माओवादी बैठक : तीनमहिने रूपान्तरण अभियान घोषणा

पार्टी एकताबद्ध भएको उद्घोष, अध्यक्ष प्रचण्ड सातै प्रदेशका सातवटा वडामा जाने

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । गत बुधबारबाट काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो । केन्द्रीय कमिटी बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । अभियान आगामी भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिनेछ । अभियानअन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातवटै प्रदेशका ७ वटा वडामा जानेछन् । त्यहाँ गएर आफूले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमा परिचालन हुनेछ । अहिलेको जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने काम हुनेछ । सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने अभियान छ पार्टी पंक्तिलाई सहभागी गराउन काम हुनेछ ।’ आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पाँच दिनसम्म चलेको बैठक सोचेको भन्दा सजीव र जीवन्त रूपले सम्पन्न भएकोमा आफूलाई खुसी लागेको उल्लेख गर्दै भन्नुभयो, ‘यो बैठकमा बहसहरू भए । बहस र छलफलबाट हामी नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेका छौँ’ । हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको छ ।’ अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको स्पष्ट पार्दै जनवादको उच्चतम थलोका रूपमा बैठक रूपान्तरण भएको दाबीसमेत गर्नुभयो ।

वडा वडामा गएर काम गर्न अध्यक्षको निर्देशन
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले वडा वडामा गएर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सम्बोधनका क्रममा बैठकको निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेका छौँ । जनतासँग माओवादी विशेष अभियान भनेर जनतासँग जोडिने र ६ हजार सात सय वडामा पुगेर तीनमहिने अभियान चलाउने निष्कर्षमा पुगेका छौँ ।’

आफू पनि सातवटै प्रदेशमा एकएक वडामा पुग्ने घोषणा गर्नुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म पनि सातवटा प्रदेशका सातवटा वडामा पुगेर जनताको भावना बुझ्ने र सबै केन्द्रीय सदस्य वडामा पुग्ने निष्कर्ष यो बैठकको छ । त्यसक्रममा जुनसुकै पार्टीमा आस्था राख्ने भए पनि देशभरका कुनै पनि घरपरिवार नछोडी जनताका घरमा पुग्नेछौँ । एउटा पनि जनताको घर नछोड्ने, शहीद बेपत्ता, सबै घरपरिवारसँग तीनमहिने अभियान चलाएर विधान सम्मेलनमा फर्कनेछौँ ।’

बैठकसँगै पार्टी एकताबद्ध भएको सन्देश गएको र माओवादीले फेरि देशको नेतृत्व लिने उद्घोष गर्नुभएका प्रचण्डले भन्नुभयो, ‘अब यो बैठकबाट निक्लँदै गर्दा यो भन्न सक्छौँ कि हामी एक ढिक्का भएका छौँ, विधि पद्धतिभन्दा बाहिर जाने छैनौँ । सरकारका काम जनतासँग स्थापित गरेर परिवर्तनको स्वामित्व लिनेगरी जनतामा जानेछौँ, विचार र राजनीतिमा मात्र होइन, हामी सबैका लागि यो खुसी र भावनामा पनि एक भएका छौँ । माओवादी अब फेरि जाग्नेछ । जनताको भावना र चाहना सम्बोधन गर्न बैठकले नयाँ उज्यालो दिएको छ ।’

नेतृत्वको वरिपरि गोलबद्ध हुन आहृवान
पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको मूल नेतृत्वको वरिपरि सबै नेतृत्व गोलबन्द हुन आहृवान गर्नुभएको छ । बैठकमा प्रवेश गर्दा पार्टीका नेताबीच पनि आशंका,अविश्वास हो कि भन्ने आशंका रहे पनि बैठकबाट निक्लिँदै गर्दा गलत सावित भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विचार र राजनीतिमा मात्रै गोलबन्द भएका छैनौँ कि हामी सबैको निम्ति यो खुसी र गर्वको कुरा हो, हामी भावनात्मक रूपमा पनि एकताबद्ध भएका छौँ ।’

सरकारले गरेका कामका साथै परिवर्तनका उपलब्धिको पनि पार्टीले स्वामित्व लिने गरी जनतामा जानुपर्ने धारणा राख्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माओवादीले फेरि देशको नेतृत्व लिने गरी अगाडि बढ्नेछौँ । हामी यसै पनि युगान्तकारी परिवर्तनको नेतृत्व लिने पार्टी हौँ । बीचमा कताकता केही अन्योलमा परेजस्तो भएको थियो । यो बैठकले पार्टी र देशलाई उज्यालो दिएको छ ।’

भ्रष्टाचारविरोधी अभियानमा साथ दिन आहृवान
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरोधी अभियान भइपरी नभई योजनाबद्ध तरिकाले सञ्चालन गरिएको दाबी गर्नुभएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारको अभियानलाई साथ दिन निर्देशन दिँदै भन्नुभयो, ‘यो भ्रष्टाचारविरोधी अभियान भइपरी आएर गरेको होइन । योजनाबद्ध तरिकाले लिएर जाने र त्यसको नेतृत्व माओवादीले नै गर्नुपर्छ । माओवादीले गरेन भने त्यसको नेतृत्व अरू कसैले गर्न सक्दैन भनेर योजनाबद्ध तरिकाले अघि बढेका हौँ । हामी यसलाई त्यतिकै छाड्दैनौँ, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला ।’

