगिसको बालककालको भूमिका निभाएर दर्शकको मन जित्नुभएको थियो । उहाँको टक शो ‘फूल खिले हैं गुलशन गुलशन’ सन् १९७२ र १९९३ बीचमा भारतमा प्रसिद्ध भएको थियो ।

दूरदर्शनमा २१ वर्षसम्म चलेको टक शो ‘फूल खिले हैं गुलशन गुलशन’ मा उहाँले कैयौँ ठूला हस्तीसँग अन्तर्वार्ता गर्नुभयो । पछिल्ला केही वर्षयता उहाँ युट्युबमा ‘तबस्सुम टकिज’ नामको एक कार्यक्रम चलाउनुहुन्थ्यो ।

उहाँ हृदयघात हुनुअघिसम्म पूर्ण स्वस्थ हुनुहुन्थ्यो । उहाँलाई ग्यास्ट्रिकको समस्या भने थियो । त्यही कारण उहाँलाई अस्पताल लगिएको थियो । अस्पतालबाट डिस्चार्ज भएर उहाँ घर जानुभएको थियो । तर, अचानक शुक्रबार स्वास्थ्य बिग्रिएर उहाँलाई दुई मिनेटभित्र दुईपटक हृदयघात भएको थियो ।

उहाँले १० दिनअघि एक भिडिओ पनि सुटिङ गर्नुभएको थियो । अर्को भिडिओ पनि सुटिङ गर्ने तयारीमा हुनुहुन्थ्यो । तबस्सुमको बिहे रामायणमा रामको भूमिका निभाउने अरुण गोविलका भाइ विजय गोविलसँग भएको थियो । उहाँहरूका एक छोरा होशांग हुनुहुन्छ । होशांग पनि कलाकार नै हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?