सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ मा विश्वासको मत लिने

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । मंगलबार एमाले र राप्रपा बाहेकका चार दल र स्वतन्त्र सांसदको धनगढीमा भएको छलफलपछि यस्तो तयारी सुरु भएको हो । मुख्यमन्त्री शाहको सचिवालयका अनुसार कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने वचन दिएका छन् । यसै साता काठमाडौं पुगेर मुख्यमन्त्री शाहले विश्वासको मत दिने विषयमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूलाई भेट्नुभएको थियो ।

यसअघि, एमालेका राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्तिले कांग्रेसलाई भने समर्थन गर्ने बताएको छ । सत्ता साझेदार दलले कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा केन्द्रका नेताले छलफल गरेर टुंगो लगाउने नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद लक्ष्मण किशोर चौधरीले बताउनुभयो ।

मुख्यमन्त्री शाहले अहिलेकै माहोल भए कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र सांसद गरी ४१ जनाको समर्थन पाउनुहुनेछ । जुन प्रदेशसभा सदस्य संख्या ५३ को दुईतिहाइ बढी हुन्छ । विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने शाहको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?