प्रधानमन्त्री बन्ने फर्मुला

Read Time = 15 mins

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउँन एकजना व्यवसायीले धेरै मिहिनेत गरेको, धेरै पटक दिल्ली पनि गएको, काठमाडौंमा नेताहरूसँग लगातार छलफल गरेको बताएपछि नेपालको राजनीति तरंगित भएको छ । नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहको बारेमा किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ प्रितम सिंह इन नेपाल’ नामक पुस्तकको विमोचन कार्यक्रममा दाहालले यो विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । दाहालको यो भनाइको श्रोतामध्ये, एकजना नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि थिए ।

यस भनाइको सर्वत्र आलोचना भएको छ । यसैको कारण संसद् अवरुद्ध भएको छ । यो अवरोधको कारण प्राथमिकतामा रहेको मिटर ब्याजीलाई कार्बाही गर्न ल्याएको अध्यादेश संसद् अधिवेशन सुरु भएको साठी दिनभित्र प्रतिस्थापन विधेयक पारित नभएको कारण निष्क्रिय भएको छ । यो विधेयक पारित नहोस् भनेर सक्रिय भएको सामन्तहरूको प्रयास यस अवरोधको कारण सफल भएको छ । अगाडि जति नै साँखुल्ले कुरा गरेता पनि कांग्रेस–एमालेजस्ता पुराना पार्टीहरूमा मिटर ब्याजी सामन्तहरूको गतिलो पकड रहेको छ । देशमा बहुदलीय व्यवस्था स्थापना भएपछि उदाएका शेरबहादुर देउवा र केपी शर्मा ओलीहरूलाई यो विधेयक रोक्न ठूलै दबाब थियो । यसको गतिलो प्रमाण निष्क्रिय हुने अन्तिम दिन संसद्मा पेश गर्नु नै हो ।

नेपालका राजदूतले ओहदाको प्रमाणपत्र पेश गर्न महिनौं कुर्नुपर्ने परिस्थितिमा नेपालका नेताहरू राजदूत वा सो सरहको अधिकारीलाई भेट्न म्याराथुन दौडमा लागेको दृश्यलाई मध्यनजर राख्दा विदेश परस्त सोचको सम्बन्धमा कुनै नेता पनि कोहीभन्दा कमजोर नभएको सहजै अनुमान गर्न सकिन्छ ।

संसदमा एमाले पार्टीका ओलीभक्त सभामुख भएको अवस्थामा कुनै पनि बखत जुनसुकै कारणबाट संसद् अवरुद्ध भएको स्थितिमा माथि भनिएको अध्यादेश कानुन बन्न नसक्ने अवस्थाको हेक्का सरकारी पक्षलाई नहुनु गम्भीर लापरबाही हो । विपक्षीले र स्वार्थ समूहले आफ्नो अनुकूलताका लागि सधैं प्रयास गर्छन्, खासै अनौठो कुरा भएन । तर, प्रधानमन्त्री जस्तो व्यक्तिले आफूलाई प्रधानमन्त्री बनाउन एकजना सवारी चालक र व्यवसायीको भूमिका थियो र त्यसका लागि दिल्ली धाएका थिए भन्नु आपत्तिजनक विषय हो । नेपालका राजनीतिज्ञहरू मञ्च पाउनासाथ किन बहकिन्छन्, नेपालको राजनीतिमा स्थापित हुन किन विदेशी छिमेकीको आशीर्वादको अपेक्षा गर्छन् भन्ने विषयमा यो आलेखमा चर्चा गर्ने कोसिस गरिनेछ ।

दास मनोवृत्ति :
भारतीय संस्थापनमा हैसियत भएकाहरूले अक्सर भन्ने गर्छन्– नेपालका नेताहरू एक्लै भेट भएको अवस्थामा कहिल्यै पनि देशको हित र भविष्यको कुरा गर्दैनन् दायाँबायाँ नजर घुमाएर आफ्नो व्यक्तिगत भविष्य र आफ्ना नातागोताको स्वार्थको कुरामात्र गर्छन् । यो भनाइ अप्रिय भए पनि सत्य नजिक रहेको छ । यस्तो स्वार्थी धारणा राख्नेहरूमा खासगरी पहिलो पुस्ताका नेताहरू अग्रणी छन् । हिजोका दिनमा भूमिगत राजनीति गर्दा दिल्ली दाहिने पारेको र पार्नुपरेको कारण र तत्कालीन अवस्थामा विकसित भएको सम्बन्धका कारण यस्तो मनोदशाबाट ग्रस्त छन् नेताहरू । शेरबहादुर देउवा पत्नी आरजुले अपनाएको राखी कूटनीतिको विषय होस् वा नेपालका धेरै नेताका लागि उपलब्ध गराउने गरिएको स्वास्थ्य कूटनीतिक विषय होस् वा छात्रवृत्ति कूटनीतिको विषय होस् ।

