हाम्रो समाजमा ज्येष्ठ नागरिकको अवस्था

Read Time = 16 mins

हालै यही ३२ जेठ २०८० तद्अनुरूप १५ जुन २०२३ मा ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस मनाइएका खबर आइरहेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा आयोजित उक्त कार्यक्रममा निकै उत्साहका साथ सहभागिता देखियो । भनिन्छ, ज्येष्ठ नागरिक घर, परिवार, समाज र सिंगो राष्ट्रका अमूल्य निधि हुन् । ज्येष्ठ नागरिकहरूको उचित सम्मानले उनीहरूमा रहेको लामो अनुभव, ज्ञान, सीप र दक्षताले राष्ट्रको विकास र समृद्धिमा विशेष योगदान हुने गर्दछ । यद्यपि हाम्रो समाजमा के छ ती मर्यादित जीवन-जिउनका लागि र आफ्नो जीवनको उत्तराद्र्धमा देश र समाजलाई केही योगदान गरौं भन्ने ज्येष्ठ नागरिकको हालको अवस्था ।

तर, अहिलेको असामाजिक जीवन पद्धतिका कारण ज्येष्ठ नागरिकहरू अवहेलित र घृणाको पात्र भएका छन् कि भन्ने आभास केही अपवादबाहेक पाइन्छ । यसमा नियोजित परिवारका कारण घरपरिवारमा सदस्य संख्या अत्यन्तै न्यून हुन गएको छ र आजको दुनियाँ साँगुरिँदै गएको सन्दर्भमा घरपरिवारमा सयुक्त बसाइ कम हुँदै गएको छ । त्यस अवस्थामा घरपरिवारबाट ज्येष्ठ नागरिकको रखदेख हुन सक्ने देखिँदैन । मातृ र पितृ भक्ति भएका घरपरिवारका सदस्यहरूले त आफ्ना ज्येष्ठ नागरिकको उचित स्याहार सुसारको व्यवस्था मिलाएका हुन्छन् । तर, त्यसो गर्नेहरूको संख्या खासै उल्लेख्य पाइँदैन ।

तसर्थ बहुसंख्यक ज्येष्ठ नागरिकहरू अत्यन्तै अपमानित र दुव्र्यवहारबाट पीडित तथा प्रताडित भएको यदाकदा सुन्ने गरिन्छ । निश्चय नै आजको ज्येष्ठ नागरिक हिजोको सशक्त हुँदाको जस्तो सम्मानित र मर्यादित भने केही अपवादबाहेक पक्कै पनि हुने गरेको पाइँदैन । तसर्थ ज्येष्ठ नागरिकहरू दिनप्रतिदिन दुव्र्यवहारको शिकार बनिरहेका छन् । त्यसैलाई ध्यानमा राखेर हाम्रो समाजमा पनि केही चेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका पनि छन् । तर, त्यस्ता चेतनामूलक कार्यक्रमको परिणाम र प्रभाव के कस्तो परेको छ र मौजुदा देशको नियमकानुन कति कार्यान्वयन भएका छन् भन्ने विषयको खासै समीक्षा भएजस्तो लाग्दैन । हुन त खासमा पीडित वा दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकले आफ्ना छोराछोरीलाई कानुनी कठघरामा ल्याउन चाहेको पनि देखिँदैन बरू जे-जति दुःख कष्ट भए पनि उल्टै दुव्र्यवहार सहेर बसेका हुन्छन् ।

हाम्रा अग्रज ज्येष्ठ नागरिकहरू अत्यन्तै दुःख पीडाबाट दिन गुजारिरहेका छन् । मातृ देवो भवः पितृ देवो भवः जस्तो महत्वपूर्ण शिक्षा आज हराएको छ । आजभोलि व्यक्ति र समाज अत्यन्तै निर्दयी, कठोर र नितान्त स्वार्थी बन्दै गएको छ ।

