यादवमाथिको आक्रमण निन्दनीय

हिमालय टाइम्स
Read Time = 8 mins

बुधबार नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी आक्रमण भयो । जुन अत्यन्त निन्दनीय छ । सम्भवतः नेतामाथि यसरी सार्वजनिक रूपमा हाकाहाकी हतियार प्रहार भएको यो पहिलो घटना हो । यसबाट केही प्रश्नहरू निश्चय उठेका छन् । राजनीति गर्नेहरूलाई लक्षित गरेर आक्रमण किन भयो ? यसको सोझो उत्तर हुनसक्छ : राजनीति र राजनीतिज्ञहरू जनअपेक्षित भएनन् । तर यस्तो निष्कर्ष निकाल्नु गलत हुनेछ । किनभने राजनीतिभित्र अराजक वातावरण सिर्जना गर्नेहरूको सक्रियता बढिरहेको छ । वातावरणलाई धमिल्याएर आपूm त्यसबाट फाइदा लिन तम्सने वा किनारामा बसेर रमिता हेर्नेहरूको पनि कमी छैन । महेन्द्र यादवमाथिको प्रहार यस्तै कुनै कारण हुनुपर्छ । नत्र यो व्यक्तिगत रिसइबीका कारण सिर्जित परिस्थिति हो भन्ने ठाउँ छैन ।

आतंकवादी तत्वहरूको प्रभाव भएका राष्ट्रहरूमा यस्ता गतिविधि दिनहुँ भइरहन्छन् । साना-ठूला घटनाहरूले स्थान पाइरहन्छन् तर नेपालजस्तो शान्त देशको राजनीतिमा त्यस प्रकारका घटना बिरलै मात्र भएका छन् । छिटपुट केही घटना भएका छन् तर ती कतै न कतै कुनै व्यापारिक, व्यावसायिक, तस्करी वा अन्य ठाउँका आतंककारी संगठनहरूसँगको संलग्नतासँग जोडिएका हुन्छन् । सांसद मिर्जा दिल साद बेगको दिनदहाडै काठमाडौंको सिफलमा गोली हानेर गरिएको हत्या भने एउटा यस्तै घटनाको उदाहरण हुनसक्छ, नत्र अन्य जे जस्ता घटना भएका छन् ती कतै न कतै व्यक्तिगत रिसइबी, क्षणिक आक्रोश वा राजनीतिप्रतिको वितृष्णाबाट पैदा भएको परिणाम बन्ने गरेका छन् ।

सुशील कोइराला, झलनाथ खनाल, पुष्पकमल दाहाल, पूर्णबहादुर खड्काहरूमाथि पनि सामान्य खालका आक्रमण भएकै हुन् तर ती आक्रमण कि आफ्नै कार्यकर्ताबाट वा विपक्ष भनिएका तर ठूलो खालका आक्रमण गर्न नसक्नेहरूबाट भएका थिए । तीमध्ये धेरैलाई त उहाँहरूले नै आफ्नो कार्यकर्ता भएका कारण छोड्न लगाउनु भएको थियो भने केहीलाई त पक्राउ नै गरिएन । केहीलाई छोड्दाको धरौटी रकमसमेत पिटाइ खाने नेताले नै तिरिदिनु भएको थियो । नेपाली शैलीका सानातिना गालामा लबटा लगाउने लात्तीमुड्कीका आक्रमण भने सामान्य मान्नुपर्छ । हाम्रै छिमेकी दक्षिण एशियाली मुलुकहरूकै ठूलाठूला आत्मघाती आक्रमणलाई हेर्ने हो भने हाम्रामा यसअघि भएका नेताहरूमाथिका आक्रमण सामान्य हुन् ।

