‘मिस्टर एण्ड मिस नेसनल नेपाल’को उपाधि शिशिर र समालाई

Read Time = 3 mins

काठमाडौं । ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ को उपाधि क्रमशः शिशिर वाग्ले र समा पराजुलीले चुम्न सफल हुनुभएको छ । काठमाडौंमा सनुर्भी इन्टरनेसनल प्रालिको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्वल ताम्राकार हुनुभयो । यीमध्ये ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ का विजेताले ‘मिस्टर एण्ड मिस सुप्रानेसनल’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नु हुनेछ भने अन्यले सोही शीर्षकअन्तर्गत अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे र तेस्रो अंकित कातिला र सुम्निमा खापुंग लिम्बु घोषणा हुनुभयो । समारोहमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिनुभएको थियो ।

‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिंगकारले सहभागी सम्पूर्णको भविष्य उज्वल देखेको बताउनुभयो । ‘म एकसातादेखि नेपालमा छु । प्रतियोगीको लगनशीलता र मिहिनेत देखेर म प्रभावित भएको छु । नेपालमा यसको सुरुवात गरेर प्रतियोगीलाई अन्तर्राष्ट्रिय यात्रा गराउने आयोजकलाई धन्यवाद’, मौलिंगकारले भन्नुभयो ।

कार्यक्रम आयोजक डाक्टर सन्तोष उपाध्यायले आफैँ ‘मिस्टर सुप्रानेसनल’ मा सहभागी भएकाले युवाका लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुवात गरेको जिकिर गर्नुभयो ।

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएका अडिशनमार्फत छनोट भएका १७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए । त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?