हाम्रा अग्रज ज्येष्ठ नागरिकहरू अत्यन्तै दुःख पीडाबाट दिन गुजारा चलाइरहेका छन् । नैतिक शिक्षाको अभाव छ । मातृ देवो भवः पितृ देवो भवः जस्तो महत्वपूर्ण शिक्षा आज हराएको छ । आजभोलि व्यक्ति र समाज अत्यन्तै निर्दयी, कठोर र नितान्त स्वार्थी बन्दै गएको छ । घरपरिवारका अशक्त र ज्येष्ठ नागरिकप्रति बिरलै जवाफदेही भएको पाइन्छ । अधिकांश अशक्त र ज्येष्ठ नागरिकहरू अव्यक्त पीडादायी जीवन जिउन बिबस छन् । न समयमा उपचार पाएका हुन्छन् न आहार विहार नै । हाल यस्तै अनुभवका पोकाहरू सुन्न, देख्न पाइएको छ र यथार्थ अवस्था यही हो भन्दा उपयुक्त नै होला ।

माथिको संक्षिप्त चित्रणबाट अब घर, परिवार, समाज र राज्यबाट समाजका सम्मानित ज्येष्ठ नागरिक थप कुण्ठा, पीडा र दुव्र्यवहारबाट पीडित छन् । उनीहरूलाई त्यस्ता पीडाबाट जोगाउन के कस्तो नीति अवलम्बन गर्न सकिन्छ भन्ने बारेमा केही बहस, छलफल र चर्चा गर्न आवश्यक देखिएको छ । हाम्रो राजनीतिक वृत्तमा पनि तथाकथित युवाहरूले आफ्ना अग्रजहरूप्रति देखाएको दुव्र्यवहारले पनि ज्येष्ठ नागरिकलाई आहात पुर्‍याएको छ । राजनीति गर्नु कुनै कुस्तीवाज जस्तो रिङमा भिड्ने कुरा होइन तर केही तथाकथित युवाहरू त कुस्ती नै खेल्ने हो झैँ क्रियाशील ज्येष्ठ राजनीतिज्ञको मानमर्दन गर्दै गरेको सुनिन्छ ।

यसर्थ त्यस्तो व्यवहारलाई दुव्र्यवहार मान्न सकिन्छ । उदाहरणका लागि डा.गौरीशंकर लालदास उमेरको हिसाबले उनान्सय वर्षको हुनुहुन्छ तर उहाँलाई अझै पढ्न लेख्न चस्माको सहारा लिनुपर्दैन भने हिँडडुल गर्न लौरोको सहायता लिनु पर्दैन । उहाँ त प्राविधिक दृष्टिकोणले मात्रै ज्येष्ठ नागरिक हो बाँकी देशको एक सबल र सक्षम नागरिक हो । तर, राजनीतिमा लागेका तथाकथित महत्वाकांक्षी युवाहरूबाट यो वा त्यो बहानामा ज्येष्ठ नागरिकको हुर्मत लिने काम भएको छ । यद्यपि त्यो स्थितिबाट नेकपा एमालेले ७० वर्षे उमेर हद हटाएर आफ्ना अग्रजहरूलाई यथोचित सम्मान गर्न खोजेको देखिन्छ ।

यसरी हेर्दा सिंगो घरपरिवार र समाज नै ज्येष्ठ नागरिकमैत्री हुन सकिरहेको छैन । यसका लागि सबैभन्दा पहिले राज्य वा राजनीति ज्येष्ठ नागरिकमैत्री हुनुपर्छ । अनिमात्र ज्येष्ठ नागरिकहरूले समाजको सबै क्षेत्रबाट यथोचित सम्मानित जीवनको अनुभूति गर्न पाउँछन् । तसर्थ ज्येष्ठ नागरिकको हकमा राजनीतिक दल, राज्य वा सरकार जवाफदेही हुनुको अर्को उपयुक्त विकल्प देखिँदैन । राज्यको एउटा अंग समाज कल्याण परिषद्ले ज्येष्ठ नागरिकहरूको हक, हित र अधिकार संरक्षणका लागि हालसम्म के कस्ता कदमहरू चालेको छ त्यो पनि जानकारी हुन आवश्यक छ ।

