प्राणी : बिभर

विनोद दाहाल वत्स
Read Time = 4 mins

म बिभर हुँ । म मुसा वर्गको शाकाहारी प्राणी हुँ तर म मुसाभन्दा धेरै ठूलो हुन्छु । संसारमा भएका विभिन्न प्रकारका प्राणीका स्वभाव फरक–फरक हुन्छन् । त्यसैगरी मेरो स्वभावमा पनि अरू प्राणीहरूसँग नमिल्ने केही विशेषता छन् ।

म युरोपका विभिन्न ठाउँ तथा उत्तर अमेरिकामा पाइन्छु । म ६० सेन्टिमिटरदेखि एक मिटरसम्मको हुन्छु । मेरो पुच्छरमात्र ३० सेन्टिमिटरको हुन्छ । म चारखुट्टे जनावर हुँ । म घना जंगलबीचका नदी किनारहरूमा बस्ने गर्छु । पानीमा उम्रिने मसिना झारपात, रूखका पात, जरा र बोक्राहरू नै मेरा आहारा हुन् । मैले पानीलाई अभिन्न साथी बनाउने गरेको छु । म सधैं पानीको वरिपरि मात्र बस्ने गर्छु ।

म एउटा सिपालु कालिगढ पनि हुँ । म आफू बस्ने घर आफैं चिटिक्क पारेर बनाउँछु, अरू प्राणीले खनेका प्वाल वा बनाएका गुँढमा म बस्दिनँ । घर बनाउनका लागि बाँध बनाएर पानी जमाउँछु र बाँधमाथि सुरुङ बनाई त्यसमा बस्ने गर्छु । यसरी बाँध बनाउनाले मलाई आहारा खोज्ने काममा पनि सजिलो हुन्छ । बाँध बनाउँदा जमेको पानीमा विभिन्न किसिमका वनस्पति तैरिन्छन् र म तिनै वनस्पतिलाई खाने गर्छु । म मेरो घर हिलो र ढुंगाहरूको सहायताले बनाउँछु । सुकेका घाँसपात, जरा र झिरीमिटीहरू मिलाएर घरलाई न्यानो बनाउँछु ।

मेरा दाँत निकै तीखा हुन्छन् । तिनले म रूखलाई दारेर लडाउन सक्छु । रूखका बोक्रा दारेर खान्छु र केही दिनमै रूखको भित्री कडा भाग पनि दारेर लडाउँछु । यसरी लडाएका काठहरूलाई पनि बाँध बाँध्नमै प्रयोग गर्छु । अगाडिका चारवटा तीखा दाँत र अगाडिका खुट्टाका नंग्रा नै मेरा बलिया हतियार हुन् । यिनकै सहायताले म आहारा खोज्ने, शत्रुबाट जोगिने, घर बनाउने, बाँध बनाउने जस्ता काम गर्ने गर्दछु ।

जोडो मौसममा म अल्छी हुन्छु र गर्मी मौसममा म बढी सक्रिय भएर काम गर्ने गर्दछु । जाडोमा आफूले बनाएको सुरुङभित्र बसिरहन्छु । गर्मी महिनामै जाडाका लागिसमेत पुग्ने गरी आहारा सुरुङभित्र पु¥याएको हुन्छु र त्यही खाएर बस्छु । म आफ्नो आहारा खेज्ने काम प्रायः रातको समयमा गर्छु । नरम जातका रूखहरू लहरेपिपल, सल्लो, सिमल आदिका पात र बोक्राहरू म मीठो मानीमानी खाने गर्छु । मेरा जिउमा मसिना मुलायम रौं हुन्छन् । रौंसहितको मेरो छाला महँगो मूल्यमा बिक्ने र मासु पनि मीठो हुने हुँदा मानिसहरू मलाई खोजीखोजी मार्ने गर्छन् ।

मेरो वर्गमा प्रणीहरूको संख्या धेरै भए तापनि मेरो संख्या भने संसारमा घटिरहेको छ, धेरै छैन । मेरो घट्दो जनसंख्यालाई ध्यान नदिने हो भने म पनि लोप हुनसक्ने सम्भावनामा छु । त्यसैले मलाई संरक्षण गर्न मेरो सिकार रोकिनुपर्छ र राष्ट्रिय निकुञ्ज तथा आरक्षणहरूको व्यवस्था गरी मलाई जोगाउनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?