कसैको अनुरोध र लहडमा समयको व्यवस्थापन गरिएको कारणले यो दुर्घटना भएको हुनसक्दछ । कूटनीतिक क्षेत्रलाई छुने विषयबारे बोल्दा बुँदा टिपोट नगर्ने बानीको कारण बहकिनुभएको हुनसक्दछ । यसका लागि विज्ञ सल्लाहकार समूहको परामर्शमा निर्णय गरिनु र मन्तव्य व्यक्त गरिनु वान्छनीय हुन्छ ।

नेपालका राजदूतले ओहदाको प्रमाणपत्र पेश गर्न महिनौं कुर्नुपर्ने परिस्थितिमा नेपालका नेताहरू राजदूत वा सो सरहको अधिकारीलाई भेट्न म्याराथुन दौडमा लागेको दृश्यलाई मध्यनजर राख्दा विदेश परस्त सोचको सम्बन्धमा कुनै नेता पनि कोहीभन्दा कमजोर नभएको सहजै अनुमान गर्न सकिन्छ । दिल्लीमा उपचार गर्न कुन् नेताको सिफारिश लिएर गयो भने सजिलो हुन्छ र भारतीय शैक्षिक स्वास्थ्यमा भर्ना हुन र छात्रवृत्ति पाउँन कस्को सिफारिश चल्छ भन्ने विषय यसका भुक्तभोगीलाई अवगत भएकै विषय हो । यसका लागि दिल्लीले कम खर्चमा नै आफ्नो खुफिया एजेन्सीको जालोलाई माथिल्लो तहसम्म विस्तार गरेको छ । यसको माध्यम बनेका छन्–विभिन्न राजनीतिक दलका नेता, प्रशासक र समाजका विभिन्न तहमा गण्यमाण्य भइखाएका व्यक्तिहरू ।

ताली खाने आनिबानी :
नेता गिरिजाप्रसाद कोइराला जुन कार्यक्रममा जान्थे–आफू त्यही पेशामा संलग्न भएको बताउने गर्थे । मजदुरकोमा गयो भने मजदुर भनिदिने, किसानको भेलामा गयो भने किसान भनिदिने बानी उनको थियो । यसले गर्दा त्यो वर्गसँग आत्मीयता बढ्छ भन्ने उनको सोच थियो । राजनीतिमा सबै वर्गको प्रिय हुने चाहना उनको थियो । तर, उनकै गलत निर्णयको कारण नेपालको राजनीति दुर्घटनाग्रस्त भएर मुलुक अनन्त विकृतिको चंगुलमा फस्न पुग्यो । उनका अन्धभक्तहरूलाई यो भनाइ मन नपर्ला तर उनको आत्मकेन्द्रित हठी निर्णयको कारण देशमा विकृतिको पहाड अग्लो बनिरहेको छ ।

लामो सशस्त्र द्वन्द्वबाट राजनीतिमा आएका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको श्रोतालाई कर्णप्रिय हुने कुरा बोलेर ताली खाने लोभले यसपालि अप्ठ्यारोमा पारेको छ । नेपालको प्रधानमन्त्री बन्न एकजना ट्रक ड्राइभरसम्मको दिल्ली दौडाहा अर्थ राख्छ भन्ने भाष्य स्थापित भएको छ । हुनत प्रधानमन्त्री दाहालले पुस्तकमा लेखकले लेखेको विषयलाई उदृत गरेको भनेर प्रतिक्रिया व्यक्त गर्नुभएको छ । तर, उहाँले बोलेको श्रव्यदृश्य हेर्दा उहाँ भावुक भएर जिब्रो चिप्लिएको महसुस हुन्छ । मुलुकमा यति धेरै समस्या हुँदाहुँदै प्रधानमन्त्री पुस्तक विमोचन कार्यक्रममा जानु उचित थियो कि थिएन ? मुलुकमा बाढी पहिरोले मच्चाएको वितण्डाका कारण जनता रोग र भोकले छट्पटाइरहेका छन् । किसानलाई चाहिने बेला मल छैन ।

आर्थिक मन्दीले हरेक नागरिकको चुलोमा असर पु¥याएको छ । गौरवका आयोजनाहरूले आफ्नो नामकै इज्जत राख्न नसक्ने अवस्था छ । निर्माण कार्य अलपत्र बनाउने निर्माण व्ययसायीलाई कारबाही गर्नसक्ने अवस्था छैन । बेरोजगारी बढ्दो छ, युवाको विदेश पलायनको कारण देशमा चाहिने श्रमशक्तिको नितान्त अभाव भएको छ । यस्तो असहज अवस्थामा पुस्तक विमोचन कार्यक्रममा गएर अमूल्य समय खेर फाल्नु कति जायज होला ? त्यो पनि देशको राजनीति र कूटनीतिक क्षेत्र पनि तरंगित बन्ने गरी बोलिएको विषयले मुलुककै शिर निहुरिएको छ ।