त्यस्तै समाज कल्याण परिषद्मा आबद्ध भएका एनजिओ तथा आइएनजिओहरूका कामकारबाही उद्देश्यानुरूप चलेका छन् कि छैनन् त्यसको पनि यथोचित नियमन भए जस्तो देखिँदैन । त्यस्ता संघसंस्था केही निश्चित मानिसहरूको जीविकोपार्जन मात्रै त भएको छैन ? त्यतातिर पनि सम्बन्धित पक्षको ध्यान पुग्नुपर्ने आवश्यकता महसुस गरिँदै छ । समाज कल्याण परिषद्ले वार्षिक बजेट निर्माण गर्न मिलियन रकमको इजाजत दिइएको हुन्छ रे ? तर कसले कहाँबाट के कति रकम अनुदान प्राप्त गरेको छ सोको पनि अभिलेख जनताले मागेको खण्डमा दिन तयार हुनुपर्छ । सबै कुरा पारदर्शी ढंगले हुनु अनिबार्य छ । नत्र ज्येष्ठ नागरिक, महिला, बालबालिका आदिको क्षेत्रमा कार्यरत संघसंस्थाको मागिखाने भाँडो त भएको छैन ?

यसर्थ राज्यका नियमनकारी निकाय अत्यन्तै चनाखो र जवाफदेही हुनुपर्छ । राज्यले सम्बन्धन दिएका निकायको यथोचित अनुगमन र नियन्त्रण गर्नुपर्छ । तर, अहिले बाहिर सर्सर्ती हेर्दा राज्य बेखबर जस्तो देखिएको छ । यो माथि उठाइएको विषय झट्ट हेर्दा असान्दर्भिक जस्तो देखिए पनि कटु सत्य हो । अब सम्बन्धित सबैको गम्भीरतापूर्वक ध्यान जाओस् । अहिले हाम्रो समाजमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाको संख्या निकै छ तर उनीहरूले सम्पादन गरेका कार्यहरूको यथार्थ विवरण सम्भवतः सम्बन्धन दिने निकायलाई जानकारी नहुन सक्छ । यस्तो अवस्था नआओस् भन्ने सचेत र जागरुक नेपालीहरूको चिन्ता र चासो भएको पाइएको छ ।

मुलुकका विभिन्न भाग विशेष गरेर ज्येष्ठ नागरिकका नाममा आश्रमहरू स्थापना भएका छन् । धेरैजसो त आध्यात्मिक र धार्मिक स्थलहरूमा पाइन्छन् । जीवनको उत्तराद्वमा आफ्नो जल्दोबल्दो उमेर जतिसुकै धर्मको आलोचक बने पनि अन्ततः ऊ विस्तारै आस्तिक बन्दो रहेछ । त्यसैको प्रभावले बुढेसकालमा अध्यात्मिक क्षेत्रको आश्रमहरू रोजिँदो रहेछ कि भन्ने अनुमान गर्न सकिन्छ । यसैगरी अन्य क्षेत्रमा पनि वृद्धा (ज्येष्ठ नागरिक) आश्रम खोलिएका छन् । धनसम्पत्ति नभएका र आफ्नो परिवारमा रेखदेख गर्ने कोही नहुँदा कतिपय ज्येष्ठ नागरिक अत्यन्तै पीडादायी अवस्थाबाट गुज्रिन बाध्य छन् । त्यस्ता बेसहारा ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिनुपर्छ ।
त्यो कर्तव्य लोककल्याणकारी राज्यको प्रमुख दायित्व पनि हो । यदि कुनै ज्येष्ठ नागरिक आर्थिक रूपले सबल छ तर घरपरिवारबाट पीडित छ भने त्यस्ता परिवारका सदस्यलाई सम्झाई बुझाई आफ्ना अभिभावक जो वृद्ध छन् भने उचित रेखदेख गर्न गराउन उत्प्रेरित गराउनुपर्छ ।

