खाद्य सचेचता वाञ्छनीय

हिमालय टाइम्स
Read Time = 7 mins

भारतले चामल निकासी नगर्ने निर्णय गरेलगत्तै नेपालमा खाद्यान्नको कमी हुने भनिएको छ, यो निश्चित पनि छ । नेपाल खाद्यान्न, तरकारीलगायतका खाद्य तथा उपभोग्य सामग्रीहरूमा परनिर्भिर बन्दै गएको छ र त्यो पनिर्भरता प्रायः भारत केन्द्रित छ । अहिले भन्न लाज हुने कुरा छ र त्यो अविश्वसनीय जस्तो पनि लाग्नसक्छ । त्यो के हो भने नेपाल एकताका धानचामल र दलहनको निकासी गथ्र्यो । धानचामल निकासीका लागि सरकारी स्तरबाट कार्यालय नै खोलिएको थियो तर क्रमशः हामी अहिले चामल आयात गरिरहेका छौं । हाम्रो उत्पादनले हामीलाई धान्दैन । हाम्रो सानो परिमाणको जमिन सडक, कुलो, पैनी, नहर, विद्यालय र तिनका खेल मैदान, मठमन्दिर, चर्च, गुम्बा सरकारी वा गैरसरकारी कार्यालयहरू आदि निर्माण गर्दागर्दै घटिरहेका छन् ।

बस्ती विकास हुँदै जाँदा पनि बस्तीसम्म परेको ठाउँमै बस्ने भएका कारण आवादी बारीहरू नै ओगटिने गर्छन् । यसो हुँदाहुँदै धेरै परिमाणमा आवादी जग्गाजमिन घटेको छ र अहिले पनि यो क्रम जारी छ । तैपनि भएका खेतबारीहरूमा खेती गर्ने हो भने नेपाल अझै पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छ तर नेपालका अधिकांश ऊर्जाशील युवाशक्ति विदेशी भूमिमा श्रम गर्न जाने गरेका छन् । यसको कहालीलाग्दो तथ्यांक छ । त्यसले गर्दा नेपालका अधिकांश जग्गाजमिन बाँझै छन् । शारीरिक श्रम गर्न कोही पनि चाहँदैन, सबै जना मलेसिया, कतार, दुबई, साउदीअरब, दक्षिण कोरियालगायत देशमा श्रम गर्न जाने गर्छन् । ती ठाउँहरूमा नेपालीहरू अत्यधिक संख्यामा रहेका छन् ।

त्यही अनुपातमा नेपाली गाउँघर चाहिँ रित्तिँदै छन् । यिनै विविध कारणले हामी खाद्य समस्यामा पर्नसक्छौं । आफैंलाई अपुग होला कि भन्ने कारणले भारतले चामल निकासी नगर्ने नीति लिएसँगै त्यसको प्रत्यक्ष मारमा नेपाल पर्ने देखिन्छ । फेरि नेपालमा कुनै सानो हल्ला मात्र भयो भने पनि सबैले आवश्यकताभन्दा बढी उपभोग्य सामग्री किनेर सञ्चित गर्ने प्रवृत्ति छ । यसले गर्दा कृत्रिम संकट देखिन आउँछ । यस्तो मौका पाउनासाथ कृत्रिम अभाव सिर्जना गर्नेहरूको संख्या पनि हृवात्तै बढ्ने गर्छ । मुनाफाखोर कालाबजारियाहरूले भएको खाद्यान्नसमेत लुकाउने गर्छन् र अत्यधिक महँगो मूल्यमा बेच्ने गर्छन् । यी विविध कारणले गर्दा सरकार र सरकारका सरोकारवाला निकाय अत्यन्त सतर्क हुनु आवश्यक छ ।

पहाडी क्षेत्रमा विविध खाद्य पदार्थमा त्यहाँका मानिसहरू निर्भर भए तापनि राजधानी उपत्यका, अन्य शहरी क्षेत्र र तराई क्षेत्र चामलमै निर्भर रहने गरेको छ । केही कृषि वैज्ञानिकहरूले हामी थोरै अन्नमा निर्भर रहँदै आएको कारणले कुनै संकट सिर्जना भएर भोलि ती सीमित अन्नहरू लोप हुन गए भने आठ अर्ब मानिस त्यसबाट प्रभावित बन्नपुग्छन् भनेर चिन्ता व्यक्त गरेका छन् । तीस हजार पहिचान गरेका, तीन हजार अप्रत्यक्ष रूपमा उपभोग गर्दै आएका, तीन सय खेती गरिएका र प्रत्यक्ष रूपमै उपभोग गर्दै आएका तीस प्रकारकामा निर्भर रहने गरेको भए तापनि मानिस अत्यधिक मात्रामा चाहिँ धान, गहुँ र मकै तीन वटा खाद्यान्नमा मात्रै निर्भर छ ।

भोलिका दिनमा यिनको संरक्षणमा हामी चुक्यौं भने र ती लोप हुने अवस्थामा पुगे भने पृथ्वीको यो अधिक जनसंख्या बाँच्ने कसरी ? यो अत्यन्तै गम्भीर प्रश्न हो । सबैले आफ्ना लागि आफैंले नै त्यसको व्यवस्था गर्नुपर्छ अरूको मुख ताकेर बस्नु हुँदैन । परमुखापेक्षी बन्नाले उसले खटाएर दिएको मात्रै पाइने हो । तिनलाई बढी भयो भने बिक्री गर्छन् वा केही टन अनुदानमा दिन्छन् तर अहिले पश्चिमी देशहरूमा पनि खाद्यान्नको कमी हुँदै गएको भनिएको अवस्थामा विभिन्न देशहरूले खाद्यान्नको निकासीमा रोक लगाउने गर्छन् । अहिले भारतले गरेको पनि त्यही हो ।

अहिले निकासीमा छुट दिँदा भोलि कथंकदाचित आफैंलाई नै खाद्य संकट हुने पो हो कि भनेर भारतले बेलैमा निकासीमा रोक लगाएको छ । हामीले पनि अहिल्यैदेखि विकल्प खोज्नुपर्ने अवस्था छ । उत्पादन बढाउने, निकासी गर्न नदिने, कृत्रिम अभाव सिर्जना गरेर हाहाकार गराउनेलाई कडा कारबाहीको व्यवस्था गर्ने कार्य गर्नैपर्ने हुन्छ । सरकारको उपस्थिति सधैँ सबै ठाउँमा रहनुपर्छ नत्र मौकामा चौका हान्ने कालाबजारी र माफियाहरूका कारण आमजनताले दुःख पाउनुपर्ने अवस्था सिर्जना हुनपुग्छ । जनता पनि यसतर्फ सचेत रहनै पर्छ भने सरकारले यसका लागि चौतर्फी ध्यान दिनुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?