बाजुरामा गएको भूकम्पबाट २३ घरमा क्षति

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 8 mins

बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर बिहीबार र शुक्रबार राति गएका दुईवटा भूकम्पका कारण जिल्लाको हिमाली गाउँपालिका-२ मा २३ वटा घरमा क्षति भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार मध्यरात बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो । मापन केन्द्रमा रेकर्ड भएअनुसार अघिल्लो भन्दा पछिल्लो भूकम्प शक्तिशाली रहेको थियो । जसअनुसार बिहीबार राति ११ः५८ बजे गएको भूकम्प ४.९ म्याग्निच्युडको थियो भने शुक्रबार राति १ः३० बजे गएको भूकम्प अघिल्लोभन्दा बढी शक्तिशाली थियो । पछिल्लो भूकम्प ५.९ म्याग्निच्युड रहेको रेकर्ड हुन पुगेको जनाइएको छ ।

जसका कारण बाजुराको हिमाली गाउँपालिका-२ का २३ वटा घरमा क्षति भएको हो । हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले मध्यरात गएका दुईवटा भूकम्पले गाउँपालिकाको वडा नम्बर-२ मा दजनौँ घरमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर-२ का वडा अध्यक्ष रणबहादुर बुढाले आफूलाई पठाएको विवरणअनुसार घरहरू क्षति हुनेमा वडा नम्बर-२ का धञ्जित बुढा, दन्तिर बुढा, जोबलाल बुढा, नौले बुढा, दीलबहादुर बुढा, सौरमल रोकाया, बासु रोकाया, सुरेन्द्र बुढा, दुबलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द बुुढा, जग्गी बोहरा, साइमल बोह, सुर्ज बोहरा, जस थापा भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, बाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का र गोल्लाल खड्काको गरी २३ वटा घरहरूमा पूर्ण क्षति भएको जनाइएको छ ।

भूकम्पले बाजुराका अन्य ठाउँमा भने के कति क्षति भयो भन्ने कुराको विवरण आफूसँग आइनपुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभएको छ । सो भूकम्पले क्षति गरे नगरेको कुनै जानकारी नआएको र यद्यपि, सो भूकम्पबाट हुनसक्ने क्षति र त्यसका विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन टोली परिचालन भने गरिएको उहाँले जानकारी दिनुभयो । दुईवटा भूकम्पपछि पनि बाजुरामा पुनः शुक्रबार बिहान ९ः३० बजे बाजुराकै काँडा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । जसका कारण ठूलो भूकम्पपछि निरन्तर यसका पराकम्पनहरू गइरहेका छन् ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर निरन्तर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिमका रूपमा लिने गरिन्छ । गत कात्तिक महिनामा सुदूरपश्चिमको डोटी जिल्लामा स्थानीय म्याग्निच्युड ६.६ को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

यस्तो छ पश्चिम नेपालमा भूकम्पको शृंखला
-२२ कात्तिक ५.७ म्याग्निच्युड (केन्द्रबिन्दु डोटी)
-२२ कात्तिक ४.१ म्याग्निच्युड (केन्द्रबिन्दु डोटी)
–२३ कात्तिक ६.६ म्याग्निच्युड (केन्द्रबिन्दु डोटी)
-२४ कात्तिक ४.१ म्याग्निच्युड (केन्द्रबिन्दु बाजुरा)
-कात्तिक २६ः ५.४ म्याग्निच्युड (केन्द्रबिन्दु बझाङ)
-२९ कात्तिक ४.२ म्याग्निच्युड (केन्द्रबिन्दु अछाम)
-७ पुस ४.१ म्याग्निच्युड (केन्द्रबिन्दु दार्चुला)
-८ पुस ४.६ म्याग्निच्युड (केन्द्रबिन्दु डोल्पा)
-१० माघ ५.९ म्याग्निच्युड (केन्द्रबिन्दु बाजुरा)
-१२ माघ ४.१ म्याग्निच्युड (केन्द्रबिन्दु बाजुरा)
-१४ वैशाख ४.९ म्याग्निच्युड (केन्द्रबिन्दु बाजुरा)
-१४ वैशाख ५.९ म्याग्निच्युड (केन्द्रबिन्दु बाजुरा)

बाजुरामा गत महिना गएको भूकम्पमा केही घरहरू पूर्णरूपमा भत्किएका र केहीमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको थियो । भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा एकको मृत्यु भएको थियो । स्थानीय म्याग्निच्युडमा ५.९ मापन गरिएको सो भूकम्पबाट सबैभन्दा बढी बाजुरा जिल्लाका गौमुल र हिमाली गाउँपालिका, खप्तड छेडेदह तथा बडिमालिका नगरपालिकामा जनधनको क्षति भएको थियो ।

नेपालमा किन गइरहन्छ भूकम्प ?
नेपालमा प्रत्येक दिन १०-१२ वटा भूकम्प गइरहन्छन् । तर, तीमध्ये निकै कम मात्र हामीले महसुस गर्छौँ । हामीले महसुस गरेका वा लोकल म्याग्निच्युड चारभन्दा माथिका भूकम्पको विवरण भूकम्प मापन केन्द्रले सार्वजनिक गर्छ ।

भारत र तिब्बतका बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ । भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेसिएन प्लेटमा जोतिइरहेको छ । भूगर्भशास्त्रीहरूले यसलाई ‘भारतीय उपमहाद्वीपलाई विस्तारै युरेसिएन महाद्वीपले निलिरहेको’ पनि भन्ने गरेका छन् । पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो । त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ ।

तीभन्दा कम शक्तिशाली भूकम्पले चाहिँ जमिनको सतहमा खासै ठूलो प्रभाव पार्दैनन् । तर, जमिनको भित्री भागमा ठूला भूकम्पका कारण खलबलिएको शक्तिलाई पुरानै अवस्थामा फर्काउन तिनको महत्वपूर्ण भूमिका हुने विज्ञहरू बताउँछन् ।

केही वर्षअघि गएको गोरखा भूकम्प ७.८ म्याग्निच्युडको थियो । भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे । उक्त भूकम्पको शृंखलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाडौंको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको विज्ञहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?