रोनाल्डोमा सबैको नजर

Read Time = 2 mins

दोहा । कतार विश्वकप २०२२ मा बिहीबार राती पौने १० बजे घानाको सामना गर्न पोर्चुगल मैदान उत्रिँदा सबैको नजर अन्तिम विश्वकप खेलिरहनुभएका क्रिस्टियानो रोनाल्डोमाथि हुनेछ । विश्व फुटबलका यी स्टारले बुधबारमात्रै म्यानचेस्टर युनाइटेडसँगको आफ्नो सम्झौता भंग गर्नुभएको छ ।

पाँचपटक विश्वको सर्वोत्कृष्ट खेलाडी बन्दै बालोन डी ओरको उपाधि जित्नुभएका रोनाल्डो यसपटक पोर्चुगललाई उपाधि दिलाउन चाहनुहुन्छ । सोही कारण विश्वकपअघिको पत्रकार सम्मेलनमा पनि उहाँले आफ्ना काण्डभन्दा पनि फुटबलमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

हालसम्म पोर्चुगल दुईपल्टमात्रै विश्वकपको सेमिफाइनलमा पुग्न सकेको छ । १९६६ पछि २००६ मा पोर्चुगल अन्तिम चारमा पुगेको थियो । त्यसपछि भने अन्तिम १६ बाटै विश्वकपमा पोर्चुगल घर फर्किरहेको छ । यसपल्ट भने आफ्नो पनि अन्तिम विश्वकप भएकाले रोनाल्डोले शतप्रतिशत प्रयास गर्नुहुनेछ ।

सन् २०१८ को विश्कपमा छनोट हुन असफल घानाले पोर्चुगललाई कम चुनौती दिने छैन । पछिल्ला ६ खेलमा तीनमा जित र एकमा बराबरीको नतिजा निकालेको घाना लयमा छ । २०१४ को विश्वकपमा अन्तिम पटक यी दुई टोली आमनेसामने भएका थिए । त्यसबेला पोर्चुगलले दुई–एकले खेल जित्दा रोनाल्डोले एक गोल गर्नुभएको थियो ।

विश्वकपअघिको वार्मअप खेलमा रोनाल्डोबिनै पोर्चुगलले नाइजेरियामाथि जित हात पारेको थियो । त्यसबेला रोनाल्डो घाइते भनिए पनि बिहीबारको खेलका लागि भने फिट रहेको टोलीले जनाएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?