पुरानो तरिका त्याग्न आग्रह
अध्यक्ष प्रचण्डले विश्व कम्युनिष्ट आन्दोलन शास्त्रीय कम्युनिष्टहरूको जस्तो तरिकाबाट अघि बढ्न नसकेको बताउनुभएको छ । अहिलेको कम्युनिष्ट आन्दोलन माक्र्स एंगेल्सको पालामा जस्तो नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अध्यक्षले अहिले विश्व कम्युनिष्ट आन्दोलन अहिले माक्र्स एंगेल्सको पालाको जस्तो छैन । त्यतिबेला जस्तो ध्रुवीकरण हुने बेला छैन । अहिले ग्लोबलाइजेसनको जमाना छ, सूचना प्रविधिको चरम विकास भएको अवस्था छ । यो बेलामा माक्र्सवादको चरम खोजी हामीले गरिरहेका छौँ । पुरानो तरिकाले त्यो भेटिन्नँ ।’

अध्यक्ष प्रचण्डले अब माओवादी र जनयुद्धको कुरा गरेर मात्रै नहुने बताउनुभयो । केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी माओवादी र जनयुद्धकारीको पृष्ठभूमिबाट आएका मात्रै छैनौँ । अब उनलाई मात्रै सम्बोधन गरेर तीनको मात्रै विचारको कुरा गरेर अब हुन्न । तपाईं हामी सबैले अलिकति परिस्थतिमा आएको नयाँपनलाई हेक्का राखेर आफ्ना अभिव्यक्तिहरू प्रस्तुत गर्न जरुरी छ ।’

अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध खुलेका सबै फाइल एउटा निचोडमा नपुगेसम्म बन्द नहुने जिकिर गर्नुभएको छ । सुशासन र समृद्धिको कुरा उठाएपछि पार्टी नेतृत्वविरुद्ध मुद्दा चलाइएको दाबी गर्ने प्रचण्डले भन्नुभयो, ‘हामीले सुशासन र समृद्धिको कुरा उठाएपछि हाम्रो पार्टीको नेतृत्वविरुद्ध दुई/दुईपटक गिरफ्तार र जेल हाल्नुपर्छ भनेर मुद्दा हालियो । एकपटक हत्याराका रूपमा र अर्काेपटक बालसिपाही प्रयोग गरेको भनेर । अहिले हाम्रो नेतृत्वमा सरकार भएर सामाजिक न्यायको पक्षमा काम गर्ने संकल्प भएपछि हेर्नुस् त हामीमाथि यति ठूलो प्रहार भयो ।’

जिम्मेवारी हेरफेर
नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकका बीच अध्यक्ष प्रचण्डले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको हो । जसअनुसार बागमती प्रदेश इञ्चार्जको जिम्मा उपमहासचिव जनार्दन शर्माले पाउनुभएको छ भने अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ । यस्तै, कोशीको इञ्चार्जमा चक्रपाणी खनाल, गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, मधेशको इन्चार्ज लिलामणि पोखरेल, कर्णालीको इञ्चार्ज मातृका यादव र सुदूरपश्चिमको इञ्चार्जमा डिलाराम आचार्य तोकिएका छन् । जनसंगठन विभाग प्रमुखमा पम्फा भुसाल, प्रचार विभागमा अग्निप्रसाद सापकोटा, बुद्धिजीविमा दिनानाथ शर्मा, विज्ञान तथा प्रविधि विभागमा गणेश साह र प्रवासमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मा उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । यसअघि बागमतीमा हितमान शाक्य, कोशीमा राम कार्की, मधेशमा गणेश साह,गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, लुम्बिनीको इञ्चार्जमा हितमान शाक्य, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इञ्चार्ज हुनुहुन्थ्यो । केन्द्रीय कमिटीको बैठकमा बोल्ने क्रममा शनिबार उपमहासचिव जनार्दन शर्माले अध्यक्षको आलोचना गर्दै पार्टीमा नेतृत्व छनोटको प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएको थियो ।

सबै तहका कमिटी निर्वाचनमार्फत चयन गर्ने
नेकपा माओवादी केन्द्रले सबै तहका कमिटीहरू निर्वाचनमार्फत चयन गर्ने निर्णय गरेको छ । परम्परागत ढंगले कमिटीहरू गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका निकाल्दै अबदेखि निर्वाचन पद्दतिमार्फत कमिटीहरू गठन गर्ने निर्णय गरेको हो । माओवादीले अहिलेसम्म अधिकांश पार्टी कमिटी चयन गर्दा टीके प्रथाबाट गर्दै आएको थियो । माओवादी केन्द्रकी केन्द्रीय सदस्य नारायणी शर्माले बैठकले पार्टी तथा जनसंगठनका सम्पूर्ण कमिटीहरू निर्वाचनमार्फत चयन गर्ने जानकारी दिनुभयो । यस्तै, बैठकले आइटी फोरम नेपाल सञ्चालन गर्ने भएको छ । पार्टी केन्द्रीय सदस्य युवराज दुलालले ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?