ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई

हिमालय टाइम्स
Read Time = 2 mins

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा सुनसरीको जुट विकास फुटबल एकेडेमीलाई एक-शून्य गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ३१औँ मिनेटमा इलामका शरण बस्नेतले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । खेलको सुरुवाती समयदेखि नै सुनसरीले इलामलाई दबाबमा राखेको थियो तर गोल गर्न भने सकेन । जितसँगै इलामले तीन लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुनसरीले एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता र उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमलगायतले पुरस्कार वितरण गर्नुभयो । लाखेजात्राका अवसरमा बिहीबारदेखि सञ्चालित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ फुटबल क्लबसहितका आठ टिम सहभागी थिए ।

लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको थियो । विसं २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । कोभिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ ।

जिल्लाको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास र इतिहासको निरन्तरताका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?