अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

आएलगत्तै उच्चस्तरीय भेटवार्ता, एमसिसी कार्यान्वयनबारे चासो

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउनुुभएको छ । दक्षिण एसियाको भ्रमणमा रहनुभएका लु शुक्रबार बिहान तेस्रोपटक नेपाल आइपुग्नु भएको हो । यसअघि लुले २०७९ साउन र २०७८ मंसिरमा नेपाल भ्रमण गर्नुभएको थियो । अमेरिकी राजदूत डिन आर थम्पसनले ‘लु’लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

नेपाल आएलगत्तै उहाँले राजनीतिक भेटवार्ता गर्नुभएको छ । नेपाल भ्रमणका क्रममा लुले नेपालका राजनीतिक दलका नेताहरू र दूतावासका कर्मचारीसँग भेटवार्ता गर्नुभएको हो । सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएका उहाँले पत्नी सीता दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । त्यस्तै, उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभयो ।

मन्त्री साउदसँग सिंहदरबारस्थित मन्त्रालयमै शिष्टाचार भेटवार्ता गर्नुभएको हो । त्यस्तै, कांग्रेसका सभापति देउवासँग पनि उहाँले भेटवार्ता गर्नुभएको छ । धुम्बाराही पुगेर लुले देउवासँग भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले जानकारी दिनुभएको छ । त्यस्तै, लुले एमाले अध्यक्ष ओलीसँग पनि भेटवार्ता गर्नुभएको छ । शुक्रबार एमाले पार्टी कार्यालय च्यासल पुगेर उहाँले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा एमसिसी कार्यान्वयन तथा दुई देशबीचको सम्बन्धबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

उहाँले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग पनि भेटघाट गर्नुभएको छ । भेटमा उहाँले नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासबारे बुझ्नुभएको अमेरिकी दूतावासले जनाएको छ ।

लु यसअघि नेपालमा एमसिसी प्रतिनिधिसभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका बेला काठमाडौं आउनुभएको थियो । उहाँको नेपाल आगमन र राजनीतिक भेटघाटले निकै चर्चा पाएको थियो । अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गर्नुभएका लु सन् २०२१ को १५ सेप्टेम्बरमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्युरोमा सहायक विदेशमन्त्री नियुक्त हुनुभएको थियो ।

यसअघि उहाँले सन् २०१५ देखि २०१८ सम्म अल्बानिया र २०१८ देखि २०२१ सम्म किर्गिस्तानमा अमेरिकी राजदूतका रूपमा काम गर्नुभएको थियो । उहाँले भारत, अजरबैजान, किर्गिस्तानमा समेत बसेर काम गरिसक्नु भएको छ । त्यसअघि उहाँले मध्य एसिया र दक्षिण काकेसस मामिलाको कार्यालयमा उपनिर्देशक, युरोपेली मामिला ब्युरो आदि महत्वपूर्ण स्थानमा रहेर काम गरिसक्नु भएको छ ।

एमसिसीबारे चासो
नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसिसी कार्यान्वयनका विषयमा चासो व्यक्त गर्नुभएको छ । भ्रमणका क्रममा राजनीतिक भेटवार्ता गर्नुभएका उहाँले एमसिसी कार्यान्वयनका विषयमा चासो र चर्चा गर्नुभएको हो ।

परराष्ट्रमन्त्री साउदसँगको छलफलमा लुले एमसिसी कार्यान्वयनका विषयमा चर्चा गर्नुभएको थियो । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लुले एमसिसी कार्यान्वयनसँगै नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने बताउनुभएको थियो ।

भेटमा अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता, बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा लुले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पु¥याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो ।

उहाँले परराष्ट्रमन्त्री साउदसँगै कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँगको भेटमा पनि एमसिसीबारे चासो व्यक्त गर्नुभएको थियो ।

संसद्ले अनुमोदन गरेको करिब १८ महिनापछि भदौबाट एमसिसी कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ । एमसिसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब नेपाली रुपैयाँ अनुदान दिनेछ ।

नेपालले एमसिसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?