‘लो बिड’ निरुत्साहित गर्न मन्त्रीको आग्रह

Read Time = 3 mins

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले समयमै गुणस्तरीय निर्माण कार्य गरी ‘लो बिड’लाई निरुत्साहित गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री गुरुङले निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । निर्माण उद्योगसँग शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयले प्रत्यक्ष सरोकार राख्ने भएकाले दुवै मन्त्रालयको सहकार्यमा निर्माण उद्योगको विकासका लागि नीतिगत निर्णय गरिने जानकारी गराउनुभयो । निर्माण व्यवसायीको ठूलो भुक्तानी रोकिएकोतर्फ संकेत गर्दै उहाँले समस्या समाधानका लागि पहल गर्ने आश्वासनसमेत दिनुभयो ।

सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीलगायतका सरोकारवाललाई संलग्न गराइने मन्त्री गुरुङको भनाइ थियो । निर्माण व्यवसायीलाई क्षमताभन्दा बढी काम नलिन पनि उहाँले सुझाव दिनुभयो । महासंघ अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली पटक-पटक संशोधन भए पनि निर्माण व्यवसायीका समस्या समाधान हुन नसकेको बताउनुभयो । मूल्य समायोजन नहुँदा व्यवसायी मारमा परेको भन्दै उहाँले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

कोरोना, निर्वाचन, चाडपर्व, खानी तथा नदीजन्य सामग्री उत्खनन्मा लगाइएको रोक, भुक्तानी अभावका कारण व्यवसायीले समयमै काम गर्न नसकेको उहाँको भनाइ थियो । सम्पूर्ण आयोजनाको एकमुष्टरूपमा २०८१ असारसम्म म्याद थपका लागि पनि अध्यक्ष सिंहले माग गर्नुभएको थियो । सो अवसरमा महासंघ सल्लाहकार यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरि घिमिरेलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?