कृषिमा चिन्ताजनक अवस्था

हिमालय टाइम्स
Read Time = 6 mins

नेपालको कृषि प्रणालीमा वैज्ञानिकीकरण हुन अझै सकेको छैन । पाँच/छ दशकपहिलेदेखि नेपाल कृषिप्रधान देश हो भनेर पढ्दै आएका विद्यार्थीहरूको तेस्रो पुस्ताले समेत हालसम्म पनि त्यही रटान रटिरहनुपरेको छ । तर, नेपालको कृषि क्षेत्रको अवस्था भने सुधार भएर जानुको सट्टा दिनप्रतिदिन झन्झन् नाजुक बन्दै गइरहेको छ । प्रकृति त मानिसको नियन्त्रणमा हुँदैन तैपनि यसलाई केही हदसम्म रोक्न छेक्न र आफ्नो खेती बालीलाई संरक्षण गर्न मानिसले सक्छ । हामीसँग संशाधनको कमी छ । हाम्रो गरिबीले गर्दा हामीले त्यस्ता संशाधनको न त विकास गर्न सकेका छौं न त बाहिरी देशहरूबाट झिकाउनै सकेका छौं ।

हाम्रो कृषि प्रणाली पुरानै शैलीका कुटो-कोदालो र हलोजुवाकै सहयोगमा सञ्चालन भइरहेको छ । अन्य देशहरूमा रोप्ने गोड्ने, काट्ने भित्र्याउने जस्ता कृषिका सारा काम मेसिनकै माध्यमद्वारा गर्ने गरेको देखिन्छ तर हामी परम्परागत शैलीमै छौं । एकातिर त हाम्रो भौगोलिक बनोटले हामीलाई यस्तै पारेको छ । साना भिराला गराहरूमा खेती गर्नुपर्ने बाध्यता छ । त्यसमा ट्याक्टरजस्ता साधन लान मिल्दैन अनि हाते औजारहरूकै सहयोग लिनुपर्ने हुन्छ । यो हाम्रो नियति बनेर आएको छ । अर्कातिर आकाशे पानीको भर पर्नुपर्ने अवस्था धेरैतिर छ । नजिकै पानीको स्रोत नहुनाले कुलो-पैनी बनाउन नसकिने अवस्था छ ।

पलाउने खोला-खोल्सामा पानीका मुहान नहुँदा पानी लगाउन मिल्ने अवस्था हुँदैन । नेपालमा यस्ता ठाउँहरू धेरै छन् । धानबाहेकका अन्य बालीनालीलाई पानी धेरै चाहिँदैन । आकाशे पानीको भरमा पनि बाली लगाउन सकिन्छ तर धानबालीका लागि भने पानी नभई हुँदैन । कुनै स्रोतबाट पानी लगाउन नसकिने भए पनि आकाशको पानी जमाएर खेती गर्नुपर्छ । सबैतिरका खेत सिम खेत हुँदैनन् । त्यसकारण त्यस्ता खेतमा पानीविना रोपाइँ हुन सक्दैन । यस वर्ष पनि यस्तो परिस्थिति सिर्जना भएका कारण सतप्रतिशत रोपाइँ हुन सकेन । अब रोपाइँको समय सकिइसकेको छ । पानी नभएकाले तथा अन्य कारणले गर्दा यस वर्ष सात प्रतिशतले धान रोपाइँ घटेको तथ्यांक छ ।

यो घटेको प्रतिशत निकै नै ठूलो मात्रा । यसले गर्दा आगामी वर्ष हामीले बाहिरबाट आयात गर्ने खाद्यान्नमा वृद्धि गर्नुपर्ने हुन्छ । हामी त्यसै पनि आयात नै गर्दै आएकै छौं । पहिले पहिले हाम्रो देशबाट धानचामल, तेलहन, दलहन बाहिर निकासी हुन्थ्यो । बिस्तारै यसमा कमी हुँदै आएर हामी आत्मनिर्भर बन्न छोड्दै गयौं र विदेशबाट पैठारी गरेर खान थाल्यौं । यस्तो अवस्थाले गर्दा भोलिका दिनहरूमा त्यसरी हामीलाई खाद्यान्न बिक्री गर्ने देशहरूले त्यसो गर्न छोडे भने हाम्रो अवस्था कस्तो होला भनेर अनुमान गर्न सकिन्छ । खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने मुलुकले जुनसुकै बेला भोकमरीको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

हामी यही अवस्थामा पुगेका छौं । कृषिका लागि आवश्यक पर्ने औजारदेखि मल, बिउ, रासायनिक विषादीलगायत कुरा विदेशबाटै झिकाएर प्रयोग गर्नुपर्ने र त्यति गर्दा कृषिउपज अपुग भएर विदेशबाटै आयात गर्नुपर्ने अवस्था विडम्बनै हो । त्यसमाथि प्रकृति पनि प्रतिकूल बनीदिनाले कृषि हाम्रा लागि सहज बन्न सकेको छैन । विभिन्न कारणले गर्दा युवा पुस्ता कृषिबाट पलायन बन्दै गइरहेको छ । वैदेशिक रोजगार र शहरमुखी प्रवृत्तिले गर्दा गाउँघर उजाडिँदै गएका छन् र गाउँका खेतबारी बाँझै रहन थालेका छन् ।

यहाँ भएको जनशक्तिले दुःखसुख गर्दै आएको कृषि प्रणालीमा पनि विभिन्न प्राकृतिक कारणले गर्दा हुनुपर्ने जति रोपाइँ नभएकाले भोलिका दिनमा खाद्यसंकट आइपर्नसक्छ भनेर पूर्वानुमान गर्नु अन्यथा नहोला । हामीले डेमोक्लेसको थाप्लामाथिको तरबारको अवस्थामा बाँचिरहनुपर्ने र कुन दिन विदेशी राष्ट्रहरूले हामीलाई पठाउँदै आएको खाद्यान्नमा रोक लगाउनासाथ खाद्य संकट पर्ने निश्चित छ । हामीले यसको विकल्प खोज्न थालिहाल्नुपर्छ । वर्षभरिका लागि पुग्ने गरी खाद्यान्न आयात गरेर खाद्यकोष बनाएर राख्ने वा पछिका लागि कुनै देशसँग खाद्य सम्झौता गर्ने अथवा आफ्नै देशभित्र अरू खेतीको प्रवद्र्धन गर्ने हो त्यसतर्फ कदम चालिहाल्नुपर्छ नत्र पछि अप्ठ्यारो अवस्था सिर्जना हुन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?