मलेसियामा कम्पनी छाडेर भाग्दै नेपाली कामदार

रमेश भारती
Read Time = 8 mins

काठमाडौं । मलेसिया वैदेशिक रोजगारीमा कार्यरत उदयपुरका मनिराज राई एक वर्षदेखि अवैध भएर काम गर्दै आउनुभएको छ । राई नेपालबाट गएको भन्दा अर्को कम्पनीले नौ सय रिंग्रेट बढी तलब दिने भएपछि कम्पनी छाडेर भागेर अर्कैै कम्पनीमा काम गर्दै आएको बताउनुहुन्छ । ‘नेपालबाट नौ सय रिंग्रेटमा आएको थिए । मलेसिया आएर काम गर्न थालेको दुई वर्षसम्म तलब नबढेपछि कम्पनीबाट भागेर अर्को कम्पनीमा पुगेपछि एक हजार सात रिंग्रेट तलब पुग्यो ।’ उहाँले भन्नुभयो, ‘बाहिर हिँड्न समस्या हुन्छ । अहिले कार्यरत कम्पनीले तलब बाहेकका सुविधा दिँदैनन् । आठ घण्टा काम गरेको तलब र ओभरटाइम काम गरेको पैसा समयमा दिन्छ ।’

कम्पनी छाडेर भागेपछि आफ्नो साथमा राहदानी नभएका कारण पैसा नेपाल पठाउन समस्या र मलेसियन प्रहरीले समाउँछ भन्ने डर बढी भएको उहाँको भनाइ छ । राई मलेसियाको रबर कम्पनीमा काम गर्न जानुभएको थियो । हाल, उहाँ बंगुर कृषि फार्ममा लुकेर काम गर्दै हुनुुहन्छ ।

राई जस्तै सिन्धुलीका धीरेन्द्र भुजेल पनि मलेसियामा अवैध भएर सात महिनायता काम गर्दै आउनुभएको छ । उहाँले पनि नेपालबाट आउँदाजस्तो सेवा-सुविधा र तलब नपाएका कारण कम्पनी छाडेर भाग्नुपरेको जानकारी दिनुभयो । म्यानपावर कम्पनीले मलेसिया आउँदा एउटा काममा करार गराएर अर्के काममा पठाएको कारण भाग्नुपरेको उहाँले बताउनुभयो । ‘मलेसिया आएको सात महिनामा भागेँ । म्यानपावरलाई तीन लाख रुपैयाँ लागत खर्च तिरेर आएको थिएँ । सात महिनामा पनि ऋण तिर्ने सकिनँ । त्यही भएर कम्पनी नै छाडेर भागेपछि अहिले मासिक ७० हजार कमाउँदै छु ।’ उहाँले भन्नुभयो, ‘मलेसिया रोजगारीमा आएका धेरै नेपालीहरू कम्पनी छाडेर भाग्दा रहेछन् । हामीभन्दा पहिला आएका साथीहरूको सहयोगमा आफूपनि कम्पनी छाडेर भागेपछि मासिक दुई हजार पाँच सय रिंग्रेट कमाउन थालेको छु । म अहिले मलेसियाको उखु संकलन केन्द्रमा कार्यरत छु ।’ साथमा राहदानी र नेपाली हुँ भन्ने कुनै प्रमाण नभएका कारण मलेसियन प्रहरीको फन्दा पर्ने त्रास भएको उहाँको भनाइ छ ।

राई र भुजेलजस्तै धेरै मलेसिया रोजगारीमा पुगेका नेपाली कामदार बढी कमाउने, राम्रो रोजगारी र सजिलो कामको खोजीमा कम्पनी छाडेर भाग्ने गरेको पाइन्छ । मलेसिया पुगेका नेपाली कामदार कम्पनी छाडेर भाग्ने र समस्या पर्ने क्रम बढ्दै गएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले मलेसियामा म्यानुफ्याक्चरिङको रोजगारीमा आएका धेरै महिला र पुरुष कामदारहरूले कम्पनी छाड्ने भाग्ने क्रम बढेको दूतावासले यही साता गरेको एक कार्यक्रममा जानकारी गराएको थियो ।

व्यक्तिगत बुझाइभन्दा पनि अन्यत्र राम्रो पैसा कमाउने लोभमा लागि झुटो आश्वासन दिने गिरोह र बिचौलियाको भरमा परेर रोजगारदाता छाडेर भाग्ने क्रम बढेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढथापाले जानकारी दिनुभयो । उहाँका अनुसार मलेसिया म्यानुफ्याक्चरिङको रोजगारीमा आएका धेरै महिला कामदारहरूले कम्पनी छाडेर भाग्ने गरेको सूचना निरन्तर आइरहेको छ । यो विषयमा दूतावासले मलेसियामा कार्यरत कामदारलाई सामाजिक सञ्जाल र अन्य प्रविधिमार्फत जानकारी गराउँदै आएको उहाँले बताउनुभयो ।

मलेसियामा कम्पनी छाडेर अवैधानिक अवस्थामा रहेकाहरूलाई त्यहाँको प्रहरीले समेत लुटपाट गर्ने गरेको दूतावासमा सूचना आएको द्वितीय सचिव बुढाथापाले जानकारी दिनुभयो । मलेसियामा पुरुष कामदार सेक्युरिटी, होटल तथा सर्भिस, म्यानुफ्याक्चरिङ, प्लान्टेसनको काममा जाने गरेका छन् भने महिला कामदारहरू बढी मात्रामा म्यानुफ्याक्चरिङ र क्लिनरको रोजगारीमा आएको दूतावासले जनाएको छ । मलेसिया म्यानुफ्याक्चरिङ र क्लिनरको रोजगारीमा आएका कतिपय महिला कामदारले घरेलु काम पनि गरेका कारण पनि मलेसियामा कार्यरत नेपाली कामदारकै सहयोगमा कम्पनी छाडेर भाग्ने गरेको दूतावासको भनाइ छ ।

६ महिना प्रतिबन्ध
हाल मलेसियामा ८० देखि ९० हजारको संख्यामा नेपाली कामदार अवैध रूपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ । जसमा धेरै श्रम अवधि सकिएका र कम्पनी छाडेर भागेका कामदार रहेको दूतावासले जनाएको छ । मलेसियामा भागेर अवैध रूपमा बस्ने कामदारलाई पुनः मलेसिया प्रवेशका लागि कम्तीमा ६ महिना प्रतिबन्ध लगाउने कानुनी व्यवस्था छ । मलेसिया सरकारले अवैधानिक अवस्थामा रहेकाहरूलाई जरिवाना छुट दिएर स्वदेश फिर्ता गराउने कार्यक्रम ‘बंकुश’ खुला गर्ने गरेकोे छ । हाल मलेसियामा अवैधानिक रूपमा बसेर काम गर्दै आएको कतिपय नेपाली स्वदेश फर्किने यो कार्यक्रमको प्रतीक्षामा रहेको दूतावासले जनाएको छ ।

हाल मलेसियामा साढे पाँच लाख नेपाली कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । अवैध रूपमा बसेर रोजगारीमा कार्यरत नेपाली कामदारलाई वैधानिक बनाउन सरकारले चालु आर्थिक वर्षदेखि विदेशबाट पनि पुनः श्रम स्वीकृति जारी गर्न थालेको छ । तर, कानुनी फन्दामा पर्ने डरले धेरै वैदेशिक रोजगारीमा कार्यरत कामदारले यो सुविधा लिन चासो नदेखाएको विभागकै बुझाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?