सुविधाका लागि भर्ती गरिएका विज्ञ समूह :
आलंकारिक राष्ट्रपतिका लागि सल्लाहकार र विज्ञको पल्टन भर्ती गर्ने चलन भएको हाम्रो देशमा कार्यकारी प्रधानमन्त्रीकोमा विज्ञ र सल्लाहकार समूहको संख्यात्मक कमी हुने त कुरै भएन । जब गुणात्मकताको प्रश्न आउँछ मुन्टो निहु¥याउनुपर्ने अवस्था छ । विज्ञता भएकै अवस्थामा पनि प्रधानमन्त्रीलाई सल्लाह लिने फुर्सद नै कहाँ हुन्छ र ? फेरि अर्को महत्वपूर्ण विषय छ रुग्ण सोचको । त्यो सोच हो–कुर्सी आयो, कुर्सीसँगै पिँधबाट बुद्धि र विवेक पनि सरुवा भएर आयो । यस्तो अहंकारी सोचले अहं ब्रहृमास्मि भन्ने अहंकारमात्र सञ्चार गर्ने रहेछ ।

यस्तो विज्ञ समूहले गर्नुपर्ने कामको कार्यविवरण त परैको कुरा भयो । प्रधानमन्त्रीको दर्शन भेट नै दुरुह भएको हुनसक्छ । पहिलेका केही काबिल ठानिएका सल्लाहकारहरूले आफ्नो भूमिका नभएको भनी राजीनामा दिएको विगत सम्झिने हो भने अधिकांश विज्ञ र सल्लाहकारको भूमिका जीविकोपार्जनमात्र हो भन्ने पर्याप्त आधार फेला पार्न सकिन्छ । सीमित स्रोतसाधनको बाबजुद भर्ती गरिएका सल्लाहकारहरूको समुचित परामर्श लिएर कार्यक्रममा जाने नजाने परिपाटी बसेको भए यस्तो गम्भीर विषयमा प्रधानमन्त्री विवादमा आउनुपर्ने अवस्था रहने थिएन । मञ्चमा केही सय श्रोता देख्नासाथ उद्वेलित बन्ने नेताको जिब्रोलाई अनुशासित बनाएर चिप्लिन नदिनका लागि यस्तो सल्लाहकार समूहले बढी नै मिहिनेत गर्नुपर्ने परिस्थिति रहन्छ ।

अब के गर्ने ?
माथि चर्चा गरिएको दास र कमजोर मनस्थितिबाट बुढा नेताहरू बढी पीडित भएकाले नयाँ पुस्ता राजनीतिमा हावी भएपछि यसमा निकै सुधार हुने सहजै अनुमान गर्न सकिन्छ । यस्तो अनुमानको आधार हो–भारतीय संस्थापनको भित्रिया बन्ने नेपाली नेताहरूको चाहना र कुनै विषयमा अडान राख्न नसक्ने लक्पके नीतिका कारणले यस्तो अवस्था सिर्जना भएको छ । आफ्नो अडानमा बसेको अवस्थामा कसैले पनि अनावश्यक प्रस्ताव लिएर आउने हिम्मत गर्नेछैनन् ।

पुस्तक विमोचन कार्यक्रममा जाने बाध्यता प्रधानमन्त्रीलाई कसरी पर्नगयो ? त्यो कार्यक्रम के कारणले प्राथमिकतामा प¥यो, त्यहाँ जाने विषय विज्ञ समूहमा परामर्श भए कि भएन, भएको भए के निष्कर्ष आयो ? यस्ता सवालको जवाफ खोजिनुपर्छ । सम्भवतः कसैको अनुरोध र लहडमा समयको व्यवस्थापन गरिएको कारणले यो दुर्घटना भएको हुन सक्दछ । कूटनीतिक क्षेत्रलाई छुने विषयबारे बोल्दा बुँदा टिपोट नगर्ने बानीको कारण बहकिएको हुन सक्दछ । यसका लागि विज्ञ सल्लाहकार समूहको परामर्शमा निर्णय गरिनु र मन्तव्य व्यक्त गरिनु वान्छनीय हुन्छ ।

नेपालको प्रधानमन्त्री बन्न नेपालको संविधानले निश्चित तरिका तोकेको छ । नेपालको संसद् प्रतिनिधासभाका बहुमत सदस्यले चयन गरेको व्यक्ति प्रधानमन्त्री बन्ने व्यवस्था सबैलाई जानकारी छ । यसको बाबजुद विदेशी चलखेलले पनि काम गर्दछ भन्ने विषय पनि कतै नलेखिएको सत्य हो । यति हुँदाहुँदै पनि प्रधानमन्त्री जस्तो व्यक्तिले आफूलाई प्रधानमन्त्री बनाउँन एकजना सामान्य व्यवसायी दौडधूप गरेको भनेर हाकाहाकी भन्नु लज्जाबोधको विषय हो । यो प्रधानमन्त्री बन्ने फर्मुला होइन । यसको पश्चाताप गरियोस् र पछिका दिनमा यस्तो गल्ती नदोहोरियोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?