एम्बाप्पे रियल जाने चर्चा

Read Time = 4 mins

म्याड्रिड । पेरिस सेन्ट जर्मन(पिएसजी)का स्टार खेलाडी केलियन एम्बाप्पे रियल म्याड्रिडमा अनुबन्ध हुने चर्चा चलेको छ । रियलका फरवार्ड रोड्रिगोले यसै समर ट्रान्सफरमा एम्बाप्पे स्पेन आउने बताएपछि उक्त विषयले चर्चा पाएको हो ।

ब्राजिली स्टार रोड्रिगोले एम्बाप्पेको आगमनसँगै रियललाई सहयोग पुग्ने बताउनुभयो । पिएसजीमा एम्बाप्पेको सम्झौता नवीकरणको प्रक्रिया चलिरहँदा उहाँ रियलमा जाने चर्चा चलेको हो । पिएसजीले भने एम्बाप्पेलाई क्लबमा बस्न दबाब दिइरहेको छ ।

एम्बाप्पेले भने पिएसजीसँगको वर्तमान सम्झौता नवीकरण नगर्ने बताइसक्नुभएको छ । सोही कारण रियलले उहाँलाई सम्झौताको प्रयास गरिरहेको हो ।

‘रियल म्याड्रिडमा धेरै कुरा जटिल छन् । यहाँ सधैँ हल्ला हुन्छन् । यस वर्ष हृयारी केनको विषयमा चर्चा छ,’ रोड्रिगोले भन्नुभएको छ, ‘जब म रियल म्याड्रिड आएको थिएँ, धेरैले पोग्बा आउनेछन् भनेर हल्ला गरेका थिए । हामीलाई कुनै जानकारी छैन, हामी पनि पर्ख र हेरको अवस्थामा छौँ । मलाई लाग्छ, एम्बाप्पे आउनेछन् ।’

रियल म्याड्रिड एम्बाप्पेका लागि २०० मिलियन युरो तिर्न तयार देखिएको छ । यदि पिएसजीले एम्बाप्पेलाई बेच्ने भएपछि रियलले ठूलो रकम खर्चने मनस्थिति बनाइसकेको छ ।

यता, स्पेनिस क्लब बार्सिलोनाका पूर्वरक्षक जोर्डी अल्बा अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुनुहुने भएको छ । मेजर लिग सकर(एमएलएस)को क्लब मियामीका सहमालिक जर्ज मासले अल्बासँग सम्झौता गरिने पुष्टि गर्नुभएको हो । मियामीले आइतबार बार्सिलोनाका पूर्वखेलाडीद्वय लियोनल मेसी र सिर्जयो बुस्केटलाई एकसाथ सार्वजनिक गरेको थियो । मेसी र बुस्केटले मंगलबारबाट मियामीमा प्रशिक्षणसमेत सुरु गरिसक्नुभएको छ ।

सन् २०१२ देखि २०२१ सम्म मेसी, बुस्केट्स र अल्बाले सँगै खेल्नुभएको थियो । मेसी सन् २०२१ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) अनुबन्धित भएपछि अल्बा र बुस्केट्सले थप दुई सिजन बार्सिलोनासँगै बिताउनुभएको थियो ।

बार्सिलोनामा ११ वर्ष बिताएका ३४ वर्षीय स्पेनिस रक्षक अल्बाले क्लबका लागि ४५८ खेल खेल्दा १९ गोल र ९१ गोलका लागि अवसर सिर्जना गर्नुभयो । उहाँले बार्सिलोनाबाट ६ ला लिगा, पाँच कोपा डेल र एक च्याम्पियन्स लिगको उपाधि जित्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?