महेन्द्र यादवमाथि भने हतियारै प्रहार भएको छ । त्यसैले यो गम्भीर खालको आक्रमण हो । प्रहार कर्ताको पहिचान पनि भएको छ र उनले यादवको भाषण रिपोर्टर क्लबको अग्रपंक्तिमा बसेर सुनेका थिए । त्यसपछि पछ्याउँदै आएर खुकुरी प्रहार गरेको कारण यो प्रहार उनको आवेशप्रेरित होइन किनभने तत्कालको आक्रोशका कारण उनले यादवमाथि आक्रमण गरेका हुन् भने उनीसँग खुकुरी हुने थिएन । झोलामा खुकुरी बोकेर आएको कारण यो नियतपूर्वक गरिएको आक्रमण हो । श्यामबहादुर सापकोटा योजनाबद्ध रूपमा आएका र यादवलाई आक्रमण गरेका हुनाले अनेकौं प्रश्नहरू पैदा भएका छन् । भन्न त सापकोटाले आफू राजावादी हुँ भनेका छन् तर राजावादीहरूको संख्या हेर्ने हो भने नेपालमा निकै ठूलो छ र यसरी अराजकता मच्चाउने रूपमा प्रकट भएको छैन । यदि यस्तो आक्रमण राजावादीहरूबाट भयो भने त्यो अरूका लागि भन्दा पनि पूर्वराजा, उहाँका पक्षमा कार्यरतहरूकै लागि नोक्सानदायी हुनेछ ।

लक्ष्यकासाथ सिद्धान्त बनाएर अघि हिँडेको उनीहरूको संख्या पर्याप्त रहेको अवस्थामा र उनीहरूबाट अहिलेसम्म कसैमाथि आक्रमण नभएको स्थितिमा सापकोटाले यादवलाई राजनीतिक आस्थाका कारणले मात्र खुकुरी प्रहार गरेर आपूm राजावादी हुँ भन्नुले राजावादीहरूको सहानुभूति प्राप्त गर्न चाहेको स्पष्ट हुन्छ । तर, सापकोटा खासमा राजावादी नै हुन् भने त राजावादीहरूको साख यस घटनाले उच्च हुने होइन गिर्न पुगेको छ । जे होस् नेताहरूमाथि दिनदहाडै हतियार प्रहार हुनु सामान्य घटना होइन । अनेक थरी तत्व अनेक प्रकारले छचन्डाइरहेको अवस्थामा यस्तो घटना हुनु सोचनीय छ । सरकारले यसतर्फ विचार पुर्‍याउनुपर्ने हुन्छ भने सुरक्षा निकायहरूका लागि यो एउटा ठूलै सुरक्षा थ्रेट हो ।

काठमाडौंको मुटुमा रहेको भृकुटीमण्डपमै दिनदहाडै यस प्रकारको घटना हुनुले अरू दुर्गम ठाउँहरू जहाँ प्रहरी प्रशासनको उपस्थिति छैन त्यहाँको अवस्थाको चित्रण स्वतः नै हुनपुग्छ । यसका साथै राजनीति गर्नेहरूले पनि गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता छ । राजनीति गरेर आपूmले जनताका सहयोगी भई काम गरिरहेको छु कि जनताको मित्र बन्न सकिरहेको छैन भनेर हेर्नुपर्ने अवस्था वर्तमान राजनीतिले सिर्जना गरिरहेको छ । जनता माझ लोकप्रियता बन्नुको सट्टा राजनीति गर्नाले आफू उनीहरूसँग शत्रुतापूर्ण अवस्थामा पो पुगेको छु कि भनेर सोच्नु सान्दर्भिक हुन्छ । अर्कोतर्फ यस्ता अक्रमणकारीले कानुनले तोकेको हदसम्मको दण्डसजाय पाउनुपर्छ । जनताको सूचनाको हकलाई कदर गर्दै आक्रमणकारी मनोरोगी वा कुनै राजनीतिक आस्था भएको व्यक्ति वा व्यक्तिगत रिसइवी लिएर यस्ता कार्यमा संलग्न भएको हो सो जानकारी सबैले पाउनु आवश्यक छ । हामी यादवमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्छौं र उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?