स्लोभानियन दम्पतीले ग्रेट हिमालयन ट्रेलको यात्रा गर्दै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सन् १९९०मा एकसाथ सगरमाथा आरोहण गरेर विश्वकिर्तिमान राख्नुभएका स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्ज अब नेपालको सबैभन्दा लामो ग्रेट हिमालयन ट्रेलको यात्रामा निस्कने हुनुभएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गर्दै आन्द्रेज र मारिजाले चार महिना समय लगाएर ग्रेट हिमालयन ट्रेलको यात्रा गर्न लागेका जानकारी गराउनुभएको हो । सो यात्रा कञ्चनजंगाबाट शुरु भएर हिल्सामा पुगेर अन्त्य हुने जनाइएको छ ।

नेपाल पर्वतारोहण संघले उहाँहरू एक असाधारण साहसिक पदयात्रामा निस्कन लागेको जनाएको छ । १३ सेप्टेम्बर (२७ भदौ)मा यात्रा सुरु गर्ने तयारीमा रहनुभएका उहाँहरूले कुल ११० दिनको पदयात्रा नेपालमा गर्ने हुनुभएको छ ।

यो जोडीले सुदूरपूर्वी नेपालको ताप्लेजुङबाट ग्रेट हिमालयन ट्रेलको यात्रा प्रारम्भ गर्नेछ । पूर्वी ताप्लेजुङको कञ्चनजंघा नर्थ आधार शिविरबाट सामान्यतया ग्रेट हिमालयन ट्रेलको यात्रा सुरु हुन्छ । पश्चिममा हुम्लाको हिल्सामा ग्रेट हिमालयन ट्रेलको यात्रा समाप्त हुन्छ ।

यो रुटको कुल लम्बाइ १७ सय किलोमिटर छ । यस रुटभित्र नेपालका उत्कृष्ट पदयात्रा रुटहरू समेटिएका छन् । उच्च पहाडी तथा हिमाली ट्रेकिङ रुटहरू समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा विकास गरिएको हो । कतिपयले भने ग्रेट हिमालयन ट्रेलको यात्रा दार्चुलासम्म पुगेर अन्त्य गर्ने गर्छन् ।

संघका अनुसार यो जोडीले १३ सेप्टेम्बरबाट थालेको यात्रा १ जनवरी २०२४ मा सक्ने योजना बनाएका छन् । उहाँहरूको साथमा दुईजना पदयात्री गाइडसमेत रहने भएका छन् । संघले उहाँहरूको ग्रेट हिमालयन ट्रेलको यात्राले नेपालको पर्यटनको प्रचार हुने बताएको छ । आन्द्रेज र मारिजा दुवै उमेरले ६६ वर्ष पुगिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?