धनगढीमा ६ हजार बचतकर्ता शिवशिखर सहकारीबाट पीडित

रकम फिर्ता लिन बचतकर्ताहरू दुई महिनादेखि संघर्ष गर्दै

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

धनगढी । कैलालीको धनगढीमा रहेको शिवशिखर सहकारीबाट ६ हजार बचतकर्ता पीडित बनेको पाइएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारी संस्थाको धनगढी शाखाबाट मात्र ६ हजार बढी बचतकर्ता पीडित भएका हुन् । धनगढी शाखाअन्तर्गत मात्र ६२ करोड ८३ लाख बचत फसेको बचतकर्ताले गुनासो गरेका छन्् । सो सहकारीले चार करोड ५१ लाख मात्र लगानी गरेर बाँकी रकम दुरुपयोग भएको आशंका गरिएको छ । पीडितको बचत रकम फिर्ता नभए आन्दोलन चर्काउने संघर्ष समिति धनगढीको चेतावनी छ । शिवशिखर सहकारी धनगढी शाखामा जम्मा गरिएको बचत रकम फिर्ता लिन बचतकर्ताहरूले दुई महिनादेखि संघर्ष गर्दै आए पनि बचत फिर्ता पाएका छैनन् ।

बचत फिर्ताका लागि पटकपटक सहकारी धाउँदा पनि खाली हात फर्कनु परेको पीडितको गुनासो छ । आफूले जम्मा गरेको बचत फिर्ता गर्न सहकारीले नमानेपछि पीडितको विचल्ली भएको बचतकर्ता एवं शिवशिखर संघर्ष समितिका सदस्य समिरकुमार चौधरीले बताउनुभयो । ‘धनगढी शाखाअन्तर्गत मात्र ६ हजार बचतकर्ताको ६२ करोड ८३ लाख रकम छ, लगानी जम्मा चार करोड ५१ लाख मात्र भएको देखिन्छ ।’ दुःख गरेर जम्मा गरेको आफ्नै बचत फिर्ता पाउन समस्या भएपछि कतिपय महिला आत्महत्या गर्नेसम्मको अवस्थामा रहेको उहाँले बताउनुभयो । आफूले जम्मा गरेको बचत रकम फिर्ता माग्दै बचतकर्ताहरू आन्दोलित छन् । धनगढीमा ६ हजार बचतकर्ताको रकम डुबेको भन्दै त्यसका लागि संघर्ष समिति नै बनाएर बचतकर्ता संघर्षमा छन् ।

सो सहकारीले ६२ करोड ८३ लाखमध्ये चार करोड ५१ लाख मात्र लगानी गरेको छ । रातदिन काम गरेर शिवशिखरमा जम्मा गरेको पैसा चाहिएको समयमा पाउन बचतकर्तालाई कठिन भइरहेको छ । बचत रकम फिर्ता माग्न धनगढीमा १३ सदस्यीय संघर्ष समितिसमेत गठन गरिएको छ ।

संघर्ष समितिले संघर्षका कार्यक्रम अघि बढाउन आज (शुक्रबार) छलफल गर्ने तयारी भइरहेको संघर्ष समितिका संयोजक लोकेन्द्र लम्सालले बताउनुभयो । ‘हामी शुक्रबार यसका लागि छलफल गर्दैछौँ, मुद्दामा जाने कि के गर्ने भनेर छलफलबाट आएको निष्कर्षपछि थप संघर्षका कार्यक्रम अघि बढ्छन् ।’ करोडौँ रकम जम्मा गरेका बचतकर्तालाई मागेको बेला पाँच हजार रुपैयाँ पनि दिन नसकेपछि बचतकर्तामा संशय पैदा भएको छ ।

शिवशिखरमा बचत गर्दै आएका सेवाग्राही बचत फस्ने भन्दै संशकित छन् । एक लाखदेखि चार करोडसम्म धनगढी अन्तर्गतको शिवशिखर सहकारीमा एउटै व्यक्तिले रकम जम्मा गरेकोसमेत देखिएको छ । शिवशिखरले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट गरी एक अर्ब ६० करोड रकम संकलन गरेको छ । तर, शिवशिखरको महेन्द्रनगर, डडेल्धुरा, अत्तरिया, धनगढीलगायत शाखामा दैनिक बचत फिर्ता माग्नेको भिड लाग्दै आए पनि सहकारीले रकम फिर्ता गर्न सकिरहेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?