तनहुँ एकको उपनिर्वाचन : कांग्रेसका सबै नेताहरूको पराजय

हिमालय टाइम्स
Read Time = 6 mins

तनहुँ । संघीय प्रतिनिधिसभाको एक स्थानका लागि गत १० गते सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसको पराजय किन र कसरी भयो ? यो प्रश्नको उत्तर खोज्ने, निर्वाचन परिणामको समीक्षा गर्ने काम कांग्रेसले गरेको छैन । नेपाली कांग्रेसको सुरक्षित गढ मानिएको र लोकतान्त्रिक आन्दोलनको ऊर्वर भूमि तनहुँबाट राजनीतिको शीर्ष तहमा पुग्नुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछिको रिक्त स्थानमा नेपाली कांग्रेसको पराजय हुन पुगेको छ ।

पहिलोपटक निर्वाचनमा प्रतिस्पर्धा गर्न गोर्खा, चितवन र काठमाडौं बसोवास भएका युवा विद्वान डा. स्वर्णिम वाग्लेबाट तनहुँकै माटोमा जन्मे, बढे, र संघर्ष गर्दै निष्कलंक छवि बनाएका गोविन्द भट्टराईको पराजयले देशभरि कांग्रेसको हैसियत र हविगतको पूर्वसंकेत दिएको धेरैको अनुमान छ । तनहुँमा भएको कांग्रेसी पराजय पुराना नेता गोविन्दराज जोशीलाई भित्तामा पुर्‍याउने र अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलको उत्थानको सिँढी निर्माणमा भएको प्रयास पहिलो कारण हुनसक्छ होला । तर, जोशी र पौडेलको वैयक्तिक विवादसँगै स्थानीय तहबाट राष्ट्रिय नेतृत्वमा पुगेका वा स्थानीय नेतृत्वमा रहेकाहरूको समेत स्वभाव, आचरण, व्यवहार र जनतासँगको सम्बन्धमा विच्छेद भएको परिणाम पनि उपनिर्वाचन पराजयको कारण रहेको देखिन्छ । यो उपनिर्वाचनमा तनहुँका कांग्रेस नेताहरू बसोवास गर्ने सबै वडाहरूमा कांग्रेस नराम्ररी पछारिएको छ । परिणामको आँकडाले यसलाई पुष्टि गर्दछ ।
नमुना फोटो हेर्नुहोला ।

कुन नेताको कुन वडामा बसोवास छ ?
नेपाली कांग्रेसका वरिष्ठ नेता हाल राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वमन्त्री अमरराज कैनी, पूर्वसांसद रामचन्द्र पोख्रेलको घर बसोवास रहेको व्यास नगरपालिका-२ मा कांग्रेसको मत जम्मा ५५० छ भने रास्वपाको मत १०७४ रहेको छ । स्वयम् उम्मेदवार भएका सशक्त युवा नेता गोविन्द भट्टराईको व्यास-११ मा कांग्रेसको मत १३११ छ भने रास्वपाको १४६३ छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, पूर्वसभापति रघुनाथ पौडेल र तारा श्रेष्ठको बसोवास व्यास-४ मा कांग्रेसको ४२४ र रास्वपाको ११५३ मत छ । केन्द्रीय तहमा अत्यन्त प्रभावशाली र स्पष्टबक्ता भनेर चिनिने सांसद शंकर भण्डारीको वडा भानु-९ मा कांग्रेसको मत ४५६ र रास्वपाको मत ८१४ छ । भानु-१३ मा बस्ने क्षेत्रीय सभापति श्याम मौराती र वडा ४ मा रहेका नेता लक्ष्मी आचार्यको परिणाम पनि उस्तै छ । कांग्रेसले क्रमशः ४६५ र ४८२ मत पाउँदा रास्वपाका पक्षमा क्रमशः ७८८ र ७५९ रहेको छ । भानु नपाका मेयर आनन्द त्रिपाठीको १ वडामा कांग्रेसको ३८९ छ भने रास्वपाको १०४४ । पार्टीका जिल्ला नेताहरू सहदेव अधिकारी भानु नपा ५ र अशोक कुमार श्रेष्ठको व्यास ३ मा क्रमशः ५३१ र २८० कांग्रेसको खातामा जम्मा हुँदा रास्वपामा क्रमशः ७७६ र ७३५ मत गएको छ ।

तनहुँ क्षेत्र नं १ मा जम्मा ४२ वडा रहेकामध्ये अत्यन्त झिनो मतले मात्रै सात वडामा कांग्रेसको केही बढी मत छ । मंसिर ४ मा सम्पन्न निर्वाचनका समयमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको मत २५९१३ थियो भने निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाको मत १९९२५ रहेको थियो । रास्वपाका टीका सिक्देलले ६०३२ मत मात्र पाउनुभएको थियो । उपनिर्वाचनमा त्यस समय एमालेका उम्मेदवारले पाएको मत र अहिलेको मत हेर्दा एमालेको पनि इँजार खुस्केको देखिन्छ ।

तनहुँको यो उपनिर्वाचनमा गोविन्द भट्टराई मात्रैको पराजय नभएर यस जिल्लामा बसोवास गर्ने कांग्रेसका सबै नेताहरू आफ्नै वडामा पराजित भएको देखिन्छ । कांग्रेसको सक्किने कि सच्चिने भन्ने बहस भइरहेको बेला यो परिणामको समीक्षा कुन रूपमा हुने हो ? त्यसमा पनि स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, चर्चित युवा महामन्त्री गगनकुमार थापासहित नेपाली कांग्रेसका पचास जनाभन्दा बढी केन्द्रीय सदस्यहरू तनहुँको उपनिर्वाचन प्रचारमा होमिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?