तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

यज्ञराज पाण्डे
Read Time = 3 mins

काठमाडौं । अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । नाबालिका बलात्कारको आरोप लागेका पल शाहलाई मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा दुई वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् । गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरुद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । नाबालिग गायिकाले झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनको परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । जिल्ला अदालत तनहुँले अभियोगमा दाबी नपुग्ने भनेको छ । यसको अर्थ बलात्कारको मुद्दाबाट सफाइ दिएको भन्ने हो ।

तनहुँबाट सफाइ पाए पनि उनी तत्काल थुनामुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले सुनाएको साढे दुई वर्ष कैद सजाय काटेपछि मात्रै उनी जेलमुक्त हुनेछन् । शाह करिब १० महिनायता थुनामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?