शैक्षिक सत्र सुरु हुनु अगावै अधिकांश विद्यालयमा पुगे पाठ्यपुस्तक, १५ वैशाखसम्म देशभर पुग्ने

नारायण भण्डारी
Read Time = 10 mins

काठमाडौं । समयमा पाठ्यपुस्तक नपुग्दा दुर्गम क्षेत्रका विद्यार्थीहरूले हरेक वर्ष ठूलो समस्या भोग्दै आइरहेका थिए । कतिपय ठाउँमा त शैक्षिक सत्र सकिँदासम्म पनि पाठ्यपुस्तक हात नपरेका खबरहरू प्रशारित हुन्थे । शिक्षा क्षेत्रको यस्तै बिडम्बनापूर्ण अवस्थालाई हल गर्न यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै प्रायः सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइएको छ । भौगोलिक विकटताको रूपमा हेरिएका हुम्ला, जुम्ला, बझाङ, बाजुरा, ताप्लेजुङ लगायतका जिल्लामा पाठ्यपुस्तक पुगेपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् ।

सरकारका अनुसार शैक्षिक सत्र अगावै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पु¥याइसकिएको छ । हाल शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना अभियान सुरु भइरहेको छ । यस वर्ष सरकारले ‘समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने नारासहित भर्ना अभियान चलाइरहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले उक्त आदर्श वाक्यका साथ शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेसँगै सामुदायिक विद्यालयदेखि संस्थागत विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिइरहेका छन् ।

जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको हो । सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको थियो । अनुगमनपश्चात् जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले अहिलेसम्म ५९ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिनुभयो । नयाँ शैक्षिक सत्र सुरु हुने समयसम्म सबै जिल्लाका सबै विद्यालयहरूमा पुस्तक उपलब्ध हुने झाको दाबी छ ।

५९ जिल्लामा पुस्तक पुगिसक्दा केन्द्रले कक्षा ६ देखि १० सम्मका एक करोड ५० लाख पाठ्यपुस्तकहरू छापिसकेको छ । झाका अनुसार चैत २४ देखि देशभर पाठ्यपुस्तक पु¥याउन सुरु गरिएको हो । बाँकी रहेका १८ जिल्लामा पनि केही दिनभित्र पुस्तक पुगिसक्ने उहाँले जानकारी गराउनुभयो । हिमाली तथा पहाडी भेगका दुर्गम क्षेत्रहरूमा ढुवानीमा केही दिन बढी लाग्ने उहाँले बताउनुभयो । यसपालि हुम्ला, जुम्ला, कालीकोट, मनाङ जिल्लामा समेत पुगिसकेको झाले बताउनुभयो ।

‘पुस्तक छपाइ गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरूमा पुस्तक पुर्‍याउन सफल भयौँ,’ उहाँले भन्नुभयो । यसवर्ष थप तीनवटा छपाइ मेसिन खरिद गरी प्रतिदिन ८० हजार छपाइ क्षमतालाई बढाएर प्रतिदिन दुई लाख ४० हजार पुस्तक छाप्न सक्ने क्षमतामा केन्द्र पुगेको छ । यसकारण पनि समयमै पुस्तक पु¥याउन सकिएको उहाँले बताउनुभयो ।

कागज खरिदमा समस्या नहुनु, स्थायी र ज्यालादारीका जनशक्ति थप गर्नु र चालु पुँजीको समस्या नभएकाले समयमै पुस्तक छपाइ गरी विद्यालयहरूमा पुस्तक पुर्‍याउन सकिएको झाले बताउनुभयो । यस वर्षको पुस्तक छपाइका लागि केन्द्रले राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबाट गरी ८५ करोड ऋण लिएको थियो । झाका अनुसार पाठ्यपुस्तक बिक्री गरेर केन्द्रले ४० करोड ऋण तिरिसकेको छ । प्रधानमन्त्री कार्यालयबाट पनि सहयोग पाएपछि पुस्तक छपाइमा थप सहज भएको झाले बताउनुभयो । केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४, प्रादेशिक कार्यालय विराटनगरबाट पाँच लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट पाँच लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२० पुस्तक बिक्री गरेको छ । त्यस्तै, प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार पाँच हजार ६००, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट तीन लाख ५२ हजार २०० र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ । सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुुर्खेत, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलाली गरी १८ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक बिक्री वितरण हुन बाँकी रहेको केन्द्रले जनाएको छ । नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरूमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको प्रबन्धक झाले जानकारी दिनुभयो ।

वैशाखमै कसरी सम्भव भयो ?
गत माघ ३ गते शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भनेर आफैँ अभियानमा लागेको भएर पहिलो प्राथमिकता भनेको सिकाइ उपलब्धिलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्छु ।’ उहाँले तल्ला कक्षामा दरबन्दी समायोजन गर्नुपर्ने, विश्वविद्यालय सुधार गर्नुपर्ने, पाठ्यपुस्तक नपाउने समस्या निर्मूल पार्ने, शैक्षिक सत्र सुरु हुँदै पाठ्यपुस्तक हातमा पुर्‍याउने योजना सुनाउनुभएको थियो । उहाँको योजनासँगै मन्त्रालयले कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दियो । शैक्षिक सत्र २०८० का लागि देशभर कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्य सामग्री निजी क्षेत्रका मुलुक तथा वितरकबाट छपाइ गरी बिक्री-वितरण गर्ने निर्णय गर्‍यो । मन्त्रालयले यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजीलाई दिएको थियो । जनक शिक्षा सामग्री केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पिआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छापेसँगै देशभर एकैपटक पुस्तक पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?