मोहन निरौलाको नेतृत्वमा कलाकार संघ

Read Time = 5 mins

काठमाडौं । कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न १९औं साधारणसभामा उहाँ कूल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गर्नुभयो ।

संघ स्थापना हुँदा नै सदस्यमा रहनुभएका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहनुभएको थियो । ‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व संघप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु,’ निरौलाले भन्नुभयो, ‘मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेशागत सुरक्षाका लागि बढी काम गर्नेछु ।’
वरिष्ठ कलाकार निरौलाले संघको भवन तथा कार्यालय व्यवस्थापन, सामाजिक सुरक्षा, कलाकारको वृत्तिविकासलाई मुख्य एजेण्डा बनाउनुभएको थियो । कलाकार संघमा अध्यक्ष पदको मुख्य उद्देश्य कलाकारको मानसम्मान र हकहितको विषयमा काम गर्नु रहेको उहाँको भनाइ छ ।

कलाकारहरूलाई आफ्नो पेशाप्रति इमानदार र नैतिकवान् बनाउन पहल गर्ने, चलचित्र कलाकार संघलाई चलचित्र क्षेत्रकै संस्थाहरूमध्ये हरेक कोणबाट उत्कृष्ट संस्था बनाउन पहल गर्ने, कलाकारहरूलाई पेशागत सुरक्षाको प्रत्याभूति दिलाउने, संघले प्रदान गर्ने पुरस्कार तथा सम्मानलाई थप पारदर्शी तथा व्यवस्थित बनाउने, हाम्रालाई होइन राम्रालाई पुरस्कृत र सम्मानित गर्ने, कलाकारको वृत्तिविकास र भविष्य सुनिश्चितताको बाटोमा कटिबद्ध भई काम गर्ने, सामाजिक प्रतिष्ठा अभिवृद्धि गराउनुका साथै अभिनयका प्रशिक्षण तथा अन्तक्र्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, चलचित्र क्षेत्रका अन्य सरोकारवाला संघसंस्था, चलचित्र विकास बोर्डलगायत सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गरी पेशागत सुरक्षा र हकहितका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्दै जाने, चलचित्र विकास बोर्ड र सेन्सर बोर्डजस्ता सरकारी निकायमा कलाकारहरूको उपस्थिति बढाउनेलगायत आफ्ना एजेण्डा निरौलाले निर्वाचनमा सार्वजनिक गर्नुभएको थियो ।

उपाध्यक्षमा कविता गेलालले १५१ मत र शिवहरि नेपाल ‘वैरागी’ले १४० मत तथा महासचिवमा सविन श्रेष्ठले ११२ मत प्राप्त गरेर विजयी हुनुभयो । यस्तै, सचिवमा रामेश्वर बुर्लाकोटीले २२३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २६० मत प्राप्त गर्नुभयो भने सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित हुनुभएको थियो । सदस्यमा शीतल केसी सर्वाधिक ३०२ मत ल्याएर विजयी हुनुभयो ।

अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्धवप्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) मत प्राप्त गरेर विजयी हुनुभयो । झण्डै ७०० सदस्य रहेको संघको निर्वाचनमा ४६८ मतमात्र खसेको थियो ।

नवनिर्वाचित अध्यक्ष निरौला यसअघि कलाकार संघको उपाध्यक्ष तथा प्रवक्ता हुनुहुन्थ्यो । २०४० सालमा ‘आर्दश नारी’बाट अभिनय यात्रा सुरु गर्नुभएका उहाँले ‘बेहुली’, ‘तिरहरी’, ‘स्वर्ग’, ‘नाता’, ‘आर्शिवाद’, ‘जन्म मत्यु’, ‘अजम्बरी नाता’, ‘रावण’, ‘अलबिदा’लगायत सयभन्दा बढी सिनेमामा अभिनय गर्नुभएको छ । कुनै समय नाटकमा पनि सक्रिय उहाँले ‘सम्पति’, ‘पुकार’, ‘जन्मभूमि’जस्ता चलचित्रको निर्देशन पनि गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?