प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रभावहीन

११० दिनसम्म चल्दा एउटा पनि विधेयक भएन पारित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा एउटा पनि विधेयक पारित हुन सकेन । गत पुस २५ देखि वैशाख १६ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि विधेयक पारित नगरी बैठक अन्त्य भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार संसद् बैठकमा पेस भएका केही विधेयकलाई सम्बन्धित समितिमा पठाइएको तथा राष्ट्रियसभाबाट उत्पत्ति भई आएका विधेयकहरू माथि दफाबार छलफल भने सम्पन्न भएका छन् । तर, झण्डै चार महिनासम्म चलेको संसद्ले कुनै पनि विधेयक भने पारित गर्न सकेन ।

‘यस अवधिमा प्रतिनिधिसभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ,’ विधेयकसम्बन्धी पहिलो अधिवेशनले गरेको काम कारबाहीका बारेमा भनिएको छ ।

यसैगरी, राष्ट्रियसभाबाट उत्पत्ति भएर आएका विधेयक माथिको दफाबार छलफल भने पहिलो अधिवेशनमा सम्पन्न भएको छ । ‘राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, सुरक्षण मुद्रणसम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ भने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक माथि सभामा सैद्धान्तिक छलफल भैसकेको अवस्था छ,’ पहिलो अधिवेशनमा भएको काम कारबाहीको विवरण सार्वजनिक गर्दै सचिवालयले भनेको छ ।

कानुन बनाउने मुख्य जिम्मेवारी पाएको प्रतिनिधिसभा कानुन बनाउने कार्यमा असफल देखिएको हो । प्रतिनिधिसभाले ११० दिनमा आठ वटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । जबकि शुक्रबारै मात्र संसदीय समिति गठन भएका छन् । जसमध्ये तीनवटा कानुन मात्र यसपटक प्रतिनिधिसभामा पेस भएका थिए । बाँकी पाँचवटा विधेयक राष्ट्रियसभामा छलफल भई संशोधन भएर प्रतिनिधिसभामा आएका थिए । भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयक सैद्धान्तिक छलफल भएर समेत समितिमा गएको छैन ।

११० दिन चलेको संसद अधिवेशनको दौरान २८ वटा बैठक बसेका थिए । संसद्को पहिलो अधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईपटक विश्वासको मत लिनुभएको थियो । सभामुख, उपसभामुख चयनको काम यो अधिवेशनबाट भएको थियो । प्रतिनिधिसभाले आफ्नो नियमावली निर्माण गर्नेबाहेक कुनै पनि काम यो अधिवेशनले गर्न सकेन । सांसदहरूले पटकपटक सरकारलाई विभिन्न विषयमा प्रश्न राखे पनि सरकारका तर्फबाट जवाफ नदिएको भन्दै गुनासो गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?