फेरि कोरोनाकै सन्त्रास

हिमालय टाइम्स
Read Time = 7 mins

फेरि कोरोना संक्रमण बढ्दै गरेको समाचार प्रकाशन प्रसारण हुन थालेका छन् । यसले गर्दा जनमानसमा पुनः भयको वातावरण सिर्जना हुनपुगेको छ । हुन त विश्वमा विभिन्न कालखण्डमा कुनै न कुनै प्रकारका महामारी फैलि नै रहने गरेका थिए । ती विभिन्न नाममा फैलिएका महामारीको चपेटामा परेर लाखौं मानिसले ज्यान गुमाएका थिए । जीववैज्ञानिक चाल्र्स डार्बिनले भने जस्तै प्रकृतिले आफ्नो सन्तुलन आफैं मिलाउँछ । बढ्दो जनसंख्यालाई प्रकृतिले नै सन्तुलनमा ल्याउँछ । यही क्रममा यस्ता अनेकौं महामारी आएका होलान् भनेर मान्न सकिन्छ । प्राकृतिक प्रकोप, रोगका महामारी वा संक्रमण, अनेकौं खालका दुर्घटनाबाट विश्वमा दिनहुँ हजारौं मानिसको अकाल मृत्यु भइरहेको हुन्छ ।
संसारभरि कुनै न कुनै प्रकारले मानवीय क्षति भइरहन्छ । यसका बाबजुद संसारमा मानिसहरूको संख्या भने दिनप्रतिदिन बढिरहेको छ ।

मर्नेभन्दा जन्मिनेको संख्या बढी भएका कारण यस्तो भएको हो । तर, मानिसलाई अकाल मृत्यु हुनबाट जोगाउनु राष्ट्रको मात्र नभएर मानवीय धर्म र कर्तव्य हो । त्यसैले मानिसले यसतर्फ जोड दिइरहेको हुन्छ । प्रसंग हो, कोरानाको नयाँ भेरियन्ट । कोरोना हाम्रो समयको अहिलेसम्मको सबैभन्दा त्रासदीपूर्ण महामारी हो । यसको प्रकोप र प्रभाव हामीले देखे/भोगेका छौं । धेरैले यसकै कारणबाट प्रिय आफन्त गुमाएका छन् । हालका दिनहरूमा कोरानाको नयाँ भेरियन्टको संक्रमण बढिरहेको छ ।

विश्वलाई साढे तीन वर्षअगाडिदेखि हालका दिनसम्म कुनै न कुनै प्रकारले सन्त्रस्त पारिरहेको कोरोना यसबीच अनेकौं स्वरूपमा फैलिन पुग्यो । यससम्बन्धी विज्ञहरूले यी विभिन्न प्रकारका भेरियन्टलाई विभिन्न नाम दिएका छन् । कुन बढी जोखिमपूर्ण र कुन कम जोखिमको भनेर पनि तिनले छुट्याउने गरेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना महामरी त्यसको केही महिनाभित्र विश्वव्यापी बन्न पुगेको थियो । विश्वभरि त्यसको चपेटामा परेर लाखौं मानिसले ज्यान गुमाए । विश्वभरिकै विज्ञहरूको अथक प्रयासबाट यसको खोप बन्यो र खोप लगाएर मानिस सुरक्षित बन्न पुगे । तर, खरानीभित्रको आगो जसरी यो अहिलेसम्म रहिरहेको छ । यो संसारबाट निमिट्न्न भएको छैन ।

आफ्ना सम्पूर्ण कामलाई थाति राखेर सबैजना घरघरमै बसेर जीवन जोगाएका मानिसहरूले यसको संक्रमण न्यून भएपछि राहतको अनुभव गर्न पाएका थिए । काम नगरी खान पाइने कुरै भएन, खोप लगाइसकेपछि सुरक्षित भएको महसुस भएको थियो र मानिसहरू निर्धक्क भएर काममा फर्किएका थिए । अब फेरि कोरोनाको नयाँ भेरियन्ट फैलिएको र अस्पताल भर्ना भएका बिरामीहरूको संख्या धेरै भएका कारण सतर्कता अपनाउन चिकित्सकहरू तथा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले आग्रह गरेका छन् । यसबाट जनताले कोरोनाको संक्रमण बढ्दै गएको बुझ्नुपर्ने हुन्छ । सरकारले जनतालाई अनाहकमा त्रासमा राख्दैन ।

सरकारको निर्देशनलाई अवज्ञा नगरी जनताले पालना गर्नुपर्छ । त्यसले आक्रान्त पार्दा अप्ठ्यारो पर्ने हामी आफैंलाई हो । हिजोको लकडाउन, आइसोलेसन, क्वारेन्टाइन सम्झेर जनताले आपूm पनि सतर्क रहनुपर्छ । सरकारले वर्तमान अवस्थामा पहिले जसरी लकडाउन गर्दैन, त्यो सम्भावना छैन, जसल गर्दा जनस्तरको लापरबाही बढ्छ । अहिलेसम्मको अवस्थामा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् तर यसको मात्रा पुगेको छ कि छैन भन्ने कुरा विचारणीय छ । पूर्णमात्रामा खोप लगाउन बाँकी संख्या धेरै हुनसक्छ । भन्न त चिकित्सकहरूले यो नयाँ ‘एक्सबिबी १.१६’ नामको भेरियन्ट त्यति धेरै हानिकारक छैन भनेका छन् । तैपनि सतर्कता त आवश्यक हुन्छ ।

सावधानी नपनाएका कारण यसको संक्रमण व्यापक भयो भने भोलिका दिनमा पहिले जसरी लकडाउनको स्थिति भोग्नुपरेकाखण्डमा हाम्रो जीवनका चौतर्फी क्षेत्र प्रभावित बन्न पुग्छन् । सरकार र चिकित्सकहरूले दिएको सल्लाह र सुझावनुसार मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, खानपानमा सतर्कता अपनाउने, धेरै भीडभाड भएका ठाउँमा नजानेजस्ता सावधानी अपनाउने हो भने निश्चय कोरोनालगायत अरू संक्रमणबाट जोगिन सकिन्छ । कुनै कुरा जोखिमपूर्ण छैन भन्दैमा हेलचेक्र्याइँ गरियो भने नपत्याउने खोलाले पनि बगाउँछ भने झैँ त्यसले ठूलो संक्रमण पैदा गर्नसक्छ । यसका लागि सावधानी सबैभन्दा उक्तम विकल्प बन्न सक्ने भएकाले सबैले सावधानी अपनाउनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?