कामपाको ठगी अनुगमन तीव्र : भाग्ने सहकारीलाई ‘जहाँ भेट्यो त्यहीँ पक्रिन मेयर बालेनको निर्देशन’

हिमालय टाइम्स
Read Time = 6 mins

रमेश भारती/हिटा
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूको ठगी बढ्दै गएपछि अनुगमनलाई समेत आर्थिक वर्ष सुरु भएसँगै तीव्रता दिने भएको छ । महानगरपालिकाले पछिल्लो समय बढेको ठगीको अनुगमन र पीडितको उजुरी पनि लिन थालेको छ । महानगरले पछिल्लो समयसम्म ६९ वटा सहकारीविरुद्ध अनुसन्धान गरिरहेको र १२० वटाभन्दा धेरै सहकारीविरुद्ध उजुरी परेको जनाएको छ ।

महानगरअन्तर्गत करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । उनीहरूमाथि तत्काल अनुगमन गर्ने तयारी महानगरले गरेको हो । महानगरले अन्तर्गतका सहकारीमाथि अनुगमन गर्ने काठमाडौं महानगरका मेयर बालेन्द्र साहले निर्देशनसमेत दिइसक्नु भएको छ ।

हालसम्म महानगरले सहकारी विभागले ठगी गर्ने सहकारीमाथि अनुगमन गर्ने गरेको थिएन । तर, पछिल्लो समय सहकारीहरूको ठगी बढ्दै गएपछि अनुगमन गर्ने योजना बनाएको महानगरका प्रवक्ता नवीन मानन्धरले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने र सहकारीमाथि अनुगमन आवश्यक देखिएको छ । महानगर मातहतमा सहकारीमाथि अनुगमन गर्ने तयारीसाथ काम भइरहेको र नयाँ आर्थिक सुरु भएसँगै यो काम चुस्त गतिमा हुने उहाँले बताउनुभयो ।

६९ सहकारीको कुल ठगी रकम एक अर्ब बढी रहेको सहकारी विभागले जनाएको छ । गत अघिल्लो आर्थिक वर्षमा २९ सहकारी ठगी रकम ३० करोडभन्दा कढी रहेको छ । महानगरभित्र मात्र २० अर्ब सहकारी ठगी गरेको उजुरी परेको महानगरले जनाएको छ ।

मेयरको निर्देशन
अहिले सहकारीहरूको ठगी बढ्दै गएको अनुभूति पनि भएको छ । त्यसैले जनता ठगेर भाग्ने सहकारीलाई कानुनी दायरामा ल्याउन मेयरले निर्देशन दिएको महानगरले जनाएको छ । महानगर अन्तर्गतकै सहकारीहरू ठगी प्रकरणमा देखिएपछि अनुगमन गर्न लागिएको र ठगी गरेर भाग्ने सहकारीका मालिकलाई पक्रिन महानगर प्रहरीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले निर्देशन दिइसकेको महानगरका एक कर्मचारीले जानकारी दिए ।

काठमाडौं महानगर अन्तर्गतका ६९ सहकारीको ठगी प्रकरणमा मुछिसकेका छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ भने, महानगरभित्रका पाँच सयभन्दा धेरै सहकारी अनुसन्धानमा तानिने महानगरका कर्मचारी बताउँछन् ।
नियमभन्दा बाहिर रही सञ्चालन भएका तथा बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिने ती कर्मचारीको भनाइ छ ।

सहकारीमा बचतकर्ताको बचत डुबेको, सहकारीबाट हुने विभिन्न बदमासी र सञ्चालक भाग्ने गरेको भन्दै गुनासो तथा उजुरी पनि उत्तिकै बढिरहेको छ । यस्ता सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याउन मेयरले अनुमति दिएको महानगरको भनाइ छ ।
साथै, सहकारी विभागको कालोसूचीमा पनि परेका छन् । त्योसँगै बैंकबाट ल्याएको ऋणसमेत तिर्न नसक्दा सहकारीहरू कालोसूचीमा पनि पर्न थालेका हुन् । बचतकर्ताको ऋण तिर्न नसक्दा पछिल्लो समय केही सहकारी बन्द पनि भइसकेका छन् ।

सबै सहकारी काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन भएका छन् । अनुगमनपछि आवश्यकताअनुरूप निर्देशन दिइने विभागको तयारी छ । महानगरका अनुसार निर्देशन पालना नगर्ने सहकारीलाई ऐनअनुरूप कारबाहीको प्रक्रिया बढाइनेछ ।

आर्थिक संकट देखाउँदै भाग्न थाले सहकारी
सहकारीहरूले बैंकको ऋण पनि तिर्न नसक्दा कर्जा सूचना केन्द्रको कालोसूचीमा पनि पर्न थालेका हुन् । बैंक तथा वित्तीय संस्थाहरूको सिफारिसमा पछिल्लो तथ्यांकअनुसार कर्जा सूचना केन्द्रले १७५ सहकारीलाई कालोसूचीमा राखेको छ ।

नेपाली अर्थतन्त्रमा देखिएको आर्थिक संकटका कारण पनि धेरै सहकारीहरू समस्याग्रस्त छन् । जसले कालो सूचीमा पर्ने सहकारीको संख्या पनि उत्तिकै बढेको हो । सहकारीका सञ्चालकहरूमा बढी महत्वकांक्षा हुँदा पनि ठगी बढ्दै गएको देखिएको छ । पछिल्लो समय देशभर नै सहकारी ठगीको घटना बग्रेल्ती बढ्दै गएको छ । पछिल्लो समयमा देखिएको आर्थिक संकटका कारण यस्तो ठगीका घटना बढेका छन् ।

साथै, पछिल्लो समय देखिएको तरलता अभावको समस्या सहकारीहरूमा पनि देखिएको छ । सहकारीहरूले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । त्यस्ता कारणले पनि सहकारी ठगीको मुद्दा दैनिक बढ्दो नै छ । स्थानीय तह अन्तर्गतका सहकारीहरूको कारोबार गर्ने सीमा र दायरा सीमित हुन्छ, त्यसले गर्दा ठूला सहकारीहरूको तुलनामा कम रकम ठगी भएको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?