बाली बिज्ञान पढ्ने सोह्र जनालाई गाउँपालिकाको छात्रवृत्ति

Read Time = 3 mins

-निरोज कोइराला

भोजपुर । बाली बिज्ञान पढ्ने विद्यार्थीलाई भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत बर्षबाट संचालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बाली बिज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्ने भएको हो ।

गाउँपालिका भित्र रहेका ८ वडाका दुई/दुई जना गरी १६ जना बिद्यार्थीहरुलाई अध्ययनका लागि गाउँपालिकाले छात्रवृत्तिको ब्यवस्था गरेको गाउँपालिका प्रशासन शाखाका अनन्त राईले जानकारी दिनुभयो । पालिकाको वडा नम्बर ५, मानेभञ्ज्याङमा रहेको बहुप्राविधिक शिक्षालयमा ३ बर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) मा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने छन् ।

छात्रवृत्ति प्रदान गर्ने बिषयमा कार्यापालिका र शिक्षा समितिले निर्णय गरि सकेको हुनाले सोही अनुसार छात्रवृत्तिको लागि आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ । पालिकाले छात्रवृत्तिका लागि सूचना समेत प्रकाशित गरेको छ ।

गाउँपालिकाका अनुसार छात्रवृत्ति पाउन एसईई परीक्षामा कम्तिमा १.६ जिपिए ल्याएको हुनुपर्नेछ । गाउँपालिका आफ्नै पालिकामा शिक्षालय संचालनमा रहेकोले स्थानीय स्तरमा नै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति दिन लागिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । छात्रवृत्तिको लागि परेका आवेदनमा जेहेन्दार र बिपन्नलाई प्राथमिकरण गरिने छ ।

पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीको परिवारले उपलब्ध गराएको जग्गामा भवन निर्माण भई गतबर्षबाट बहुप्राविधिक शिक्षालयमा बाली बिज्ञानको पठनपाठन सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?