दलका बैठकमा चुनावी समीक्षा माग

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । राजनीतिक दलहरूमा चुनावी समीक्षाबारे कुरा उठ्न थालेको छ । चुनावमा प्राप्त परिणामबारे दलका बैठकमा कुरा उठ्न थालेको हो । समानुपातिक सांसद छनोट गर्न बसेका प्रमुख दलका बैठकमा चुनावी समीक्षाबारे पनि कुरा उठेको हो । समानुपातिक सांसद छनोट गर्न शनिबार बसेका विभिन्न दलका बैठकमा निर्वाचन परिणामबारे पनि कुरा उठेको छ । दलका बैठकमा चुनावी समीक्षा बैठक राख्नुपर्ने आवाजसमेत उठेका छन् । शनिबार प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलका बैठक बसेका थिए । समानुपातिक सांसद छनोट गर्न बसेका बैठकमा चुनावी समीक्षाबारे पनि कुरा उठेको हो । बैठकमा चुनावमा अपेक्षित नतिजा नआउनुका कारणबारे पनि चर्चा भएको छ । यसबारे विस्तृत समीक्षा गर्न नेताहरूले माग गरेका छन् ।

कांग्रेसमा चुनावी समीक्षा बैठक माग, निर्वाचनमा अन्तर्घात भयो
नेपाली कांग्रेसका नेताहरूले चुनावी समीक्षा बैठकको माग गरेका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकमा केही नेताहरूले चुनावी समीक्षा बैठक माग गरेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार मंसिर ४ गते भएको निर्वाचनमा कतिपय क्षेत्रमा अन्तर्घात भएको भन्दै केही नेताले समीक्षा बैठक माग गरेका हुन् । कतिपय पार्टी पदाधिकारीले समेत समीक्षा बैठक बोलाउनुपर्ने माग गरेको ती नेताले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूले निर्वाचन नतिजाको छिट्टै समीक्षा गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा निर्वाचनमा अन्तर्घात भएको भन्दै त्यसमा संलग्नलाई अनुशासनको कारबाही गर्नुपर्ने विषयसमेत उठेको थियो ।
जवाफमा सभापति शेरबहादुर देउवाले शनिबारको बैठक समानुपातिक तर्फका सांसदको नामावली टुंगो लगाउन बोलाइएकाले त्यसमै केन्द्रित हुनुपर्ने बताउनुभएको थियो । निर्वाचनबारे समीक्षा गर्न अर्को बैठक राख्न सकिने देउवाको भनाइ थियो ।

घनश्याम भुसाल र प्रभु साह सहितका नेताहरू एमालेबाट निष्कासित
नेकपा (एमाले)ले घनश्याम भुसाल, प्रभु साह सहितका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेको भन्दै नेताद्वय भुसाल र साह सहितका नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

भुसालले पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट सत्ता गठबन्धनको समर्थनमा रुपन्देहीबाट तथा साह रौतहटमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । तर, भुसाल पराजित हुनुभयो भने साह निर्वाचित हुनुभएको छ । बैठकले केन्द्रीय सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि कारबाही गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेले चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टीविरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिक तर्फको सूचीबाटसमेत हटाइएको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?