चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’

Read Time = 4 mins

काठमाडौं । आगामी जेठ १२ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मौलिक नेपाली कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ । चलचित्रलाई लिएर निर्माण पक्ष प्रचार प्रसारमा व्यस्त छ । यसै सन्दर्भमा चलचित्रको टिमले केही पत्रकारसँग कुराकानी गर्दै चलचित्रबारे जानकारी दिएको हो ।

निर्देशक शम्भु थापाले चलचित्र अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको जिकिर गर्नुभएको छ । ‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पूरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौं’, उहाँले भन्नुभयो, ‘चलचित्रले अहिलेको समाजको प्रतिनिधित्व गरेको छ ।’ उहाँले अहिलेको पुस्ताले अग्रजको सम्पत्ति घरआँगनमै भए पनि त्यसलाई कुल्चिएर अहिलेको पुस्ता भौतारिने गरेको कथालाई चलचित्रमा देखाइएको बताउनुभयो । उहाँले चलचित्रमा सामन्तवादको केही विषय समेटिएको सुनाउनुभयो ।

अभिनेता तेज गिरीले चलचित्रमा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निवार्ह गरेको खुलाउनुभयो । उहाँले आफ्नो भूमिका मायाको अभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने रहेको जनाउनुभयो । ‘मेरो चरित्रले कथामा नयाँ ट्विष्ट ल्याउँछ’, उहाँको भनाइ थियो ।

अभिनेत्री तलिसा गुरुङले ‘हुक्काः एन एब्सर्ड ड्रिम’मा अभिनय गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले राम्रो टिम र कथामा काम गर्न पाएकाले दर्शकले आफ्नो भूमिका मनपराउने जिकर गर्नुभयो ।

अभिनेता प्रकाश घिमिरेले चलचित्रमा आफू हुक्का खाने क्यारेक्टरको रूपमा देखिने खुलाउनुभयो । उहाँले आफू कहिले नरम र कहिले कडा पात्रको रुपमा प्रस्तुत हुने बताउँदै चलचित्र सबैका लागि हेर्न उपयुक्त रहेको जनाउनुभयो । चलचित्रका लेखक तथा अभिनेता सन्तोषकुमार आत्रेयले आफूले पत्रिकामा समवेदना पढेर कथा बुनेको बताउनुभयो । चलचित्रको कथा अहिलेसम्म आएको चलचित्रभन्दा भिन्न भएको उहाँको दाबी थियो ।

कार्यकारी निर्माता किरणकुमार आत्रेयले नेपाली कला संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने भावनाले चलचित्रमा लगानी गरेको बताउनुभयो । चलचित्रमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय छ ।
सन्तोषकुमार आत्रेयको कथा रहेको चलचित्रमा सन्तोष र भगवान् पौडेलको पटकथा छ । रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?