साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालको हार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दक्षिण एसियाली फुटबल(साफ च्याम्पियनसिप) २०२३ को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले हार बेहोरेको छ । भारतको बेंग्लोरस्थित कान्तिरभा रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कुवेतसँग तीन-एकले पराजित भएको हो ।

कुवेतका लागि मोहमद अब्दुल्लाहले दुई तथा खालेद हजियाले एक गोल गर्नुभयो । नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काउनुभयो ।
खेलको २३ औँ मिनेटमा कुवेतका कप्तान खालेद हजियाले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । उहाँले फवाज अलोताइबीको कर्नरमा रहेको नेपाली खाली पोस्टमा गरेको प्रहारले गोलको रुप लिएको थियो । ४१औँ मिनेटमा कुवेतले अग्रता दोब्बर पार्‍यो । बायाँ विंगबाट मोहमद अब्दुल्लाहले दिएको पास पेनाल्टी क्षेत्रभित्र रोकेर विमल पाण्डेलाई बिट गर्दै अल्खाल्दीले गोलमा परिणत गर्नुभएको थियो ।

६५औँ मिनेटमा कुवेतले तेस्रो गोल गर्‍यो । हमाद अल कलाफको क्रस अनन्तको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिनुभएको थियो । उक्त पेनाल्टीलाई मोहमद अब्दुल्लाहले गोलमा परिणत गर्नुभयो । उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै उहाँले कुवेतलाई तीन-शून्यको अग्रता दिलाउनुभयो ।

तर, त्यसको दुई मिनेट नबित्दै नेपालले एक गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो । अनन्तको लामो पास कुवेतको डिफेन्सले क्लियर गर्न नसक्दा अञ्जनले पाएको बललाई गोलमा परिणत गर्नुभयो । यो राष्ट्रिय टोलीबाट अञ्जनको १२औँ गोलसमेत हो ।
यससँगै साबिक उपविजेता नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । समूह ‘ए’ मा रहेको कुवेतले भने पहिलो खेलमै तीन अंक जोडेको छ ।

यस संस्करणको साफमा आठ राष्ट्रको सहभागिता रहेको छ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउनेछन् । यस संस्करणमा कुवेत र लेबनान आमन्त्रित टोलीका रूपमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?