फेरि बढ्दै कोरोना संक्रमण

नयाँ भेरियन्ट बढी संक्रामक, आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकको भनाइ

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । नेपाल कोरोना भाइरस संक्रमणका बिरामीको संख्या फेरि उकालो लाग्दैछ । एक सातायता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । पछिल्लो एक सातामा ४५० जनामा कोरोना संक्रमण देखिएको छ । चैत १५ मा ३४ जना, चैत १६ मा ४२ जना, चैत १७ मा १४२ जना, चैत १८ मा ३८ जना, चैत १९ मा ३८ जना, चैत २० मा ७६ जनामा संक्रमण देखिएको हो । यस्तै मंगलबार ८० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै देशभर अहिले सकृय संक्रमितको संख्या २७९ रहेको छ । पछिल्लो २४ घण्टामा १११७ जनामा गरिएको नमुना परिक्षणमा ८० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितको संख्या बढ्दै गए पनि पछिल्लो समय मृतकको संख्या भने शून्य रहेको छ ।

अहिले देखिएको संक्रमण कोरोना भाइरसको नयाँ भेरियन्ट रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबिबी १.१६’ नेपालमा पुष्टि भएको हो । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमुनाको सिक्वेन्सिङ गर्दा १० वटा नमुनामा ‘एक्सबिबी १.१६’ भेरियन्ट देखिएको हो । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले ओमिक्रोनका नौ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लोपटक भेटिएको ‘एक्सबिबी.१.१६’ सबैभन्दा धेरै छ । भारतमा पनि नयाँ भेरियन्ट फैलिरहेको हुँदा सीमा क्षेत्रमा कोरोना परीक्षण, मास्क अनिवार्य जस्ता व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड-१९ को संक्रमण पनि बढ्दै गएकाले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील हुन आग्रह गरेको छ । विज्ञहरूका अनुसार ‘एक्सबिबी.१.१६’ भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये बढी संक्रामक रहेको छ । भारतकै तथ्यांक हेर्दा पनि सो कुरा पुष्टि हुन्छ । सोमबार मात्र भारतमा पाँच महिनायताकै धेरै अर्थात् झण्डै चार हजार जनामा संक्रमण देखिएको छ । राजधानी नयाँदिल्ली, मुम्बईसहित दक्षिणी भारतीय सहरहरूमा अहिले संक्रमण तीव्र भइरहेको छ । छिमेकी मुलुकमा कोरोनाको संक्रामक भेरियन्ट तीव्र गतिमा फैलिनु नेपालका लागि चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन् ।

नयाँ भेरियन्ट जोखिम छैन, तर हेलचेक्र्याइँ गर्नुहुन्न : डा. पुन
चिकित्सक भने नयाँ भेरियन्ट देखिँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । तर, सतर्क रहन र स्वास्थ्य मापदण्ड पालना गर्न उनीहरूले सुझाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग डा. शेरबहादुर पुनका अनुसार कोरोना फैलिएका सुरुवाती दिन जस्तो अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन । उहाँ भन्नुहुन्छ, ‘पहिले खोप थिएन, खोप आएपछि लगाउने पनि कम थिए । तर, अहिले पूर्णमात्रा खोप लगाउने झण्डै ९५ प्रतिशत पुगिसकेकाले आत्तिहाल्नु पर्दैन ।’

अहिले मौसम परिवर्तन भएकाले रुघाखोकीका बिरामी पनि बढेका र रुघाखोकी र कोरोनाका बिरामीको लक्षण लगभग उस्तै देखिएकाले आफूलाई समस्या भएजस्तो लागेमा तुरुन्तै चिकित्सकको सल्लाह लिन डा. पुनले सुझाव दिनुभएको छ । अहिलको नयाँ भेटियन्टमा बिरामीमा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएको छ । उहाँका अनुसार नयाँ भेरियन्टको लक्षण सामान्यतः ज्वरोबाट सुरु हुन्छ ।

त्यसपछि जिउ दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने, मांशपेशी दुख्ने, आलस्य हुने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखिन सक्छन् । त्यसबाहेक कतिपयलाई पेट दुख्ने र पखला चल्नेजस्ता लक्षण देखिने हुँदा यस्ता लक्षण देखिनासाथ परीक्षण गराउनुपर्ने उहाँको सुझाव छ । उहाँले मास्क लगाउनेदेखि भौतिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्न जोड दिनुभएको छ । सरकारले पनि नयाँ भेरियन्टका कारण निम्तिने जोखिमलाई मध्यनजर गर्दै विमानस्थल र भारतसँग जोडिएका नाकाहरूमा निगरानी बढाउन उहाँले सुझाव दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड-१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो । सोअनुसार ‘ओमिक्रोन विए १.१’ दुईवटा, ‘ओमिक्रोन विए’ दुई, ‘ओमिक्रोन विए २.७६’ एउटा, ‘ओमिक्रोन विए ५’ दुईवटा भेरियन्ट फेला परेका छन् । ‘ओमिक्रोन विए ५.२’ दुई, ओमिक्रोन ‘एक्सबीबी.१.१६’ दश वटा, ‘ओमिक्रोन एक्सबिबी १.५’ तीन वटा, ‘ओमिक्रोन एक्सविवि २.६’ एउटा र ‘ओमिक्रोन एक्सबिएफ’ एउटा फेला परेका छन् ।’

विश्वभरको अवस्था हेर्दा कोरोनाका दुईवटा नयाँ भेरियन्ट ‘एक्सबिबी.१.१६’ र ‘एक्सबिबी.१.१५’ बढी सक्रिय छन् । यीमध्ये ‘एक्सबिबी.१.१५’ बढी अमेरिकामा देखिएको छ भने ‘एक्सबिबी.१.१६’ बढी भारतमा फैलिरहेको छ । यी दुईमध्ये भारतमा फैलिरहेको ‘एक्सबिबी.१.१६’ भेरियन्ट बढी संक्रामक छ । यी दुवै ‘एक्सबिबी.१.१६’ र ‘एक्सबिबी.१.१५’ भेरियन्ट सन् २०१९ मा दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरियन्टकै उपप्रजाति हो । नेपालमा गतवर्ष नै ओमिक्रोन भेरियन्ट देखिसकेको छ । यद्यपि, त्यसकै नयाँ उपप्रजातिको रूपमा विकसित भएका यी दुई भेरियन्टहरू अमिक्रोनभन्दा बढी संक्रामक रहेको भनिएको छ । जसले गर्दा संक्रमण बढ्नसक्ने विज्ञहरू बताउँछन् । ओमिक्रोनकै उपप्रजाति भएकाले अहिले देखिएका नयाँ भेरियन्ट अघिल्लो भेरियन्ट ‘डेल्टा’ जस्तो घातक नहुने देखिएको विज्ञहरू बताउँछन् । कोभिड–१९ महामारी विश्वभर अझ पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन ।

स्वास्थ्य मन्त्रालय भन्छ- संक्रमण देखिनेबित्तिकै छुट्टै बस्नू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो । ‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौँ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड-१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’

मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुन सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ । कोभिड-१९ महामारी अझ पनि पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न पनि अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?