आर्थिक हैसियत राम्रो भएका ज्येष्ठ नागरिकहरूले त आफ्नै घरमा केयर गिभर राखेर पनि आफूलाई मर्यादित जीवन जिउन सक्नेछन् । तर, त्यस्तो संख्या हाम्रोमा नगन्यमात्रै सुनिन्छ । नेपाली युवायुवतीहरू रोजगारीका लागि विदेशमा गएर अधिकांशले त्यहीँ केयर गिभर काम गर्छन् भन्ने सुनिन्छ । यदि हाम्रो पुँजीका रूपमा रहेका अशक्त ज्येष्ठ नागरिकले पनि आफ्नै घरमा आफैंले वा परिवारका सदस्यको सहायताबाट सहज ढंगले जिउने ठाउँहरू छन् ।

तर, प्रश्न के हो भने के हाम्रा ज्येष्ठ नागरिक परिवार, गाउँ, समाज र राज्यबाट मर्यादित भएर बाँच्न पाइराखेका छन् त ? अवश्य पनि हाम्रा ज्येष्ठ नागरिकहरू आफ्नै घरपरिवारदेखि कुनै पनि सार्वजनिक स्थानमा उचित सम्मान पाउन सकेको अवस्था देखिँदैन । उनीहरू ‘बोल बोल मछली मुखभरि पानी’ भन्ने स्थितिमा छन् । ‘सहनु कि कहनु’ ले तड्पिएरै बाँच्न बिबस छन् । तसर्थ अब राज्य र सरोकारवाला सबैले सबैभन्दा पहिले ज्येष्ठ नागरिकको अवस्थाको गम्भीर अध्ययन गरी तिनीहरूलाई आर्थिक सामाजिक र शैक्षिक रूपले पनि वर्गीकृत गर्दै आवश्यक व्यवस्था मिलाउनुपर्छ ताकि उनीहरू घरपरिवार र समाजबाट दुव्र्यवहारको सिकार बन्न नपाऊन् ।

साथै ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप, अनुभव र क्षमताको घरपरिवारदेखि समाजले भरपुर लाभ लिन सक्नुपर्छ । अन्यथा उनीहरूमा भएको त्यो सबै उपयोगिता उनीहरूसँगै जान्छ र अपूरणीय क्षति व्यहोर्नुपर्ने हुन्छ । त्यसैले भनिन्छ, ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ । यो कुरा मननीय छ र मनन पनि गरौं जसबाट घरपरिवार र समाज लाभान्वित हुनेतिर लागौं । त्यसका लागि पहिलो शर्त ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहारलाई रोकौं । ज्येष्ठ नागरिक देश, समाज र घरपरिवारका अमूल्य निधि हुन् र वल्ड इज गोल्ड भन्ने भनाइलाई नबिर्सौं ।

समग्रमा भन्नु पर्दा हाम्रा ज्येष्ठ नागरिकहरू आफ्ना घरपरिवार, समाज, राज्य र राजनीतिबाट समेत नराम्रोसँग उपेक्षित, उत्पीडित, अबहेलित र दुव्र्यवहारका सिकार भएका छन् । यो वास्तविक चित्र हो । त्यस्तै सार्वजनिक यातायात र अन्य स्थानमा पनि ज्येष्ठ नागरिकहरू पूर्णरूपले दुव्र्यवहारमा परिरहेको अवस्था छ । यसर्थ सम्बद्ध पक्षले ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार रोकी उनीहरूलाई सम्मानित र मार्यादित जीवन जिउने वातावरण सिर्जना गर्नु उपयुक्त विकल्प हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?